Sunday, January 5, 2014

६२ जिल्लामा टेलिकमको इभिडिओ, देश फ्रि वाइफाई क्षेत्र बनाउन कार्यदल

६२ जिल्लामा टेलिकमको इभिडिओ
काठमाडौं -नागरिक  नेपाल टेलिकमले सिडिएमए प्रविधिको इभिडिओ सेवा ६२ जिल्लामा पुर्‍याएको छ। माघ महिनाभित्र थप १० जिल्लामा यो सेवालाई विस्तार गर्ने योजना उसले बनाएको छ। पचहत्तरै जिल्लामा सिडिएमए पुर्‍याएको कम्पनीले थि्रजी (इभिडिओ) सेवा पनि ७५ जिल्लामा पुर्‍याउने योजनाअनुसार विस्तार गरेको हो।  टेलिकमले बुधबार हिमालपारीको जिल्ला मुस्ताङको जोमसोम, लेते र मार्फामा इभिडिओ सुरु गरेर ६२ जिल्ला पुर्‍याएको हो। मुस्ताङकै मुक्तिनाथमा पनि केही दिनभित्र सेवा विस्तार गर्ने टेलिकमले जनाएको छ। गत साउन १७ गतेदेखि धवलागिरिमा इभिडिओ सेवा सुरु गरेको टेलिकमले बुधबार मुस्ताङ जिल्लाको तीन प्रमुख स्थानमा यो सेवा सञ्चालनमा ल्याएको हो। इभिडिओ सेवा पुगेपछि मुस्ताङमा एक हप्ताभित्र सिडिएमए थि्रजीको रिम कार्ड बिक्री हुने कम्पनीले जनाएको छ। अहिले कसैसँग कार्ड भए सेवा लिन सक्ने भए पनि एक हप्ताभित्र डाटा प्याकेजसहितकोको युएसबी डोंगोलमार्फत बिक्री हुनेछ। इभिडिओ सेवामार्फत भ्वाइस सेवाको अतिरिक्त ३.१ एमबिपिएस डाउनलोड झमतामा ब्रोडब्यान्ड इन्टरनेट चलाउन सकिन्छ। इभिडिओ सेवा नभएको झेत्रमा पनि १५३.६ केबिपिएस झमतामा यो सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकले २२ सय तिरेपछि १ जिबीको मेमेरीसहितको इभिडिओ डोंगोल, १ सय रुपैयाँ बराबरको टक भ्यालु तथा ३ जिबी डाटा भएको रिमकार्ड पाइन्छ।  तीन जिबी डाटाको अवधि ३ महिनासम्म रहनेछ।
टेलिकमले यसअघि धवलागिरिको बागलुङ, पर्वत र म्याग्दीमा सेवा विस्तार गरिसकेको छ। गण्डकीको कास्की, गोरखा, तनहँु, स्याङ्जा, लमजुङमा सेवा पुर्‍याएको कम्पनीले मनाङमा पनि पुर्‍याउने योजना बनाएको छ। 
इभिडिओ सेवालाई देशभर पुर्‍याउने उद्देश्यले हिमाली जिल्लामा पनि सेवा सुरु गरिएको टेलिकमका नायक प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले बताए। सेवालाई सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले नपुगेको जिल्लामा पनि गृहकार्य भइरहेको जनाउँदै भट्टराईले आगामी महिनाभित्र थप १० जिल्लामा गरी ७२ जिल्लामा इभिडिओ सेवा पुर्‍याउने बताए। दुई  महिनाभित्र ७५ जिल्लामा पुर्‍याउने लक्ष्य रहेको उनले बताए। सुगम र दुर्गम जिल्लाबीचको डिजिटल डिभाइड कम गराउन इभिडिओ सेवा विस्तार गरिएको भट्टराईले बताए।
टेलिकमले आगामी महिना धनुषा, ओखलढुंगा, सर्लाही, सिरहा, सोलुखुम्बु, उदयपुरलगायत जिल्लामा सेवा विस्तार गर्ने योजना बनाएको छ। 
देश फ्रि वाइफाई क्षेत्र बनाउन कार्यदल
सूचना तथा सञ्चार मन्त्रालयले नेपाललाई फ्रि वाइफाई क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ।  अध्ययनका लागि नेपाल दूरसञ्चार प्राधिकरणका सदस्य महेश अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको सञ्चार सचिव ध्रुवप्रसाद शर्माले जानकारी दिए। गत शुक्रबार निर्णय गरिएको कार्यदललाई बुधबारदेखि एक महिनाको समयसमेत प्रदान गरिएको छ।  कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्राविधिक उपसचिव, राष्ट्रिय योजना आयोगका प्राविधिक उपसचिव, विज्ञान तथा प्रविधि मन्त्रालयका प्राविधिक उपसचिव, सूचना तथा सञ्चार मन्त्रालयका प्राविधिक उपसचिव र त्रिभुवन विश्वविद्यालयका सञ्चार क्षेत्रका विज्ञसमेत राखिएको छ। कार्यदल सदस्य सचिवमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाललाई नियुक्त गरिएको छ। कार्यदलले एक महिनाभित्र नेपाललाई फ्रि वाइफाई गर्नेका लागि प्राविधिक तथा आर्थिक रुपमा देखिएका विषयहरुलाई राय र सुझावसहित प्रतिवेदन प्रस्तुत गर्ने मन्त्रालयले जनाएको छ।  कार्यदलका सदस्य सचिव खनालले नेपाललाई फ्रि वाइफाई गर्ने प्राविधिक रुपमा सक्षम भए पनि आर्थिक रुपमा खर्च कसरी बेहोर्न भन्ने समस्या हुने बताउँछन्। निश्चित क्षेत्रमा गरिएको फ्रि वाइफाई सोही क्षेत्रकाले ब्यान्डविथ खरिद गरेर गरिएको हुन्छ। सरकारले पूरै नेपालका लागि खर्च गरेर गर्‍यो भने सम्भव छ। निजी कम्पनीसँगको सहकार्यमा गर्न खोजियो भने उनीहरुले नाफा खोज्ने हुँदा समस्या हुने उनले बताए।

No comments:

Post a Comment