Sunday, February 10, 2013

टेलिकमको नाफा १२२ करोडले घट्यो

गत आवका ६ महिनाभन्दा १८ प्रतिशत कम

Nameभुवन पौडेल काठमाडौं, २७ माघ - अधिकांश आर्थिक वर्षमा   नाफा कमाउने कम्पनीमध्ये एक नम्बरमा पर्दै आएको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम)को नाफा यो आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब २२ करोडले घटेको छ । टेलिकमले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार उसले चालू आवको पुससम्ममा ५ अर्ब ५५ करोड ५७ लाख ५७ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो गत आव (०६८/६९)को पहिलो ६ महिना तुलनामा १ अर्ब २२ करोड (१८ प्रतिशत)ले कम हो । कम्पनीले गत वर्ष पुससम्म ६ अर्ब ७७ करोड ६१ लख ७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । टेलिकमले चालू आवको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा भने ३ अर्ब ६३ करोड ९ लाख रुपैयाँमात्र खुद नाफा गरेको थियो । नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई जीएसएम मोबाइलको अनुमतिपत्र नवीकरण शुल्कस्वरूप पहिलो किस्तामा २ अर्बभन्दा धेरै र थ्रीजी फ्रिक्वेन्सीबापत ४८ करोड ८७ लाख तिरेपछि त्यसको असर खुद नाफामा परेको टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले बताइन् । “नाफा घटेको भने होइन,” उनले भनिन्, “आम्दानीको ठूलो हिस्सा अनुमति नवीकरण तथा रोयल्टीबापत बुझाउनु पर्दा नाफा कम देखिएको मात्र हो ।” गत आवको नाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय भइसके पनि कार्यान्वयन गर्न ढिला भएको प्रधानले बताइन् ।
टेलिकमको चालू आवको दोस्रो त्रैमाससम्ममा सेवा प्रदानबाट हुने आम्दानी बढे पनि अन्य क्षेत्रबाट हुने अम्दानीमा कमी आएको छ । यो अवधिमा उसले सेवाबाट १६ अर्ब ८१ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ जबकि गत वर्षको सोही यो १४ अर्ब २८ करोड ३ लाखमात्र थियो । तर, अन्य आम्दानी शीर्षकमा भने ६ करोड ३० लाख रुपैयाँ कमी आएको छ । चालू आवको पुससम्ममा उसले अन्य क्षेत्रबाट १ अर्ब ६२ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ जबकि गत वर्ष सोही अवधिमा यो १ अर्ब ६८ करोड ६३ लाख रुपैयाँ थियो ।
चालू आवको दोस्रो त्रैमाससम्ममा टेलिकमको सञ्चालन तथा प्रशासनिक खर्च ९८ करोडबाट बढेर ३ अर्ब १० करोड ६८ लाख रुपैयाँ पुगेको छ । प्रशासनिक खर्च घटे पनि रोयल्टी शुल्क भने बढेको छ ।
ग्रामीण दूरसञ्चार विकास कोष भने बढेको छ । कोषमा ३ अर्ब ३६ करोड रुपैयाँ छ । गत आवको सोही अवधिमा कोषमा २ अर्ब ८५ करोड रुपैयाँमात्र थियो । टेलिकमले पुस मसान्तसम्ममा मात्र आयकरबापत २ अर्ब ६ करोड ५७ लाख रुपैयाँ छुट्ट्याएको छ । गत वर्षका ६ महिनामा उसले आयकरमा २ अर्ब २९ करोड ४२ लाख रुपैयाँ छुट्ट्याएको थियो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ९६.८३ रुपैयाँ रहेकोमा पुससम्ममा ७४.०८ रुपैयाँमा झरेको छ । गत आवको सोही अवधिमा यो आम्दानी ९०.३५ रुपैयाँ थियो । नाफा घट्दा लगानीकर्ताले पाउने प्रतिफलमा पनि असर गर्छ ।
“टेलिकमको नाफा घटे पनि अहिले नै वित्तीय अवस्था कमजोर भइसकेको भन्न मिल्दैन,” सेयर विश्लेषक रवीन्द्र भट्टराई भन्छन्, “बजार मूल्य अहिले पनि कम्पनीको वित्तीय अवस्थाभन्दा थोरै छ । तर, घाटाको अनुपात बढ्दै गए लगानीकर्ताको विश्वासका साथै कम्पनीको वित्तीय अवस्था कमजोर हुनेछ ।”
गत वर्ष ४.८६ रहेको मूल्य आम्दानी अनुपात भने अहिले ८.९८ प्रतिशत पुगेको छ । असोज मसान्तसम्म ४२९.९५ रुपैयाँ किताबी मूल्य रहेकोमा पुस मसान्तसम्ममा घटेर ३६६.८७ पुगेको छ । गत आवका ६ महिनामा किताबी मूल्य ४०४.४७ रुपैयाँ थियो ।
टेलिकमले ०६५/६६ मा सेयरधनीलाई ३५ प्रतिशत, ०६६/६७ मा ४० र ०६६/६८ मा ४५ प्रतिशत लाभांश दिएको थियो । तर, आर्थिक वर्ष सकिएको सात महिना बितिसक्दा पनि ०६८/६९ को नाफाबाट सेयरधनीलाई कति लाभांश दिने निर्णय भएको छैन ।

No comments:

Post a Comment