Friday, October 4, 2013

टेलिकमलाई रणनीतिक साझेदारी भित्राउने बाटो खुल्ला

१८ असोज, काठमाडौं, OnlineKhabar.com । नेपाल टेलिकमले विदेशी रणनीतिक साझेदारी भित्राउन सैद्धान्तिक स्वीकृति प्राप्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयबाट गएको प्रस्तावमा छलफल गर्दै मन्त्रिपरिषदको वैठकले टेलिकमलाई साझेदारी भित्राउन स्वीकृति दिने निर्णय गरेको हो । निर्णयसँगै टेलिकमलाई रणनीतिक साझेदार भित्राउन बाटो खुल्ला भएको छ । निजी क्षेत्रका दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्न टेलिकममा रणनीतिक साझेदारी भित्राउने तयारी गरिएको थियो । साझेदार भित्राउने काम अघि बढाउन सरकारले परामर्शदाता नियुक्त गर्ने काम पनि अगाडी बढाएको छ । अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गरिसकेपछि रणनीतिक साझेदार, प्रकृति र साझेदारी लगायतका विषयमा टुंगो लाग्ने बताइएको छ । ९१ दशमलव ५ प्रतिशतभन्दा बढी सरकारी स्वामित्व रहेको टेलिकममा विदेशी रणनीतिक साझेदार ल्याउने चर्चा ४ वर्षदेखि चलिरहेको थियो । नेपाली बजारमा लामो समय एकलौटी रुपमा अधिपत्य जमाएको आएको टेलिकमलाई पछिल्लो समय निजी क्षेत्रका कम्पनीहरुले उछिन्न थालेका छन् । दुरसञ्चार सेवा प्रदायक संस्थाहरुको संख्या बढ्दै जान थालेपछि टेलिकमको बजार हिस्सा अहिले साँघुरिदै गइरहेको छ । टेलिकमले आफ्ना सेवाहरुको गुणस्तर वृद्धि गर्न नसकेपछि नेपाल टेलिकममा ग्राहकहरु पछिल्लो समय डाइभर्ट हुँदै गइरहेका छन् । रणनीतिक साझेदार भित्राएर सेवा गुणस्तरीय बनाउनुका साथै नयाँ नयाँ सेवाहरु संचालन गर्ने सरकारको तयारी रहेको छ । नेपालमा सबैभन्दा बढी कर तिर्ने कम्पनी टेलिकम पछिल्लो वर्ष दोस्रो सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी बनेको छ । परामर्श दाताको छनोट भएपछि त्यसले कम्पनीको विस्तृत अध्ययन गर्ने छ । कम्पनीको विस्तृत अध्ययनपछि साझेदार भित्राउनका लागि आहृवान गरिने बताइएको छ ।

No comments:

Post a Comment