Tuesday, August 28, 2012

टेलिकमद्वारा चिनियाँ कम्पनी जेडटिईको ४२ करोड जफत

रामचन्द्र भट्ट, काठमाडौं, भदौ १३ - नेपाल टेलिकमले चिनियाँ कम्पनी जेडटिईले बिडबन्ड (धरौटी) बापत राखेको झन्डै ४२ करोड रुपैयाँ जफत गरेको छ। टेलिकमले विस्तार गर्न लागेको एक करोड मोबाइलका लागि जेडटिईले ५२ लाखको ठेक्का पाएको थियो। तर, ठेक्काअनुसार सम्झौता गर्न पटकपटक ताकेता गर्दा पनि चासो नदिएपछि टेलिकमले उसको धरौटी जफत गरेको हो। टेलिकमको व्यवस्थापनले जेडटिईले स्ट्यान्डर्ड चार्टर्ड बैंकमा राखेको ४६ लाख अमेरिकी डलर धरौटी गत शुक्रबार जफत गरेको हो। 'धरौटी जफतको निर्णयलाई सञ्चालक समितिले समेत अनुमोदन गरिसकेको छ,' स्रोतले भन्यो। सोमबार बसेको सञ्चालक समितिले धरौटी जफतको विकल्प नभएको उल्लेख गर्दै टेन्डरमा तेस्रो भएको कम्पनी इरिक्सनलाई पत्र लेख्ने निर्णय गरेको छ। 'एक करोड लाइन मोबाइल उपकरणमा इरिक्सन तेस्रो भएको थियो,' स्रोतले भन्यो, 'हुवावेले स्वीकारेको मूल्यमा सामान दिन तयार भए नियमअनुसार इरिक्सनसँगै किन्छौं।' नेपाल टेलिकमको इतिहासमै यति ठूलो रकम उपकरण निर्मातासँग जफत गरिएको यो पहिलो हो। जफत गरिएको ४६ लाख डलर टेलिकमको खातामा आइसकेको समेत टेलिकमका अधिकारीले बताए। गत वर्ष खोलिएको एक करोड जिएसएम मोबाइलको टेन्डरमा टेलिकमले अनुमान गरेको रकमको साढे दुई प्रतिशत धरौटी राखेर मात्र फर्म बुझाउन पाउने सर्त थियो। त्यही साढे दुई प्रतिशत रकमले हुन आउने ४६ लाख डलर रकम जेडटिईले धरौटी राखेर टेन्डरमा सहभागी भएको थियो। अर्काे चिनियाँ कम्पनी हुवावेले ४८ लाख मोबाइल उपकरणको ठेक्का पाएर काम सुरु गरिसकेको छ। 

साउन तेस्रो साता टेलिकमले जेडटिईलाई तत्काल वार्तामा आएर उसको भागमा परेको ५२ लाख लाइन मोबाइलको सम्झौता गर्न पत्र पठाएको थियो। त्यसपछि केही दिन दुई पक्षबीच वार्ता भए पनि प्रक्रिया अघि नबढेपछि टेलिकमले जुडटिईको प्रस्ताव रद्द गरेर तेस्रो कम्पनी इरिक्सनसँग किन्ने निर्णय गरेको छ। 'हुवावेले प्रस्ताव गरेको मूल्यमा इरिक्सनले दिन मानेन भने एक करोड लाइन दिन स्विकार गर्नुपर्ने टेण्डरको शर्त छ,' स्रोतले भन्यो। हुवावेले एक करोड लाइन मोबाइल १२ करोड २२ लाख डलरमा दिन प्रस्ताव गरेको थियो। इरिक्सनले भने २२ करोड ५० लाख डलर प्रस्ताव गरेको छ।  इरिक्सनसमेत हुवावेकै मूल्यमा दिन तयार नभए हुवावेकै भागमा सबै एक करोड लाइन पर्ने सम्भावना छ। इरिक्सन युरोपिएन कम्पनी भएकाले चिनियाँले जसरी सस्तोमा दिने सम्भावना छैन।  हुवावेको भागमा परेको ४८ लाख लाइनका लागि गत असार ११ गते सम्झौता भएको हो। टेलिकमले ४८ लाख लाइन मोबाइल उपकरणका लागि हुवावेलाई ६ अर्ब ७४ करोड रुपैयाँ तिर्ने गरी सम्झौता गरेको छ।  एक वर्षअघि भएको टेन्डरको सर्तअनुसार सबैभन्दा सस्तो मोलमा दिन प्रस्ताव गर्ने कम्पनीकै भाउमा दोस्रो हुने कम्पनीले दिनुपर्ने थियो। त्यसअनुसार हुवावेले सबैभन्दा सस्तो प्रस्ताव गरेकाले जेडटिईले समेत त्यही मूल्यमा दिनुपर्ने थियो।  तर जेडटिईले प्रावधानहरु स्पष्ट नभएको भन्दै टेलिकमसँग पटकपटक वार्ता गर्दै आएको थियो।  टेलिकममा परेको टेन्डरलाई गम्भीर रुपमा नलिएर जेडटिई अरु टेलिकमका प्रतिस्पर्धी कम्पनीसँग झिनामसिना सम्झौता गर्दै हिँडेपछि टेलिकमका अधिकारीहरु रिसाएका थिए। यही विषयमा समेत टेलिकमले आपत्ति जनाएको थियो।  डेढ महिनाअघिमात्र जेडटिईले नेपाल सेटेलाइट टेलिकम (हेलो नेपाल) सँग उपकरण आपूर्तिको सम्झौता गरेको थियो। जेडटिईले नेपाल टेलिकम, एनसेल जस्ता ठूला कम्पनीलाई मोबाइलका उपकरण बिक्री गर्दै आएको छ।  टेलिकमले जेडटिईको ठूलो रकम जफत गरेपछि कम्पनीको प्रतिष्ठामा समेत ठूलो असर पर्ने भएको छ। यो विषयमा जेडटिईका स्थानीय अधिकारीले भने प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।  'हामीलाई यसबारे औपचारिक जानकारी आएको छैन,' जेडटिई नेपालका प्रमुख कार्यकारी अधिकृत सु ले (हेनरी) ले भने। जेडटिईले हुवावेको भागमा काठमाडौं लगायत सजिलो ठाउँको टेन्डर परेको र आफ्नो भागमा परेको ५२ लाख अप्ठेरो एवं दुर्गम परेको धारणा व्यक्त गर्दै आएको थियो।  टेलिकम स्रोतका अनुसार जेडटिईले नियतवशः ढिला गरेर टेलिकमलाई अघि बढ्न रोक्ने नियत देखिएकाले धरौटी जफत गरिएको हो। प्रतिस्पर्धी कम्पनीसँग सम्झौता गरेर धमाधम उपकरण दिन थाल्ने तर टेलिकमलाई भने झुलाएर कामै अघि बढ्न नदिने नियत देखिएपछि अप्रिय निर्णय गर्न बाध्य भएको टेलिकम स्रोतले बतायो


No comments:

Post a Comment