Sunday, December 11, 2011

एनसेलले यसरी ठग्दैछ...

सुजनचन्द्र पौडेल- MySansar  केही दिनयता एनसेलले सजिलो ट्यारिफ प्रयोगकर्ताहरुलाई लक्षित गरी रात्रीकालीन छुट दिन थालेको छ। पत्रपत्रिका र होर्डिङ बोर्डहरुमा यसका ठूल्ठूला विज्ञापन छापिन्छन्। विज्ञापनले भन्छ- सजिलो ट्यारिफ प्रयोगकर्ताले राति १० बजेदेखि बिहान ६ बजेसम्म जम्मा ७० पैसामा (करबाहेक) कुरा गर्न सक्नेछन्। तर फोन गर्नेले फोन गर्दा भने ७० पैसा (करबाहेक) हैन, अझ बढी नै पैसा लाग्छ। किन त ? किनकि एनसेलले एउटा चलाखी गरेको छ त्यसमा। उपभोक्तालाई मूर्ख बनाएको छ। एनसेलको  विज्ञापन हेर्दा तपाईँ के बुझ्नुहुन्छ ? पक्कै पनि राति फोन गर्‍यो भने ७० पैसामा फोन गर्न पाइन्छ। तर उसले चलाखी के गरेको छ भने त्यो सेवा पाउनको लागि एक्टिभेट गर्नुपर्छ। त्यसको जानकारी तलपट्टी बायाँ छेउमा छ, जसलाई राम्रोसँग देख्‍न पनि सकिँदैन। ७० पैसा लाग्छ भनेर जति ठूलो अक्षरमा लेखेर विज्ञापन गरेको छ त्यो भन्दा निकै गुना सानो अक्षरमा १००६ मा फोन गरेर एक्टिभेट गर्नुपर्ने शर्त राखेको छ जुन कुरा धेरैले देख्दैनन् र देख्‍नेले पनि अधिकांशले बुझ्दैनन्। यसरी एनसेलले सबै नेपालीलाई मूर्ख बनाएको छ ।
 एनसेलले एकातिर सुविधा दिए जस्तो पनि गर्ने तर त्यसको लागि एउटा न एउटा शर्तहरु राखिहाल्ने गर्छ। यसरी सर्वसाधारणलाई मूर्ख बनाउदै लुट्न यो अग्रसर छ। सबैले त्यो सेवा सहजै पाउन् भन्ने उसको चाहना हुन्थ्यो भने त्यसरी एक्टिभेट गर्नुपर्ने शर्त थपिँदैन थियो। एनसेललाई राम्रो सँग थाहा छ धेरै नेपाली अशिक्षित छन् वा शिक्षित भएर पनि उसको सेवाका शर्तको ख्याल गर्दैनन् ती सबैलाई लुट्नको लागि यस्तो जुक्ति अपनाएको हो एनसेलले।
यति मात्र हैन, एनसेलले अर्को थुप्रै हिसाबले पनि ठग्ने काम गरिरहेको छ। पहिले निःशुल्क रहेको मिसकल नोटिफिकेसन सेवा अहिले सशुल्क बनाइएको छ। कभरेज भन्दा बाहिर रहेको बखत वा फोन अफ भएको बेलामा आएका कलको गरेको रेकर्ड पठाइदिने यो सेवा प्रयोग गरे वापत उपभोक्ताले यतिखेर साप्ताहिक रुपमा २.४९ तिर्दै आएका छन्। तर एनसेलले सेवाको शुल्क असुल गरिरहे पनि उसको उक्त सेवा प्रभावकारी भने छँदैछैन। मोबाइल अफ हुँदा आएका कलको लिष्ट भने आउँदैन तर पैसा काटिएको म्यासेज भने मोबाइलमा आइसक्छ। करिब साठी लाख मोबाइल प्रयोगकर्ताबाट साप्ताहिक रू २.४९ का दरले पैसा काटिँदा मासिक झण्डै ६ करोड रुपैयाँ एनसेलले ग्राहकबाट असुल गरिरहेको छ। पहिले ५० रुपैयाँ ब्यालेन्स आउने रिचार्ज कार्डमा अहिले ४९.०२ पैसामात्र व्यालेन्स आउँछ। कार्डमा स्वामित्वकर थप तिर्नु पर्नेमा अहिले उक्त स्वामित्व कर व्यालेन्सबाट कटाएर पठाएको दावी एनसेलले गरे पनि सर्वसाधारणले तोकिएको मूल्यमा कार्ड पाउन सकिरहेका छैनन्। यसको मुख्य कारण विक्रेता नभई एनसेल आफै हो। विक्रेता लाई ४९.५० रुपैयाँमा कार्ड उपलब्ध लगाएर ५० रुपैयाँमा बेच भनेर कसैले बेच्न सक्छ? यस्तो महङ्गीको समयमा जम्मा एक प्रतिशत कमिशनमा कोही काम गर्न तत्पर नभएपछि उपभोक्ता दोहोरो मारमा परेका छन्। एनसेलले विक्रेतालाई सुहाउँदो कमिसन उपलब्ध गराएर बजार व्यवस्थित गर्नुपर्नेमा उल्टो विक्रेतालाई नै तोकिएको मूल्यमा कार्ड नबेचेमा कारवाही गर्छु भन्ने धम्की दिइरहनु उचित छैन। त्यस्तै एनसेलले रिङ्गव्याक टोन (पिआरविटी) सेवामा पनि उपभोक्ता ठगिँदै आएका छन्। एनसेलमा किनिएको कुनै पनि रिङ्गव्याक टोन रिन्यू गर्ने वा नगर्ने भन्ने अधिकार उपभोक्तामा निहित हुनु पर्नेमा उक्त गीत एनसेलले स्वतः नविकरण गराइदिन्छ जुन सरासर गलत हो। गीत सकिने बेलामा एनसेलले गीत हटाउनका लागि सूचित त गर्छ तर सबै उपभोक्तले उसले पठाएको म्यासेज पढ्छन र बुझ्छन् भन्ने पक्कै छैन जसले गर्दा उपभोक्ताको चाहनाविपरीत गीतहरु आफै नवीकरण भइराखेका हुन्छन्। साथै रिङ्गव्याकटोनका विज्ञापनमा पनि गीत यसरी राख्न सकिन्छ भनेर लेखिएको हुन्छ तर त्यो गीत हटाउनु परेमा के गर्ने भनेर कहीँ कतै उल्लेख गरिएकै हुँदैन। नेपाल टेलिकमका ग्राहकको सेवामा स्वतः डिलिट हुने हुँदा खासै फरक पर्दैन। तर एनसेलले ठगेर कमाउन यस्तो गरिरहेको छ।
एनसेल नेपालको ठूला विज्ञापनदातामध्ये एक भएर होला, सञ्चार माध्यमहरुले पनि उसको यस्तो ठगी बारे केही पनि लेख्‍ने आँट गरिरहेका छैनन्। दूरसञ्चारबारे समाचार लेख्‍ने पत्रकारहरुलाई त एनसेलले विदेश घुम्ने अवसर पनि उपलब्ध गराउँछ, शायद् त्यसैले यो बिटका पत्रकारहरु यो विषयमा कलम चलाउनै मान्दैनन्। नेपालमा दूरसञ्चार प्राधिकरण छ। यसको काम लाइसेन्स मात्र दिएर बस्ने होइन, मोबाइल कम्पनीहरुले सर्वसाधारणलाई दिएको सेवा प्रभावकारी भए/नभएको निरन्तर अनुगमन गर्नु जरुरी छ। सर्वसाधारणबाट छक्याएर रकम असुल्न पल्केका यस्ता कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ।

No comments:

Post a Comment