Sunday, October 27, 2013

सबै फोन नम्बर अब १० अंकका

सरस्वती ढकाल, कारोबर सम्बाददाता
काठमाडौं, १० कात्तिक- नेपाल दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षदेखि नयाँ राष्ट्रिय नम्बरिङ योजना लागू गर्दै सबै फोन नम्बर १० अंकको बनाउने भएको छ मोबाइल, तारमा आधारित टेलिफोन, लिमिटेड मोबिलिटी, ग्रामीण दूरसञ्चार, फिक्स्ड वायरलेसलगायत सबै सेवामा अब १० ‘डिजिट’ हुनेछन् । हाल मोबाइल नम्बर १० अंककै भए पनि तारमा आधारित टेलिफोनमा ९ वटा (जिल्ला कोडसहित) मात्रै अंक छन् । नयाँ राष्ट्रिय नम्बरिङ योजनाको मस्यौदा तयार भइसकेकाले सरोकारवालाको राय, सुझाव तथा प्रतिक्रियापछि आगामी आवबाट लागू गर्ने तयारी प्राधिकरणको छ । तारमा आधारित सबै टेलिफोनको सुरुमा ‘२०’ अंक थपिनेछ । मोबाइलका लागि सुरुका अंक ‘९’ र २ अंकको अपरेटर कोडसहित १० अंक हुनेछ । हालसम्म ‘९८’ पछि एक अंकको अपरेटर कोड र त्यसपछि ग्राहक नम्बरसहित १० अंक रहँदै आएको छ । “यो योजना सञ्चालनपछि जीएसएम र सीडिएमए ग्राहकको नम्बर भने समान रहनेछ,” प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, “दूरसञ्चार क्षेत्रमा विकसित हुँदै गएको नयाँ प्रविधि, प्रतिस्पर्धा तथा बढ्दो ग्राहक संख्या विचार गर्दा नयाँ राष्ट्रिय नम्बरिङ योजना आवश्यक भएको हो ।”
नयाँ योजनाबमोजिम सेवाप्रदायकले एउटा अंक कोड लिँदा १ करोड लाइन सेवा विस्तार गर्न सक्नेछन् । यसले दीर्घकालीन रूपमा नम्बरिङ स्रोतको प्रयोग तथा व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने खनालले बताए । सीमित राष्ट्रिय स्रोतको रूपमा रहेको नम्बरिङलाई प्रभावकारी एवं किफायती बनाउन प्राधिकरणले नम्बरबापत शुल्कसमेत लिने तयारी गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा भएका नम्बरिङ व्यवस्थाबारे अध्ययन गरी शुल्क तय गर्ने जानकारी खनालले दिए । शुल्क लिँदा सेवाप्रदायकले नम्बर होल्ड नगर्ने र दूरसञ्चार क्षेत्र थप व्यवस्थित हुनुका साथै राजस्वसमेत बढ्ने अनुमान उनको छ । प्राधिकरणले मंसिर दोस्रो सातासम्म परामर्शका लागि राख्ने र निर्णयपछि कम्तीमा ६ महिना सेवाप्रदायकलाई तयारीका लागि समय दिनेछ । नयाँ प्रस्तावित नम्बरिङ योजना कार्यान्वयन गर्दा सुरुका अंक– ३, ४, ५, ६, ७ लाई भविष्यमा थप नयाँ प्रयोजनका प्रयोग गर्न सकिने प्राधिरणले जनाएको छ । सर्ट कोडहरूलाई व्यवस्थित र भरपर्दाे बनाउन एसएमएस तथा एमएमएस प्रयोजनका लागि ३ र अन्य प्रयोजनका लागि १ हुने गरी कुल ३ देखि ६ अंकको नम्बरिङ छुट्ट्याइएको छ । यसमा आकस्मिक सेवा, सरकारी सेवा, सुरक्षा, अस्पताल, महिला तथा बालबालिका, पर्यटन, समाचार, मनोरञ्जन, टोल फ्रीलगायत पर्नेछन् ।

No comments:

Post a Comment