Wednesday, February 20, 2013

टेलिकमले थप १० वटा बीटीएस भ्यान सञ्चालन गर्ने

काठमाडौं, ९ फागुन - नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताको बढी जमघट हुने स्थानलाई लक्षित गरी थप १० वटा बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) भ्यान प्रयोगमा ल्याउने भएको छ । कम्पनीले फागुनदेखि तीनवटा बीटीएस भ्यानमार्फत सेवा दिँदै आएको थियो ।
सबै भ्यान राजधानी आइसकेको भन्दै टेलिकमले उपकरण जडान कार्य भइरहेको र फागुनभित्रै राजधानीलगायत मुख्य सहरमा सेवा दिइने जनाएको छ । टेलिकमले सेवाको गुणस्तर खस्कन नदिन थप भ्यान सञ्चालनमा ल्याउन लागेको हो । राजधानीमा गत वर्ष प्रयोगमा ल्याइएका बीटीएस भ्यान कम्पनीले मुख्य–मुख्य पर्व, मेला, उद्घाटन र सभा–समारोहमा राख्दै आएको थियो । ‘ओभर ट्राफिक’ हुँदा मर्मतसम्भार तथा सेवाको स्तरोन्नति गर्दा गुणस्तर खस्किन नदिन थप भ्यान सञ्चालनमा ल्याउन लागेको प्रवक्ता गुणकेशरी प्रधानले बताइन् । “राजधानीमा सञ्चालित तीन बीटीएस भ्यानबाट ग्राहकको सुझाव र प्रतिक्रिया राम्रो आएकाले थप्न लागिएको हो,” उनले भनिन् । टेलिकमले बीटीएस भ्यानका लागि थाइल्यान्डको एएलटी इन्टर कर्पाेरेसनसँग सम्झौता गरेको छ । कर्पोरेसनबाट खरिद गरिएका बीटीएस भ्यानमध्ये चारवटा उच्च क्षमता र ६ वटा कम क्षमताका छन् । टेलिकमले बीटीएस भ्यान सञ्चालन सम्बन्धमा उपत्यका र बाहिर गरी ३४ प्राविधिकलाई तालिम दिइसकेको छ । राजधानीबाहिर विराटनगर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा बीटीएस भ्यान सञ्चालन ल्याइनेछ । टेलिकमले शिवरात्रि, हरितालिका तीज, स्वस्थानी व्रतको अवसरमा साँखुस्थित सालीनदीमा, संविधानसभा भवन, दशरथ रंगशाला, भृकुटीमण्डपमा हुने मेला, टुँडिखेलका कार्यक्रमलगायतका स्थान गरी ४० ठाउँबाट बीटीएस भ्यानमार्फत सेवा दिएको छ । भीडभाड हुने क्षेत्रमा मोबाइल नलाग्ने समस्या भएका ठाउँमा बीटीएस भ्यानबाट सेवा दिन थालेपछि फोन नलाग्ने, लागिहाले पनि काटिने तथा एकोहोरो कुरामात्र सुनिनेलगायतका गुनासा आउन छाडेको टेलिकमले जनाएको छ ।
अवैध कलबाइपासमा संलग्न दुई पक्राउ
काठमाडौं, ९ फागुन : भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) मार्फत कल बाइपासमा संलग्न दुईजना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले मंगलबार मध्यपुर थिमी १६ का बच्चु बुढाथोकीको घरमा अवैध भीओआईपी प्रविधि सञ्चालन गर्न लागेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक महेन्द्रज्योतिका २३ वर्षीय लेलिन विष्ट र गुल्मी परालमी घर भई थापागाउँ बस्ने २५ वर्षीय कमल गौतम छन् । भीओआईपी प्रविधि सञ्चालन गर्न आवश्यक पर्ने विद्युतीय उपकरणसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उपत्यकाभित्र अवैध भीओआईपी प्रविधि सञ्चालन गरी अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरेको गोप्य सूचनाका आधारमा प्रहरीले निगरानी तथा चेकजाँच बढाएको थियो । उनीहरूबाट प्रहरीले जीएसएम एन्टेना १८ थान, फिक्स वायरलेस टर्मिनल २० थान, कभरबिनाको फिक्स वायरलेस टर्मिनल ६ थान र यू–सिम बरामद गरेको छ । अन्तराष्ट्रिय ‘गेट वे’ को लाइसेन्स नेपाल टेलिकम, एनसेल, यूटीएल र एसटीएम टेलिकमले पाएका छन् । यसबाहेक अन्य कसैले कलवाइपास गरेमा गैरकानुनी हुने नियामक निकाय दूरसञ्चार प्राधिरकणले जनाएको छ । दूरसञ्चार ऐन २०५३ अनुसार भीओआईपीमा संलग्न व्यक्तिलाई बिगो दाबीअनुसार जरिवाना र पाँच वर्ष कैद सजायको व्यवस्था छ

No comments:

Post a Comment