Sunday, September 8, 2013

दिल्लीबाट नेपाल फोन गर्ने शुल्क आधा कम

देवेन्द्र भट्टराई, kantipur नयाँ दिल्ली, भाद्र २३ - नेपाल टेलिकम र एयरटेलबीच भएको सहमति अनुसार दिल्लीबाट नेपाल फोन गर्न आइतबारबाट लागू हुने गरी महशुल शुल्कमा ५० प्रतिशत कम हुने भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहका अनुसार भारतबाट नेपाल फोन गर्न प्रति मिनेट औसत १० भारु शुल्क रही आएकोमा आइतबारबाट ५ रुपैंयाँ ४० पैसा (भारु) मात्रै लाग्ने भएको छ ।  देशभित्र मात्रै होइन, बाहिरी देशमा बसेका नेपालीलाई दुरसंचारको सहज पहुँच बिस्तार गर्ने क्रममा दिल्लीबाट यो सहुलियत शुल्कको कार्यान्वयन थालिने भएको हो । 'तत्काल दिल्लीमा मात्रै यो सहुलियत मान्य हुनेछ',सहुलियत शुल्कको प्रबन्धमा सहमति गर्न र यसबारे जानकारी गराउन दिल्ली आएका सिंहले कान्तिपुरसँग भने । यो सहुलियत शुल्कको सुरुवातसँगै निश्चित अवधीका लागि ५४ भारुको रिचार्ज (प्रिपेड) मा १० मिनेट नि:शुल्क कुराकानी गर्ने सुविधा पनि थप गरिएको छ । प्रवासी नेपाली सघं, भारतको पहलमा नेपाल टेलिकम तथा एयरटेलबीच संवाद बढाएर यो सहुलियत मुल्य निर्धारण भएको हो । टेलिकमका सहप्रवक्ता एवं उपप्रबन्धक राजेश जोशीले आपसी समझदारीमा यसरी टेलिफोनको शुल्क निर्धारण हुने बताए । अब छिट्टै खाडी मुलुकहरुबाट नेपालमा फोन गर्दा लाग्ने चर्को मुल्य (मिनेट १४ रुपैंयाँ औसत) घटाउन पनि संवाद बढाइने भएको जोशीले बताए । परिवर्तित शुल्कबारे जानकारी दिन आयोजित समारोहमा प्रवासी नेपाली संघका अध्यक्ष लोकनाथ भण्डारी, महासचिव युवराज बाँस्कोटाले जनहितका निम्ति थुप्रै चरणका वार्ता र सम्वादपछि नयाँ शुल्क निर्धारण भएको बताएका थिए । यो परिवर्तित शुल्क तत्काल दिल्लीमा रहेका ५ लाख नेपाली र अन्य उपभोक्ताका निम्ति लाभप्रद रहेको र आउने दिनमा यो शुल्क भारतभर मान्य गराउन थप चरणमा पहल हुने उनीहरुले बताए ।

No comments:

Post a Comment