Friday, September 13, 2013

टेलिकमको मोबाइलमा सूचनाबिनै जबर्जस्ति ऋण

काठमाडौं, २७ भदौ- नेपाल टेलिकमले ग्लोबल सिस्टम फर मोबाइल (जीएमएम) प्रिपेड डेटा सेवामा पोस्टपेड महसुल लिन थालेपछि उपभोक्ता समस्यामा परेका छन् । १ महिनायता थ्रीजी इन्टरनेट सेवामा सुधार आएपछि सर्वसाधारणबाट केही सकारात्मक प्रतिक्रिया पाएको टेलिकमले बिनासूचना मोबाइल ब्यालेन्स काट्न थालेपछि तिनै उपभोक्ता आक्रोशित भएका छन् । शून्य ब्यालेन्स भए पनि पछि काट्ने गरी टेलिकमले डेटा सेवामा ‘बिलिङ’ गर्दै आएको छ, जसको छनक उपभोक्तालाई हुँदैन । न्यूनतम ऋण ५० रुपैयाँ पुग्दा मोबाइलमा एक्कासि सन्देश आएपछि मात्रै उपभोक्ताई यसबारे थाहा हुन्छ । यस्ता समस्या लिएर टेलिकम कार्यालयमा धाउनेको संख्या बढ्दो छ । प्रिपेड मोबाइलमा बिनासूचना पोस्टपेडझैं महसुल लिनु उपभोक्ता अधिकार र कानुनविपरीत हो । प्रिपेड सेवामा पोस्टपेड महसुल लिँदा नियामक निकाय दूरसञ्चार प्राधिकरणसँग अनुमति लिनुपर्ने नियम भए पनि टेलिकमले लिएको छैन । कतिपय प्रयोगकर्ताले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमार्फत कम्पनीप्रति आक्रोश पोखेका छन् । “मैले नचाहेर टेलिकमले मलाई ऋण दिन पाउँछ ? मैले नमागिकनै ऋण लैजा भनेर जबर्जस्ती भिराउन पाउँछ ?” फेसबुकमा शनिबार एक उपभोक्ताले लेखे । त्यसमा अर्का थपिए, “थाहा नदिई ब्यालेन्स माइनसमा राख्दिने र पछि पैसा माग्ने ठग नै हो । टेलिकमको टेक्निकल कमजोरी होस् कि जेसुकै होस्, हामीलाई के मतलब ? यो फल्टलाई सुविधा दिएको भनेर गरिएको विश्लेषण वाहियात हो ।”

धेरैजसो उपभोक्ताले शून्य ब्यालेन्स हुँदा टेलिकमले भ्वाइसमा जस्तै ब्यालेन्स सकिएको जानकारी दिनुपर्ने बताएका छन् । अर्का एकजनाले लेखेका छन्, “यसबारे पत्रिकामा छापिएको सूचना कति ग्राहकले देख्छन् ? अनेक सन्देश पठाउन सक्ने कम्पनीले ब्यालेन्स सकियो भनेर सन्देश पठाउन सक्दैन ?” टेलिकम मोबाइल सेवा निर्देशनालयका निर्देशक सुरेन्द्र थिकेले भने पुरानो जेडटीई कर्पाेरेसनको नेटवर्कलाई हुवावेको नेवटर्कमा ‘स्वाप’ गरिएकाले यस्तो समस्या आएको बताए । “उपभोक्तालाई पर्नसक्ने असरका लागि सार्वजनिक सूचना जारी गरिएको छ,” उनले भने, “प्रयोग गरिएको शुल्कभन्दा धेरै काटिएको छैन ।” उनका अनुसार भ्वाइसको रकम उत्तिखेरै काटिन्छ, तर डेटा प्रयोगमा पैसा नभए पनि चलिरहन्छ, रिचार्ज भएपछि काटिन्छ । स्मार्टफोन प्रयोगकर्ताले डेटा सेवा ‘इनेबल’ गरेको अवस्थामा अनावश्यक एप्लिकेसन चलिरहने भएकाले डेटा प्रयोग नगर्दा ‘डिसेबल’ गर्न थिकेले सुझाव दिए । काठमाडौं उपत्यकामा भएका ५ सय २ बीटीएसमध्ये २ सय ६५ लाई नयाँ नेटवर्कमा स्वाप गरिएको जानकारी उनले दिए । चालू आवमा टेलिकमले उपत्यकामा मात्रै ३० लाख ग्राहक थप्ने योजना बनाएको छ । पुरानो नेटवर्क नयाँमा स्वाप गरिसकेपछि हालको भन्दा अझ राम्रो सेवा दिने दाबी थिकेले गरे । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार टेलिकमका ९१ लाख ७६ हजार ग्राहक छन् । यीमध्ये ७४ लाख ६९ ले जीएसएम मोबाइल चलाउँछन् । डेटा सेवा प्रयोग गर्ने कुल ९६ लाख १६ हजार १ सय ३८ ग्राहकमध्ये टेलिकमका ३२ लाख ७७ हजार ग्राहक छन् । उसले एडीएसएल, जीपीआरएस, थ्रीजी, सीडीएमए, वाईम्याक्समार्फत डेटा सेवा दिँदै आएको छ ।

No comments:

Post a Comment