Sunday, August 18, 2013

टेलिकमबाट १० पैसामै चेतनामूलक सामाजिक सन्देश

सरस्वती ढकाल, कारोबार दैनिक  काठमाडौं, २ भदौ- नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले सामाजिक चेतनामूलक सन्देश सर्ट म्यासेज सर्भिस (एसएमएस) १० पैसामै गर्न सकिने व्यवस्था गरेको छ । एकैपटक ८० लाखभन्दा धेरै मोबाइल ग्राहकलाई सामाजिक र चेतनामूलक सूचना दिने उद्देश्यले कम्पनीले यसलाई बढावा दिएको छ । साधारणका प्रयोगकर्ताका लागि भने टेलिकमले प्रतिम्यासेज १ रुपैयाँ (करबाहेक) लिँदै आएको छ । हाल टेलिकमले निर्वाचन आयोगको अभियान ‘फोटोसहितको मतदाता नामावलीमा सहभागी बनौं’, आन्तरिक राजस्व विभागको ‘घरबहाल कर समयमै तिरौं’, महिला आयोगको ‘महिला हिंसाविरुद्धको अभियानमा सहभागी बनौं,’ सूचना तथा सञ्चार मन्त्रालयको गणतन्त्र दिवस, वृक्षारोपणको जानकारीजस्ता सामाजिक चेतनामूलक काममा सहकार्य गर्दै आएको छ । टेलिकम प्रवक्ता गुणकेसरी प्रधानले व्यापारिक प्रयोजनमा समूह सन्देश (ग्रुप म्यासेज) बन्देज रहेको भन्दै सामाजिक वा चेतनामूलक काममा सहभागी बन्नु कम्पनीको दायित्व भएकाले अत्यन्तै न्यून शुल्कमा सुविधा दिइएको बताइन् । “हामीले ग्राहकको पक्षबाट हेरेका छौं, धेरै सामाजिक म्यासेज लगातार पठाउँदैनौं,” उनले भनिन्, “एकैपटक लाखौं ग्राहकलाई सूचित गर्न म्यासेज माध्यम सबैभन्दा सजिलो उपाय हो ।” निशुल्क सेवा दिँदा सुविधाको दुरुपयोग हुनसक्ने आशंका गर्दै ग्राहकलाई झर्काे लाग्ने स्थिति नआओस् भनेर न्यूनतम शुल्क लिइएको उनले स्पष्ट पारिन् । मोबाइल अधिकांशसँग रहने भएकाले मोबाइलमा घरबहाल कर, मतदाता नामावली दर्तालगायतका जानकारी दिँदा उपभोक्ता लाभान्वित नै हुन्छन् । सामाजिक म्यासेज पनि धेरै पठाएर ग्राहकलाई दिक्क पार्न नहुने सेवाग्राहीको भनाइ छ ।

विगत वर्षमा फाट्टफुट्ट सामाजिक म्यासेज पठाए पनि यस वर्षदेखि टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत बागमती सफाइ अभियान राखेको छ । बागमती सफाइको समूहगत म्यासेज पठाएपछि सामाजिक कार्यमा सहकार्य गर्न अन्य निकाय आएको टेलिकमले जनाएको छ । बागमती सफाइ अभियानमा सहभागी बन्न टेलिकमले हरेकपटक ग्राहकलाई सूचित पार्दै आएको छ । प्रवक्ता प्रधानका अनुसार कतिपयलाई जानकारी हुँदाहुँदै पनि बिर्सिएको अवस्था हुन्छ भने कतिपयले जानकारी नै पाएका हुँदैनन् । “यस्तो अवस्थामा समूहमा पठाइने म्यासेजले त्यस्ता ग्राहकलाई सचेत गराउन मद्दत पुग्छ,” उनले भनिन् । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली दर्ता गर्न १ साता थप गरेकाले यसमा पुनः म्यासेजबाट जानकारी गराउन छलफल भएको बताइन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार टेलिकमका कुल ग्राहक ९० लाख भए पनि जीएमएम प्रिपेड पोस्टपेड र सीडीएमए गरी मोबाइलमा ८१ लाख सिमकार्ड बिक्री भएका छन् ।

No comments:

Post a Comment