Sunday, February 24, 2013

गुणस्तर खस्किँदा दुरसंचार कम्पनीलाई फाइदा

 – तीन/चार महिनापछि सुधार देखिनेछ : टेलिकम
– डिजेल नपाइँदा ब्याकअपमा झनै समस्या : एनसेल

Nameकाठमाडौं, ८ माघ -सरस्वती ढकाल फोनको गुणस्तर सुधार नगर्दा कम्पनीकै नाफा बढ्ने भएकाले नेपालका अधिकांश दूरसञ्चार सेवाप्रदायक कम्पनीले सुधारलाई न्यून प्राथमिकता दिने गरेका छन् । नेटवर्कमा देखिएको समस्याले एकपटकमा हुने कुराकानीका लागि तीन–चार पटकसम्म कल गर्दा उपभोक्ता ठगिए पनि टेलिकम कम्पनीहरूलाई भने दोब्बर फाइदा हुने गर्छ । “बारम्बार फोन काटिँदा कम्पनीको आम्दानी बढ्ने भएकाले सेवाप्रदायकले यसमा ध्यान दिँदैनन्,” निमामक निकाय दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल भन्छन्, “एउटा कुरा गर्न ग्राहकले कैयांैपटक कल गर्नुपर्छ । ग्राहक दुब्लाउने, कम्पनी मोटाउने खेल भयो ।” अहिलेको गुणस्तर सुधार संरचनाले नपुग्ने भएकाले नयाँ ढंगबाटै जानुपर्ने आवश्यकता उनले औंल्याए । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)को प्राविधिक सहयोगमा नयाँ मापदण्ड कायम गर्ने, नियमन गर्ने र गुणस्तर कामय गराउन दबाब दिने तयारी भइरहेको जानकारी उनले दिए । गुणस्तरीय सेवा नदिनेलाई ५ लाखसम्म जरिवाना गर्न सकिने व्यवस्था भएकाले प्राधिकरण कारबाही बढाउने तयारीमा छ । कारबाहीलाई चरणगत रूपमा अगाडि बढाइने खनालले बताए । लोडसेडिङ बढेसँगै बेस ट्रान्सिभर स्टेसन (बीटीएस)मा ब्याट्री ब्याकअपको वैकल्पिक व्यवस्था नहुँदा टेलिफोन नेटवर्कमा समस्या आएको महिनौं बित्दा पनि कम्पनीहरूले सुधारमा ध्यान दिएका छैनन् । यो अहिलेमात्रै नभएर हरेक वर्षको समस्या हो ।

टेलिकमको पल्स रेटमा मनपरी

काठमाडौं, ९ पुस - सरस्वती ढकाल दूरसञ्चार सेवाप्रदायक कम्पनीले मनपरी ‘पल्स रेट’ राख्दा उपभोक्ताले अनाहकमा बढी पैसा तिरिरहेका छन् । नेपालका सेवाप्रदायकले न्यूनतम २० सेकेन्डदेखि एक मिनेटसम्मको पल्स रेट राखेका छन् । अहिले २/३ सकेन्ड कुरा गरेर फोन काटिँदा पनि २० सेकेन्डदेखि एक मिनेटसम्मको शुल्क तिर्नुपर्छ । नेपाल टेलिकम, एनसेल, युनाइटेड टेलिकम (यूटीएल), स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट र एसटीएम टेलिकमले छुट्टाछुट्टै सेवामा फरक–फरक पल्स रेट राखेका छन् । ६० सेकेन्डबराबर एक पल्स निर्धारण गरेका कम्पनीले २ सेकेन्डमै फोन विच्छेद भए पनि ६० सेकेन्डकै बिलिङ गर्छन् । उपभोक्ता संरक्षण ऐन २०५४ का दफा ७ र १८ तथा कालोबजार तथा सामाजिक अपराध २०३२ का दफा ३, ४ र ५ ले आफूखुसी पल्स अवधि निर्धारण र बिलिङलाई गैरकानुनी मानेका छन् । “प्रतिस्पर्धा ऐन २०६३ र अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ बमोजिम पनि यस्तो बिलिङ गैरकानुनी हो,” उपभोक्ता हित संरक्षण मञ्चका सचिव रामचन्द्र सिम्खडाले भने । अहिले यूटीएले अधिकांश अन्तरदेशीय सेवामा ६० सकेन्ड बराबर एक पल्स कायम गरेको छ । उसले ०० कोड डायल गर्नुपर्नेबाहेक सबै अन्तर्राष्ट्रिय कलमा पनि ६० सकेन्डकै पल्स राखेको छ । यूटीएलले आफ्नो नेटवर्कमा कल गर्दा ९९ सय पैसा (करबाहेक) र अन्य नेटवर्कमा १ रुपैयाँ ५० पैसा (करबाहेक) निर्धारण गरेको छ । यस्तो अवस्थामा २ सकेन्डमा फोन काटिए पनि ग्राहकले ५८ सकेन्डको थप पैसा तिर्छन् ।

घटेन कल बाइपास

काठमाडौं, १२ फागुन - सरस्वती ढकाल विदेशबाट नेपालमा भित्रिने कलको अन्तरआबद्धता शुल्क महँगो भएकाले अवैध कल बाइपास घट्न नसकेको सम्बन्धित क्षेत्रको नियामक र अनुसन्धानरत संस्थाहरूले बताएका छन् । उनीहरूले उच्च अन्तरआबद्धता शुल्ककै कारण कल बाइपास बढिरहेको दाबी गरेका छन् । विदेशी कल नेपाल भित्र्याउँदा प्रतिकल ५ रुपैयाँसम्म कमाउन सकिने भएपछि भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) मा संलग्न गिरोह ठाउँ परिवर्तन गर्दै अवैध काममा संलग्न हुने गरेका हुन् । उच्च अन्तरआबद्धता शुल्ककै कारण कल बाइपास घट्न नसकेको निरन्तर अनुसन्धानमा क्रियाशील नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । सीआईबीका एसपी ईश्वर कार्कीले छोटो समयमा धेरै आर्थिक लाभ लिन आपराधिक गिरोह कल बाइपासमा सक्रिय भएको बताए । उनले स्थानीयस्तरमा चोरीको काम गर्नेले विदेशमा पनि गैरकानुनी काम गर्ने गिरोहसँग नै मिलेर कारोबार गर्ने गरेको बताए । आधिकारिक कम्पनीले अवैध काम गर्न नमान्ने भएकाले यहाँको आपराधिक समूहले विदेशका अवैध काममा संलग्न व्यक्ति वा संस्थासँगको सहकार्यमा कल बाइपास हुुने गरेको उनको अनुभव छ । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले अन्तरआबद्धता शुल्कबापत ४ देखि ५ रुपैयाँ ५० पैसासम्म प्रतिमिनेट प्राप्त गर्छन् । नेपालबाट विदेश कल पठाउँदा वा विदेशको कल भित्र्याउँदा पठाउने कम्पनीले भित्र्याउने कम्पनीलाई निश्चत शुल्क बुझाउनुपर्छ । नेपालमा अन्तर्राष्ट्रिय ‘गेट वे’को अनुमति (लाइसेन्स) नेपाल टेलिकम, एनसेल, यूटीएल र एसटीएमले पाएका छन् । यीबाहेकका माध्यमबाट भित्रिने कल अवैध मानिन्छन् । 

Wednesday, February 20, 2013

टेलिकमले थप १० वटा बीटीएस भ्यान सञ्चालन गर्ने

काठमाडौं, ९ फागुन - नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताको बढी जमघट हुने स्थानलाई लक्षित गरी थप १० वटा बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) भ्यान प्रयोगमा ल्याउने भएको छ । कम्पनीले फागुनदेखि तीनवटा बीटीएस भ्यानमार्फत सेवा दिँदै आएको थियो ।
सबै भ्यान राजधानी आइसकेको भन्दै टेलिकमले उपकरण जडान कार्य भइरहेको र फागुनभित्रै राजधानीलगायत मुख्य सहरमा सेवा दिइने जनाएको छ । टेलिकमले सेवाको गुणस्तर खस्कन नदिन थप भ्यान सञ्चालनमा ल्याउन लागेको हो । राजधानीमा गत वर्ष प्रयोगमा ल्याइएका बीटीएस भ्यान कम्पनीले मुख्य–मुख्य पर्व, मेला, उद्घाटन र सभा–समारोहमा राख्दै आएको थियो । ‘ओभर ट्राफिक’ हुँदा मर्मतसम्भार तथा सेवाको स्तरोन्नति गर्दा गुणस्तर खस्किन नदिन थप भ्यान सञ्चालनमा ल्याउन लागेको प्रवक्ता गुणकेशरी प्रधानले बताइन् । “राजधानीमा सञ्चालित तीन बीटीएस भ्यानबाट ग्राहकको सुझाव र प्रतिक्रिया राम्रो आएकाले थप्न लागिएको हो,” उनले भनिन् । टेलिकमले बीटीएस भ्यानका लागि थाइल्यान्डको एएलटी इन्टर कर्पाेरेसनसँग सम्झौता गरेको छ । कर्पोरेसनबाट खरिद गरिएका बीटीएस भ्यानमध्ये चारवटा उच्च क्षमता र ६ वटा कम क्षमताका छन् । टेलिकमले बीटीएस भ्यान सञ्चालन सम्बन्धमा उपत्यका र बाहिर गरी ३४ प्राविधिकलाई तालिम दिइसकेको छ । राजधानीबाहिर विराटनगर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा बीटीएस भ्यान सञ्चालन ल्याइनेछ । टेलिकमले शिवरात्रि, हरितालिका तीज, स्वस्थानी व्रतको अवसरमा साँखुस्थित सालीनदीमा, संविधानसभा भवन, दशरथ रंगशाला, भृकुटीमण्डपमा हुने मेला, टुँडिखेलका कार्यक्रमलगायतका स्थान गरी ४० ठाउँबाट बीटीएस भ्यानमार्फत सेवा दिएको छ । भीडभाड हुने क्षेत्रमा मोबाइल नलाग्ने समस्या भएका ठाउँमा बीटीएस भ्यानबाट सेवा दिन थालेपछि फोन नलाग्ने, लागिहाले पनि काटिने तथा एकोहोरो कुरामात्र सुनिनेलगायतका गुनासा आउन छाडेको टेलिकमले जनाएको छ ।
अवैध कलबाइपासमा संलग्न दुई पक्राउ
काठमाडौं, ९ फागुन : भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) मार्फत कल बाइपासमा संलग्न दुईजना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले मंगलबार मध्यपुर थिमी १६ का बच्चु बुढाथोकीको घरमा अवैध भीओआईपी प्रविधि सञ्चालन गर्न लागेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक महेन्द्रज्योतिका २३ वर्षीय लेलिन विष्ट र गुल्मी परालमी घर भई थापागाउँ बस्ने २५ वर्षीय कमल गौतम छन् । भीओआईपी प्रविधि सञ्चालन गर्न आवश्यक पर्ने विद्युतीय उपकरणसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उपत्यकाभित्र अवैध भीओआईपी प्रविधि सञ्चालन गरी अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरेको गोप्य सूचनाका आधारमा प्रहरीले निगरानी तथा चेकजाँच बढाएको थियो । उनीहरूबाट प्रहरीले जीएसएम एन्टेना १८ थान, फिक्स वायरलेस टर्मिनल २० थान, कभरबिनाको फिक्स वायरलेस टर्मिनल ६ थान र यू–सिम बरामद गरेको छ । अन्तराष्ट्रिय ‘गेट वे’ को लाइसेन्स नेपाल टेलिकम, एनसेल, यूटीएल र एसटीएम टेलिकमले पाएका छन् । यसबाहेक अन्य कसैले कलवाइपास गरेमा गैरकानुनी हुने नियामक निकाय दूरसञ्चार प्राधिरकणले जनाएको छ । दूरसञ्चार ऐन २०५३ अनुसार भीओआईपीमा संलग्न व्यक्तिलाई बिगो दाबीअनुसार जरिवाना र पाँच वर्ष कैद सजायको व्यवस्था छ

Sunday, February 17, 2013

टेलिकम र हुवावेको सम्झौता

काठमाडौ, फाल्गुन ६ - कान्तिपुर संवाददाता  नेपाल टेलिकमले चिनियाँ कम्पनी हुवावेसँग ५२ लाख जीएसएम मोबाइल विस्तारका लागि सम्झौता गरेको छ । जुन विस्तारअन्तर्गत मध्यमाञ्चलको काठमाडौं उपत्यकाबाहिर, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चलमा दुई वर्षभित्र नयाँ जीएसएमको सेवा थपिनेछन् ।
टेलिकमले १ करोड जीएसएम मोबाइल विस्तारको टेन्डर हुवावेले पाएपछि पहिलो चरणको विस्तार हुन लागेको छ । जसमा हुवावेले उपकरण जडान, सेवा सुरु गर्ने र ५ वर्षसम्म मर्मत सेवा दिनेछ । टेलिकमले सार्वजनिक खरिद ऐनका प्रावधान कार्यान्वयन गर्दा सम्झौता समयमै हुन नसकेको उल्लेख गरेको छ । यो दुवै चरणमा हुने यो विस्तार टेलिकमले सञ्चालन गरेको हालसम्मकै ठूलो हो । कम्पनीले दुई महिना हुवावेसँग छलफल गरेपछि सम्झौतामा बिहीबार हस्ताक्षर गरेको हो । टेलिकमले पहिलो चरण विस्तारको लागत १० अर्ब बढी हुने उल्लेख गरेको छ । कम्पनीले पछिल्लो सम्झौता र त्यसबाट हुने विस्तारका कारण प्रतिस्पर्धात्मक क्षमता बढ्ने उल्लेख गरेको छ । जीएसएम सेवामा टेलिकम दोस्रो स्थानमा छ । कम्पनीले विकट स्थानमा पनि सेवा विस्तार गरेर सामाजिक दायित्व निर्वाह गर्न आयोजना महत्त्वपूर्ण हुने उल्लेख गरेको छ । कम्पनीले १ करोड जीएसएम मोबाइल खरिदका लागि खुला गरेको टेन्डरमा चिनियाँ कम्पनी जेटीई, स्विडिस कम्पनी इरिक्सन र हुवावेले प्रतिस्पर्धा गरेका थिए । जसमा सबैभन्दा कम रकममा हुवावेले काम गर्ने प्रस्ताव गरेको थियो ।

Sunday, February 10, 2013

टेलिकमको नाफा १२२ करोडले घट्यो

गत आवका ६ महिनाभन्दा १८ प्रतिशत कम

Nameभुवन पौडेल काठमाडौं, २७ माघ - अधिकांश आर्थिक वर्षमा   नाफा कमाउने कम्पनीमध्ये एक नम्बरमा पर्दै आएको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम)को नाफा यो आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब २२ करोडले घटेको छ । टेलिकमले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार उसले चालू आवको पुससम्ममा ५ अर्ब ५५ करोड ५७ लाख ५७ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो गत आव (०६८/६९)को पहिलो ६ महिना तुलनामा १ अर्ब २२ करोड (१८ प्रतिशत)ले कम हो । कम्पनीले गत वर्ष पुससम्म ६ अर्ब ७७ करोड ६१ लख ७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । टेलिकमले चालू आवको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा भने ३ अर्ब ६३ करोड ९ लाख रुपैयाँमात्र खुद नाफा गरेको थियो । नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई जीएसएम मोबाइलको अनुमतिपत्र नवीकरण शुल्कस्वरूप पहिलो किस्तामा २ अर्बभन्दा धेरै र थ्रीजी फ्रिक्वेन्सीबापत ४८ करोड ८७ लाख तिरेपछि त्यसको असर खुद नाफामा परेको टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले बताइन् । “नाफा घटेको भने होइन,” उनले भनिन्, “आम्दानीको ठूलो हिस्सा अनुमति नवीकरण तथा रोयल्टीबापत बुझाउनु पर्दा नाफा कम देखिएको मात्र हो ।” गत आवको नाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय भइसके पनि कार्यान्वयन गर्न ढिला भएको प्रधानले बताइन् ।

Thursday, February 7, 2013

नयाँ-नयाँ प्रविधि ताक्दै टेलिफोन सेवा प्रदायक

विष्णु पोखरेल- करिब ६५ वर्षअघि जुद्ध आकाशवाणी स्थापना भएपछि सुरु भएको नेपालको दूरसञ्चार सेवाले अहिलेसम्म आउदा निकै फड्को मारिसकेको छ। दूरसञ्चारको इतिहास केलाउँदा विसं १९७० सालतिरै सुरु भएको बताइए पनि २००५ सालमा जुद्ध आकाशवाणी स्थापनालाई आधार मानिन्छ।  त्यसबेलाको सबैभन्दा द्रुत सेवा भनेकै आकशवाणी थियो। नेपालबाट आकाशवाणीको औपचारिकरुपमा अस्तित्व समाप्त भएको पनि आधा दशक भइसक्यो। यसबीचमा विश्वभर सूचना प्रविधिको विकासमा धेरै प्रगति भइसकेको छ। आकाशवाणीबाट सुरु भएको नेपालको दूरसञ्चार सेवा ल्यान्डलाइन(पिएसटिएन) फोन सेवा, मोबाइल, इन्टरनेट हुँदै अहिले आवाज, डाटा र भिडियोजस्ता कुरा एकैपटक पठाउन मिल्ने अत्याधुनिक सेवा उन्मुख हँुदै गइरहेको छ।  यो सेवामा पहिले सरकारी क्षेत्रको नेपाल दूरसञ्चार संस्थान मात्र रहेकोमा अहिले टेलिफोन सेवा दिने संस्थाको संख्या नै आधा दर्जन पुगिसकेको छ। तत्कालीन दूरसञ्चार संस्थानसमेत पब्लिक कम्पनीमा परिणत भइसकेको छ। टेलिकम क्षेत्रको विकासक्रममा अब यस्ता सेवा प्रदायक विस्तारै आवाजको खेतीबाट डाटाको खेतीतर्फ लाग्न थालेका छन्।
नयाँ-नयाँ सुविधा नभिœयाए अस्तित्वसमेत संकटमा पर्ने भएपछि नेपाली टेलिकम कम्पनीहरु पनि विश्वमा भइरहेको सूचना प्रविधिको विकासलाई पछ्याउँदै पछ्याउँदै छन्। प्रविधिमा लगानी गर्दैछन् अनि उपभोक्तालाई नयाँ-नयाँ प्रविधिमा अभ्यस्त बनाउँदै छन्।  प्रविधि पछ्याउने क्रममा नेपाली टेलिकम कम्पनीहरु अब डाटा सेवामा केन्द्रित हुन थालेका छन्। 'अब भ्वाइस र डाटासँगै लाने सेवा नै हाम्रो प्राथमिकतामा पर्छन्,' नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराई भन्छन्, 'यसरी जानुपर्ने बाध्यता भइसकेको छ।' यसका साथै टेलिकमले विभिन्नखाले भ्यालु एडेड सर्भिसलाई थप गर्ने योजना पनि बनाएको छ।  पछिल्लो पुस्ताको मानिने वाइम्याक्स इन्टरनेट सेवा भर्खरै सुरु गरेको टेलिकमले ९ करोड लाइन विस्तारसहित बनाएको योजनामा भने फोरजी सेवा सञ्चालनलाई पनि समेटेको छ। पछिल्लो पुस्ताका थि्रजी, वाइम्याक्स र इभिडियोलागयत सेवा सुरु गरिरहेको कम्पनीले सुपथ मूल्यमा नयाँ सेवाहरु सञ्चालनको कसरत गरेको हो। टेलिकमले इन्टरनेटकै माध्यमबाट टेलिभिजन प्रसारण गर्ने कसरत पनि गरिसरहेको छ। 'ग्राहकको चाहनालाई मध्यनजर गरेर सबैखाले सेवा विस्तारमा टेलिकम लाग्नेछ,' उनले भने।

Wednesday, February 6, 2013

टेलिकमले सर्वसाधारणलाई पनि वाइम्याक्स दिने

Nameकाठमाडौं, २२ माघ - नेपाल टेलिकमले उच्च गतिको इन्टरनेट वाइम्याक्स सर्वसाधारणका लागि छिट्टै ल्याउने भएको छ । हालसम्म कर्पोरेट अफिसका लागि मात्रै वाइम्याक्स सेवा दिँदै आएको कम्पनीले एक/दुई साताभित्रै सर्वसाधारणलाई पनि यो सेवा दिने भएको हो । कम्पनीको नवौं वार्षिक उत्सवका अवसरमा कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंहले छिट्टै सर्वसाधारणलाई वाइम्याक्स सेवा वितरण गर्ने तयारीमा टेलिकम रहेको बताए । वाइम्याक्स ब्रोडब्यान्ड सेवा सर्वसाधारणका लागि वितरण गर्न सीपीई ब्रन्डलिङ गरी मुलुकभरि सहजरूपमा बिक्री वितरण गर्ने प्रबन्ध निर्देशक सिंहले बताएका छन् ।
वायरलेस प्रविधिमा आधारित वाइम्याक्स सेवा हाल काठमाडौं उपत्यका, बनेपा, धुलिखेल, चौतारा, दोलखा, चितवन, पोखरा, भैरहवा, र पाल्पामा व्यावसायिक रूपमा सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले सोमबारदेखि विराटनगर क्षेत्रीय निर्देशनालयअन्तर्गत विराटनगर, इटरहरी, धरान, बिर्तामोड, धुलाबारी, भद्रपुर र काँकडभित्ता र वीरगन्ज क्षेत्रीय निर्देशनालयअन्तर्गत हेटौंडामा पनि सेवा सुरु गरेको छ । प्रथम चरणमा सरकारको लक्ष्यअनुरूप ३८ जिल्लाका १ हजार ८ सय गाविसमा पु¥याउने लक्ष्यअनुरूप चालू आवको अत्यसम्म ५० हजार लाइन वितरण गर्ने र विस्तारै ७५ जिल्ला र सबै गाविसमा सेवा पु¥याउने प्रबन्ध निर्देशक सिंहले बताए ।
कम्पनीका ग्राहक ८४ लाखभन्दा धेरै भएको जानकारी कम्पनीले गराएको छ । कम्पनीले आर्थिक वर्ष ०६८/६९ कुल आम्दानी ३६ अर्ब ७९ करोडमध्ये ११ अर्ब ६० कारोड नाफा गरेको छ । कम्पनीले गत वर्ष १८ अर्ब ६ करोड रुपैयाँ राजस्व तिरेको हो । चालू आर्थिक वर्षमा पनि १९ अर्ब राजस्व तिर्ने लक्ष्य कम्पनीको छ ।

वार्षिकोत्सवमा छुटैछुट
कम्पनीले नवौं वार्षिक उत्सवको अवसरमा साधारण टेलिफोनमा ग्राहकलाई फागुन १ गतेदेखि ०७० वैशाख ३१ सम्म न्यूनतम मासिक महसुल २ सयमा २ सय २५ लोकल कल गर्न पाउने व्यवस्था गरेको छ । जीएसएम तथा सीडीएमए सेवाबाट कम्पनीकै नेटवर्कमा एसएमएस गर्दा फागुन ३० सम्मका लागि ५० प्रतिशत छुट दिएको छ । जीएसएम तथा सीडीएमए सेवामा रात्री कलमा प्रति मिनेट ३० पैसा मात्रै कामय गरेको छ ।
वार्षिक उत्सवकै अवसरमा कम्पनीले अस्ट्रलिया र बेलायतमा एक्सेस कोड १४२४ मार्फत हने अन्तर्राष्ट्रिय कल सेवामा १२ रुपैयाँ रहेकामा सोमबारदेखि फागुन ३० सम्म ७ रपैयाँ ७५ पैसा कायम गरेको छ । त्यस्तै बेलायतका लागि ४ रुपैयाँ प्रतिमिनेट कायम गरिएको छ । वाइम्याक्स प्रविधिबाट व्यावसायिक संघ÷संस्थालाई प्रदान गरिँदै डाटा प्याकेज ३२÷४८÷६० जीबीमा फागुन ३० सम्मका लागि १० जीबी बोनस उपलब्ध गराएको छ ।

कन्टिनेन्टलले बेच्यो ३ अर्बका रिचार्ज कार्ड
आर्थिक वर्ष ०६८/६९ मा सबैभन्दा धेरै रिचार्ज कार्ड राजधानीको कन्टिनेन्टल मार्केटिङ प्रालिले बेचेको छ । प्रालिले २ अर्ब ९९ करोड ५४ लाख रुपैयाँबराबरका रिचार्ज कार्ड एक आर्थिक वर्ष बेचेको हो । टेलिकमले विराटनगर, वीरगन्ज, काठमाडौ, पोखरा, भैरहवा, नेपागन्ज र धनगढी क्षेत्रबाट सबैभन्दा धेरै रिचार्ज कार्ड बन्नेलाई सोमबार सम्मान गरेको हो । विराटनगर क्षेत्रबाट जयवबाबा सप्लायर्सले १ अर्ब २५ करोड ६४ लाख रुपैयाँ, वीरगन्ज क्षेत्रबाट चितवन टेलिफोन मर्मत केन्द्रले ६१  करोड ३४ लाख रुपैयाँको रिचार्ज कार्ड बेचेको हो ।
पोखरा क्षेत्रबाट सबैभन्दा धेरै बेच्ने एक्टिभ इन्रटप्राइजेज २७ करोड, ५१ लाख र भैरहवा क्षेत्रबाट भैरव फोटो एन्ड मल्टि सप्लायर्स बुटवलले ९२ करोड ७२ लाख र नेपालगन्ज क्षेत्रबाट एमपी इन्टरप्राइज ८१  करोड ७३ लाख र धनगढी क्षेत्रबाट रोदन टे«डर्सले सबैभन्दा धेरै ३७ करोड रुपैयाँ बेचेको हो ।

Monday, February 4, 2013

सरकारी भएकैले प्रतिस्पर्धामा टेलिकम पछाडी


टेलिकमको मोबाइलमा राती कल गर्दा तीस पैसा

काठमाडौं, माघ २३ (नागरिक) - नेपाल टेलिकमले राती मोबाइलमा कल गर्दा लाग्ने महसुल तीस पैसामा झारेको छ। टेलिकमको नवौ वार्षिकोत्सवको अवसरमा यो योजना ल्याएको हो। जिएसएम मोबाइल र सिडिएमए मोबाइलमा(राती १० देखि विहान ६ बजेसम्म) कल गर्दा यो शुल्क तिर्नुपर्नेछ। यसमा उपभोक्ताले कर भने तिर्नुपर्नेछ। सोमबारदेखि कार्यान्वयनमा ल्याएको यो योजना फागुन मसान्तसम्म लागु हुनेछ। उपभोक्ताले फागुन मसान्तसम्म यो शुल्कमा कल गर्न पाउने कम्पनीले जनाएको छ।  'हामीले वार्षिकोत्सवको अवसर पारेर यो योजना ल्याएको हौ,' कम्पनीका प्रवन्ध निर्देशक अमरनाथ सिंहले भने, 'यो योजनाले उपभोक्तालाई केही भएपनि राहत हुनेछ।' उनले दूरसञ्चार सेवा सम्वन्धी प्रविधि र उपकरणको मूल्यमा आएको कमको लाभ उपभोक्तालाई दिएको बताए। कम्पनीले एसएमएसको महसुल दरमा समेत ५० प्रतिशत छुट दिएको छ। टेलिकमका उपभोक्ताले पचास पैसामा टेलिकमको नेटवर्कभित्र एसएमएस गर्न पाउनेछन्। यो छुट पनि सोमबारदेखि फागुन मसान्तसम्म कार्यान्वयनमा आउनेछ। टेलिकमले साधारण (ल्यान्डलाइन) टेलिफोनमा समेत अतिरिक्त कलको सुविधा दिएको छ। दुई सय रुपैयाँ न्यूनतम महसुल तिरेर २ सय २५ कल लोकल कल गर्न पाउने सुविधा टेलिकमले दिएको छ। यो योजना फागुन १ देखि वैशाख ३१ गतेसम्म लागु हुनेछ। अहिले दुई सय रुपैयाँ न्यूनतम महसुल तिरेर १ सय ७५ कल मात्रै गर्न पाउने सुविधा छ। टेलिकमले वार्षिकोत्सवकै अवसर पारेर अन्तर्राष्ट्रिय कलको शुल्क समेत घटाएको छ। टेलिकमले बेलायत र अष्ट्रेलियामा कल गर्दा लाग्ने शुल्क घटाएको हो। अब अष्ट्रेलियाको लागि कर वाहेक ७ रुपैयाँ ७५ पैसामा कल गर्न पाइने भएको छ। यसअघि यो मुलुक कल गर्दा १२ रुपैयाँ थियो। बेलायतमा प्रतिमिनेट कर वाहेक ४ रुपैयाँ कायम गरेको छ। यसअघि बेलायत कल गर्दा १२ रुपैयाँनै रहेको थियो। विकसित मुलुकमध्ये अष्टे्रलिया र बेलायतमा धेरै नेपाली गएका छन्। अध्ययनका लागि गएका नेपाली धेरै भएकोले टेलिकमले शुल्क घटाएको हो। यसअघि अमेरिका र क्यानडामा प्रतिमिनेट कल गरेको कर वाहेक १ रुपैयाँ ७५ पैसा तोकेको छ। टेलिकमले वाईम्याक्सको प्रविधिको इन्टरनेटमा समेत विशेष आर्कषक प्याकेज योजना ल्याएको छ। व्यवसायिक संघ/संस्थाहरुलाई प्रदान गरिदै आएको डाटा प्याकेज(३२/४८/६० जिबी)मा फागुन ३० गतेसम्म १० जिबी बोनस उपलब्ध गराउने योजना ल्याएको छ