Wednesday, August 8, 2012

टेलिकमले एनसेलमा ‘कल फरवार्ड’ रोक्यो

२३ साउन, काठमाण्डौ । एनसेलले प्रतिस्पर्धी दूरसञ्चार कम्पनीका ग्राहक तान्ने अभियान थालेपछि नेपाल टेलिकमले एनसेलका लागि कल फरवार्ड सुविधा काटेको छ ।
टेलिकम स्रोतका अनुसार एनसेलले टेलिकमका पोष्टपेड तथा प्रिपेड मोबाइल प्रयोगकर्ताको नम्बरसँग मिल्ने नम्बर दिने एनसेलको ‘माइ न्यू नम्बर’ योजनाका लागि एनसेलले कलफरवार्ड सुविधाको दुरुपयोग गरेपछि टेलिकमले आफ्नो नेटवर्कका मोबाइलबाट एनसेलमा कल फरवार्ड सुविधा बन्द गरेको हो । ‘केहि समयका लागि रोकिएको हो, दूरसञ्चार प्राधिकरणसँगको छलफलपछि खुल्न सक्छ’ टेलिकम स्रोतले भन्यो ।
एनसेलले प्रतिस्पर्धी कम्पनीका ग्राहकलाई आफ्नो नेटवर्कमा आकषिर्त गर्न ‘एनसेल प्रो’ योजनामा विभिन्न सुविधा दिँदै आएको छ । टेलिकमबाट एनसेलको नेटवर्कमा सर्न चाहनेले चलाइरहेको टेलिकमको नम्बर एनसेलममा जानकारी गराएपछि एनसेलको त्यही नम्बर दिने गरेको छ । टेलिकमको मोबाइलबाट एनसेलमा कल फरवार्ड गरेपछि एनसेलले उक्त नम्बरमा फोन गर्नेजति सबैलाई सम्बन्धित व्यक्तिको नम्बर परिवर्तन भएको भनेर एनसेलको नम्बर दिने र टेलिकमको मोबाइलमा भने फलानो नम्बरबाट कल गर्ने प्रयास भएको थियो भन्ने सन्देश दिने गरेको थियो । टेलिकमका ग्राहकलाई एनसेलले तान्न खोजेपछि टेलिकमले एनसेलमा कल फरवार्ड रोकेपछि यो योजना अहिले रोकिएको एनसेलले जनाएको छ । एनसेलकी कर्पोरेट कम्युनिकेसन म्यानेजर सञ्जु कोइरालाले भनिन्, ‘नेपाल टेलिकमले यस योजनामा आपत्ति जनाएपछि हामीले यसको प्रमोसन नै रोकिरहेका छौं ।’ यस विषयलाई लिएर नेपाल टेलिकम नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा जाने भएको छ । नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्र प्रसाद थिकेले त्यसखालको गतिविधि भएपछि टेलिकम प्राधिकरण जान लागेको जानकारी दिए । एनसेलले गलत प्रतिस्पर्धात्मक गतिविधि गरे टेलिकमले पनि त्यसै अनुसारको रणनीति बनाउने बताए ।

No comments:

Post a Comment