Saturday, August 17, 2013

वाइम्याक्स, एडिएसएल, जिपिआरएस, थ्रिजी अझ सस्तो बनाउन प्रयास गर्दैछौं

अमरनाथ सिंह, प्रबन्ध निर्देशक, नेपाल टेलिकमनागरिक दैनिक, आइतबार २ भाद्र, २०७० अमरनाथ सिंहले नेपाल टेलिकमलाई अझै सशक्त बनाउने योजनामा छन् । यसअघि दुई पटक प्रबन्ध निर्देशक भइसकेका अमरनाथ सिंहले तेस्रो कार्यकालमा टेलिकमले प्रवाह गर्ने सेवाको गुणस्तरमा आफुलाई केन्द्रित गराएका छन् । उपत्यकाका उपभोक्ताले दुई महिनाभित्रै नेपाल टेलिकमको सेवामा आएको परिवर्तन थाहा पाउने उनको दाबी छ । नागरिकका प्रकटकुमार शिशिरले सिंहसँग टेलिकमको नयाँ परियोजना, आर्थिक अवस्था र गुणस्तरलगायतका विषयमा गरेको कुराकानी 

नेपाल टेलिकमले 'राष्ट्रको सञ्चार' नारा दिइरहेको छ। यसको अर्थ के हो ?
नेपाल टेलिकमलाई पछिल्लो समय राष्ट्रकै सञ्चारको रुपमा अगाडि ल्याइएको छ । यसमा सरकारको स्वामित्व छ, यसमा जनताको स्वामित्व छ । स्वामित्वको हिसाबले मात्र नभएर हामीले हाम्रा सेवालाई देशका सबै भागमा पु¥याएका छौं । हाम्रा सेवाहरु देशभर नै फैलिएको छ । हामी सहरकेन्द्रित मात्र छैनौं । ग्रामीण भेगमा पनि पुगेका छौं । यसरी हेर्दा यसलाई राष्ट्रको सञ्चारको रुपमा व्याख्या गर्ने सकिन्छ ।
केही सेवाहरुमा तपाईहरु पछाडि नै हुनुहुन्छ, उपभोक्ताको पहिलो रोजाई त बन्न सक्नु भएको छैन नि ?
हामीले दिएको सेवालाई हेर्ने हो भने उपभोक्ताको पहिलो रोजाईमा नेपाल टेलिकम नै पर्छ । हामीले जुन किसिमले उपभोक्तालाई सेवा दिइरहेका छौं । ती सबै अरु कम्पनीमार्फत पुगेको देखिदैन । त्यस्तै हामीले हाम्रा सबै सेवा सहरकेन्द्रित मात्र गरेका छैनौं । उपत्यकामा प्रयोगमा आएका सेवा ग्रामीण भेगमा पनि पुगेका छन् । ग्रामीण क्षेत्रमा त हामीले घाटा खाइरहेको अवस्थामा पनि सेवा प्रदान गरिरहेका छौं । सञ्चारमा सबैको समान पहुँच पु¥याउने हाम्रो उद्देश्य हो । त्यही उद्देश्यअनुसार नै हामी लागिरहेका छौं । केही सेवामा विशेष गरी जिएसएम मोबाइलमा हामी दुइ नम्बर भयौं भन्ने छ । त्यो संख्यात्मक कुरा मात्र हो तर जतिले हाम्रो सेवा लिएका छन् उपभोक्ता खुशी छन् । अर्काे कुरा हामी पछि परेको सेवामा पनि हामी नयाँ योजनाका साथ आउँदै छौं । हाम्रो बजार हिस्सा पनि बढिरहेको छ । फिक्स्ड लाइनदेखि वाइम्याक्ससम्मका ग्राहकले नेपाल टेलिकमलाई विश्वास गरेका छन् । त्यसैले उपभोक्ताको पहिलो रोजाईमा सधै नेपाल टेलिकम छ । नेपाल टेलिकमको सेवा लिन अझै पनि लाइन लाग्ने गरेको देखेको छु । यो कम्पनीप्रतिको विश्वास र माया नै हो ।

उपभोक्ताले सधै टेलिकमको गुणस्तरको विषयमा गुनासो गर्दै आइरहेका छन् नि ?
नेपाल टेलिकमको गुणस्तर उपभोक्ताले नराम्रो भनेका छैनन् । उनीहरुको माग अझ राम्रो भए हुन्थ्यो भन्ने हो । त्यसैअनुरुप हामी लागिपरिरहेका छौं । टेलिकमको सेवा र गुणस्तरका लागि धेरै कुरामा निर्भर रहनुपर्ने हुन्छ । ग्रामीण भेगमा विद्युत अभावदेखि केबल चोरीको समस्या छ । सहरमा पनि लोडसेडिङको समस्या खेप्नुपर्छ । यस्ता कुराले पनि असर पार्दछ तर पनि हामी हाम्रो गुणस्तरमा व्यापक सुधार ल्याउन पहल गरिरहेका छौं । हामीले हाल उपत्यकाभित्र नेटवर्कलाई सुधार गरिरहेका छौं । केही क्षेत्रमा उपभोक्ताले यसको अनुभूति पनि गरेका छन् । कीर्तिपुर, पाटनलगायतको क्षेत्रमा नयाँ प्रविधि र सिस्टम प्रयोग गरिसकिएको छ । त्यहाँका उपभोक्ताले मलाई नै फोन गरे गुणस्तरमा सुधार आएको बताइसकेका छन् । हामी दुई महिनाभित्र गुणस्तरमा व्यापक परिवर्तन गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं । सेप्टेम्बर २० सम्ममा उपत्यकाका उपभोक्ताले गुणस्तरमा परिवर्तन पाउनुहुनेछ । हामीले पुरानो जेडटिईको नेटवर्कलाई परिवर्तन गरी हुवावेमा लगिरहेका छौं ।
यो आर्थिक वर्षभित्र नेपाल टेलिकमको मुख्य योजना के हो ?
हामीले गत वर्ष जुन योजना कार्यान्वयनमा ल्यायौं त्यसलाई यो वर्ष अझ विस्तार गरेर ग्रामीण भेगसम्म पु¥याउन लागेका छौं । ग्रामीण क्षेत्रका प्रयोगकर्तालाई हाम्रो सेवा पु¥याउने यो वर्षको मुख्य योजना हो । हामीले जिएसएम मोबाइल, वाइम्याक्स, इन्टरनेट प्रोटोकलमा आधारित सिडिएमए (आइपिसिडिएमए) त्यस्तै कन्भर्जेन्ट रियल टाइम्स बिलिङ (सिआरटिबी) लगायतका सेवाहरुलाई व्यापक विस्तार गर्ने योजना बनाएका छौं । यी योजना कार्यान्वयनका चरणमा छन् । जिएमएमको एक करोड लाइनको परियोजनामा प्याकेज बीअन्तर्गत काठमाडौं उपत्यका र पश्चिमाञ्चल विकास क्षेत्रमा ४८ लाख लाइन विस्तारका लागि उपकरण जडान भैसकेको छ । यो अगस्टभित्र सक्ने अवस्थामा छौं । त्यस्तै ए अन्तर्गत पूर्वाञ्चल, सुदुरपश्चिमाञ्चल र मध्यमाञ्चलमा (काठमाडौं उपत्यकाबाहेक) ५२ लाख लाइन विस्तार गर्न पुराना बिटिएसको सट्टामा नयाँ बिटिएस जडान भएको छ । खासमा हामी पाँचवटा मुख्य परियोजनामा काम गरिरहेका छौं । स्काइ फोनको लोकप्रियता कायम राख्न नयाँ योजना बनाएका छौं । वाइम्याक्स, आइपिसिडिएमए, सिआरटिबीमा पनि चरणबद्ध रुपमा काम गरिरहेका छौं । सिडिएमए बिलिङ भएको छ । जिएसएमलाई सेप्टेम्बर पहिलो सातादेखि बिलिङमा लग्दैछौं ।

टेलिकमले नयाँ काम गर्न खोज्दा विवाद हुन्छ नि, अनियमितता भएरै हो ?
हामीले कुनै पनि कुरालाई तत्काल निर्णय गर्ने सक्दैनौं सरकारी स्वामित्वको भएकाले कतिपय अवस्थामा प्रक्रियागत रुपमा जानुपर्ने हुन्छ । चरणबद्ध प्रक्रियागत रुपमा जाँदा कतिपय निर्णय कार्यान्वयनमा ढिला पनि हुन्छ । यसलाई अनियमिततासँग जोड्नु हुँदैन । यसका लागि सार्वजनिक खरिद ऐन नियमलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्दछ । उस्तै योजना उस्तै प्रस्ताव भएपनि हाम्रा प्रतिस्पर्धीले तत्काल निर्णय गर्न सक्छन तर हामीलाई वर्षाै लाग्न सक्छ । यो ऐन नियमलाई तत्काल सुधार नगरे प्रतिस्पर्धामा पछाडि पर्न सकिन्छ । कतिपय अवस्थामा हामीले प्रस्ताव गरेर खरिद भै सेवा विस्तार गर्ने बेलासम्म त्यसको निर्णय हुँदैन यसले हामीलाई नै पछाडि पारेको छ । तर विवाद र अनियमियतता भएको छैन । सेवा विस्तारमा ढिलाइ भने भएको छ ।
कर्मचारी युनियनदेखि सरकारी क्षेत्रबाट समेत नेपाल टेलिकमलाई असहयोग हो त ?
खासमा त्यस्तो होइन सरकारी तवरबाट कार्वान्यनको पक्षलाई जोड दिनुपर्छ भने कर्मचारी युनियनहरुले ग्राहकलाई सन्तुष्ट बनाउन काम गर्नुपर्छ । मैले पनि कर्मचारी साथीहरुलाई सेवा विस्तारमा सहयोग गरी ग्राहकलाई सन्तुष्ट पार्न आग्रह गर्दै आइरहेको छु । कर्मचारी साथीहरुमा पहिलाको भन्दा परिवर्तन पनि आइरहेको छ । संस्था रह्यो भने मात्र युनियन रहने हो त्यसैले संस्था बलियो बनाउन सरकार, कर्मचारी सबै जुट्नु पर्छ। नयाँ कम्पनी पनि आउने क्रममा छन् । नेपालको बजारलाई नयाँ कम्पनी आवश्यक छ ? यसमा दूरसञ्चार प्राधिकरणको आफ्नै तर्क हुन्छ । मैले भन्नुपर्दा जनसंख्याको हिसाबले हामी र अहिले भैरहेका कम्पनी नै पर्याप्त छौं । अझ हामी त सबै जनतालाई सबै सेवा पु¥याउन सक्षम छौं । हाम्रो बजार सानो छ । सानो बजारमा धेरै कम्पनी आउँदा फाइदा हुन्छ भन्ने छैन । तर, उपभोक्ताको रोजाइका लागि, सेवाका लागि नयाँ अफर र स्किममा आउँदा उपभोक्तालाई भने फाइदा होला ।
टेलिकमले नयाँ स्किम र फेस्टिबल अफर के ल्याउँदै छ ?
टेलिकमले पहिलाको जस्तो चाडपर्वकै बेला अफर ल्याउन जरुरी छैन । आवश्यकताअनुसार समयसमयमा अफर र स्किम ल्याइरहेका छौं । जहाँसम्म चाडपर्वको बेला उपभोक्ताको आशा हुन्छ त्यो बेलाका लागि पनि हामीले केही तयारी गरिरहेका छौं ।
टेलिकमको नाफा त घटेको छ नि ? चालु आर्थिक वर्षमा टेलिकमको आर्थिक लक्ष्य कस्तो छ ?
सरकारलाई कर तिर्नेमा हामी एक नम्बर भएका छौं । कम्पनी नाफामा नै छ केही सेवा विस्तार गर्दा सेवा विस्तारको लागतको कुरा पनि आउँछ । त्यसैले केही सूचांक कम देखिएको हो । हामीले गत वर्ष विभिन्न शिर्षकमा २० अर्ब ३७ करोड ११ लाख रुपैयाँ सरकारलाई राजस्व बुझाएका छौं । अझै हामीले चालु आर्थिक वर्षमा रणनीतिक योजना बनाएका छौं । यो वर्ष विभिन्न सेवा र भौतिक पूर्वाधारमा २० अर्ब भन्दा बढी लगानी हुनेछ । त्यस्तै सरकारलाई राजस्व तिर्नेमा पनि आगामी वर्ष हामी नै पहिलो हुनेछौ. । २१ अर्ब ३५ करोड ३१ लाखभन्दा बढि राजस्व सरकारलाई बुझाउने हाम्रो लक्ष्य छ । ४१ अर्ब ६५ करोड भन्दा बढि आम्दानी हामीले गर्ने लक्ष्य राखेका छौंं । त्यस्तै ११ अर्ब ९६ करोड २५ लाख भन्दा बढि नाफा हुने हाम्रो योजनामा छ । सेवा विस्तार नै आम्दानी र नाफाको पहिलो चरण हो । सहरदेखि ग्रामीण केन्द्रित हाम्रा प्रडक्ट छन् त्यसलाई अपग्रेड गर्नु र विस्तार गर्नु हाम्रो काम हो ।
अहिले सबै कम्पनीले डेटा सेवालाई प्राथमिकतामा राखेका छन् । उनीहरुको बजार हिस्सा पनि बढ्दै गएको छ । यसमा तपाईहरुको योजना के छ ?
कुनै पनि प्रभाव पर्दैन हामी हाम्रो डेटा सेवालाई झनै सशक्त बनाएका छौं । यसमा हाम्रो सेवा गुणस्तरिय बन्दै गएको छ । वाइम्याक्स, एडिएसएल, जिपिआरएस थ्रिजी, आइपिसिडिएमए, इभिडिओलगायतका सेवा प्रयोग गर्ने ग्राहकको संख्या बढ्दै गएको छ । यसलाई व्यापक विस्तार गर्ने हामी लागिपरेका छौं । यो सेवा अझै सस्तोमा उपलब्ध गराउन पनि हामी प्रयासरत छौं । 

No comments:

Post a Comment