Tuesday, August 13, 2013

थ्रिजी प्रयोगकर्ता बढाउने योजनामा टेलिकम

लीला घिमिरे, नागरिक काठमाडौं - नेपाल टेलिकमले यो वर्ष काठमाडौंमा मात्रै थ्रिजी प्रयोगकर्ताहरुको संख्यामा तिब्र रुपमा वृद्धि गर्ने रणनीतिअनुसार डाटा सेवाको क्षमता र गुणस्तर वृद्धिमा लागिपरेको छ। उसले काठमाडौंमा मात्रै करिब २० लाख थ्रिजी प्रयोगकर्तालाई सेवा दिने गरी क्षमता विस्तार गर्ने भएको छ। केही महिनाभित्रै काठमाडौंमा मात्रै प्रयोगकर्ताको संख्या करिब पाँच लाख पुर्यातउने योजना टेलिकमको छ। टेलिकमले केही समय अघि देखि सुरु गरेको मोबाइल र डाटा सेवाको गुणस्तर अभिवृद्धि योजना पूर्णरुपमा सफल भएपछि नेटवर्कका थ्रिजी सेवा प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि हुने आशासहित उसले यस्तो दाबी गरेको हो।  टेलिकमका थ्रिजी प्रयोकर्ताहरुको संख्या हाल करिब एक लाख ३० हजारको हाराहारीमा रहेका टेलिकम मोबाइल सेवा निर्देशनालयका निर्देशक सुरेन्द्रप्रसाद थिकेले नागरिकलाई बताए।  कम्पनीले काठमाडौं उपत्यका र पश्चिमाञ्चलमा मात्रै ४८ लाख जिएसएम लाइन विस्तारको सम्पूर्ण उपकरणहरु जडान गर्ने तथा पुराना बिटिएसहरुको सट्टामा नयाँ बिटिएस उपकरण जडान गरी सेवा वितरण आरम्भ गर्ने वार्षिक योजनाअनुसार पहिलो चरणमा उपत्यकामा सेवा विस्तार र नयाँ उपकरण जडान सुरु गरेको हो।  टेलिकमले सन् २००७ मा प्रयोग गरेका चिनियाँ कम्पनी जेडटिईका उपकरणको स्थानमा नयाँ कम्पनी हुवावेका उपकरणहरु प्रतिस्थापन गर्न लागेको हो।  उपत्यकामा पछि टेलिकमले पूर्वाञ्चल, मध्यमाञ्चल (काठमाडौं उपत्यका बाहेक), मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा ५२ लाख लाइन विस्तार गर्न मुख्य उपकरणहरु जडान गर्ने तथा पुराना बिटिएसहरुको सट्टामा नयाँ बिटिएसहरु जडान गरी सञ्चालनमा ल्याउने पनि निर्देशक थिकेले बताए।  
टेलिकमका पहिलो चरणमा उपत्यका भित्रमात्रै २ सय १८ नयाँ बिटिएस जडान गर्ने तयारी गरेको हो। टेलिकमले यस अघिको जेडटिईको नेटवर्कमा ७३ ओटा विटिएसमार्फत एक लाख ४० हजार थ्रिजी प्रयोगकर्तालाई सेवा उपलब्ध गराईरहेको थियो। 'थप संख्याका बिटिएसले पाँच लाख ग्राहकलाई थ्रिजी सेवा प्रदान गर्ने क्षमता राख्दछन्,' थिकेले भने, 'नयाँ उपकरण जडान भएका कारण मोबाइलको गुणस्तरमा सुधार आउनुका साथै इन्टरनेट पनि तिब्र गतिमा चल्न सक्छ। हालसम्म नयाँ उपकरण जडान भइसेकका उपत्यकाका विभिन्न स्थानमा नयाँ नेटवर्कको तिब्र गतिको इन्टरनेटको अनुभुति प्रयोगकर्ताले गरिसकेका छन्।' थिकेका अनुसार चक्रपथ बाहिरसमेत गरी उपत्यकाका सबै पाँचसय टावरहरुमा नयाँ बिटिएस जडान गरिनेछन् जसले १९ लाख थ्रिजी प्रयोगकर्तालाई तिब्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने क्षमता राख्दछन्।  नयाँ योजना कार्यान्वयनपछि टेलिकमको क्यापसिटी कभरेज, क्वालिटी (क्षमता, पहुँच र गुणस्तर) मा व्यापक सुधार आउने अपेक्षा गरिएको थिकेले बताए।  थ्रिजी प्रयोगकर्ताहरुको संख्यामा वृद्धि भएपछि टेलिकमले यो सेवा उपलब्ध गराएबापत हाल गरिरहेको आम्दानी पनि तीन गुणा वृद्धि हुने अनुमान गरेको छ। 'गुणस्तर सेवा भएपछि इन्टरनेट प्रयोगकर्ताको संख्या र उनीहरुले इन्टरनेट प्रयोग गर्ने समयमा पनि उल्लेख्य वृद्धि हुनेछ,' थिकेले भने, 'यसले टेकिमले यो सेवा बिक्री गरेबापत गर्ने कमाई पनि तिन गुणासम्मले वृद्धि हुन सक्छ।' टेलिफोन, मोबाइल, इन्टरनेट लगायतका सेवा प्रदान गर्दै आइरहेको नेपाल टेलिकमले आफ्नो नेटवर्कमा डाटा सर्भिसलाई अझै विस्तारित र भरपर्दो बनाउने योजनाअनुरुप काम गरिरहेको छ।  विभिन्न नयाँ प्रविधीमार्फत इन्टरनेट सेवा प्रदान गर्दै आईरहेका टेलिकमले इन्टरनेट सेवालाई अबका दिनमा झनै प्रतिस्पर्धी बनाउन टेलिकम लागिपरेको थिकेले बताए।  टेलिकमको इन्टरनेट लगायत अन्य सेवा शुल्क प्रतिस्पर्धी भएपनि यसको सेवा भने सन्तोषजनक नभएको सर्वसाधारणहरुबाट गुनासो आईरहदाँ टेलिकमले थप सेवा, विस्तार र गुणस्तर ग्यारेन्टीको दाबी गरेको हो। हाल देशभरमा करिब ७० लाख इन्टरनेट प्रयोगकर्ता रहेको बताइएको छ। हरेक एक सय जनामा करिब २५ जना इन्टरनेट प्रयोगकर्ता भएको नेपाल दूरसञ्चार प्राधिकरणको पछिलो तथ्यांकले देखाएको छ।

No comments:

Post a Comment