Tuesday, July 22, 2014

टेलिकमले दशैंअघि नै सामाजिक सञ्जालको साइट ल्याउने, इमेल, एसएमएस, भिडियो एउटै प्लेटफर्ममा

कञ्चन अधिकारी/बिजमाण्डू काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले युनिफाइड कम्युनिकेसन सिस्टम (युसिएस) को तयारी अन्तिम चरणमा पुर्‍याएको छ । हाल परीक्षणको रुपमा सञ्चालन भइरहेको यो सेवा दशैंअघि पूर्णरुपमा सञ्चालनमा आउने नेपाल टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले बताइन् । यो सिस्टम सञ्चालनमा आएपछि कम्पनीको सेवा प्रयोग गरिरहेका ग्राहकले अन्य काम बाहेक अहिले फेसबुक वा ट्वीटर जस्ता सामाजिक सञ्जालमा गरिरहेका कार्यहरु नेपाल टेलिकमकै युसिएस सिस्टम मार्फत गर्न सक्छन् । प्रवक्ता प्रधान भन्छिन्, ' यो फेसबुक, ट्विटरजस्तै सामाजिक सञ्जाल हो ।' यो सिस्टम अनुसार एउटै वेबसाइटबाट टेलिकमका सबै प्रकारका सेवा प्रयोग गर्न मिल्ने प्रविधि सञ्चालन गर्न सकिन्छ । अहिले टेलिकमले आन्तरिक परीक्षणको रुपमा गृहकार्य गरिरहेको छ । प्रवक्ता प्रधानले भनिन्, 'हामीले चाँडै ल्याउने भनेका थियौँ । तर प्राविधिक कठिनाइले गर्दा ल्‍याउन सकेनौँ । तर अब अन्तिम चरणमा काम भइरहेको छ । भदौको अन्तिमदेखि सबैले चलाउन सक्छन् ।' यो सेवाअन्तर्गत सामाजिक सञ्जालका एप्लिकेसन लगायत टेलिफोन, भिडियो च्याट जस्ता एप्लिकेसन छन्। साढे दुई वर्षअघि टेलिकमले फेसबुकजस्तै सामाजिक सञ्जाल 'एनटी चौतारी' बनाएको थियो। त्यतिखेर परीक्षणकै क्रममा रहेको त्यो सञ्जाल टेलिकम सञ्चालक समितिका तत्कालीन पदाधिकारी र कर्मचारीले सञ्चालनमा ल्याउन रोक लगाएका थिए। संसारभरिका ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनीले आफ्ना ग्राहकलाई सजिलो बनाउन विभिन्न एप्लिकेसनहरु बनाएर त्यसबाटै सेवा दिन्छन् । इन्टरनेटमा स्थानीय विषयवस्तु (कन्टेन्ट) हरु दिन सकेमा डलर तिरेर किनेको ब्यान्डविथ बचत हुने भएकोले टेलिकम यो काममा अघि बढेको प्रवक्ता प्रधान बताउँछिन् । उनी भन्छिन्, 'यो सेवाले अन्तर्राष्ट्रिय र लोकल व्यान्डविथको बचत हुन्छ ।' अहिले नेपालका दूरसञ्चार कम्पनी, इन्टरनेट सेवा प्रदायकले किनेको ब्यान्डविथको झन्डै आधा फेसबुक र ट्विटरमा मात्रै खर्च भइरहेको छ। ब्यान्डविथ खर्च कम गर्न र टेलिकमका सेवाहरु एकीकृत रुपमा एउटै साइटमार्फत दिन यो सेवा सुरु गर्न लागिएको टेलिकम प्रवक्ता प्रधान बताउँछिन् । यो दुई वर्षअघि नै ल्याउने भनिएपनि तत्कालीन सञ्चालक समितिका अध्यक्ष अवनिन्द्रकुमार श्रेष्ठले टेलिकमले यस्तो सेवा चलाउनु हुदैन भनेर निर्णय हुन दिएका थिएनन् ।   श्रेष्ठको ठाउँमा सूर्य सिलवाल सञ्चालक समितिको अध्यक्ष बनेपछि यस प्रकारको नयाँ सेवा सुरु गर्नुपर्छ भन्नेमा उनी सकारात्मक देखिएपछि टेलिकमले फेरि सिस्टम किन्ने प्रक्रिया अघि बढाएको थियो ।   युसिएसका लागि टेलिकमले टेन्डर आव्हान गर्दा एउटैमात्र टेन्डर परेको थियो । भारतीय कम्पनी डिएनएले प्रस्ताव बुझाएको थियो । उसैले अहिले वेब साइट निर्माणको काम गरिरहेको छ । टेन्डर प्राप्त गर्ने कम्पनीले वेबसाइट, कन्टेन्टको डिजाइन गरेर टेलिकमलाई उपलब्ध गराउनुपर्ने हुन्छ। यसका लागि टेलिकमले झन्डै १२ करोड रुपैयाँ बजेट राखेको छ। ल्यान्डलाइन, मोबाइल, एडिएसएल, वाइम्याक्स सेवा लिने ग्राहकलाई दिइने यस्तो एप्लिकेसन कम्प्युटर र मोबाइल दुवैमा सञ्चालन हुने गरी तयार गर्ने योजना टेलिकमको छ। ग्राहकले वेबसाइट वा एप्लिकेसनबाट दैनिक रुपमा तोकेर निशुल्क वेब एसएमएससमेत गर्न दिने तयारी टेलिकमले गरेको छ भने कतिपय एप्लिकेसन चलाउन भने पैसा तिर्नुपर्ने हुन्छ । 'वेबसाइटमा भएका एप्सहरु सित्तैमा चलाउन दिने कि शुल्क लिने भन्नेमा दुविधा छ, 'प्रधानले भनिन्, 'शुल्क लिने हो भने पनि ट्यारिफबारे बोर्ड बैठकमा छलफल भइरहेको छ ।'   त्यसो त उनले यो साइट चलाउन डोमेनको नाम नजुरेकोले पनि ढिला भएको बताइन् । प्रधानका अनुसार आन्तरिक र बाह्य रुपममै राम्रो नाम जुराउन भनिएको छ । 'नेपाली कला, संस्कृतिसँगै नेपाल टेलिकमको पनि केही प्रतिक आओस भन्ने खालको नामको खोजी भइरहेको छ ।'   
के हो युसिएस ?
विभिन्न रेञ्जका प्रविधि र एप्लिकेसनलाई एउटै सिंगल कम्युनिकेसन प्लेटफर्मका रुपमा डिजाइन गरेर बिक्री गर्ने र तिनको सपोर्ट समेत गर्ने सिस्टम नै युसिएस हो । एकीकृत डाटा, भिडियो र भ्वाइसलाई एकै स्थानबाट सपोर्ट गर्न सकिने किसिमले यो बनाइएको छ । प्रयोगकर्ताले इमेल, एसएमएस, भिडियो, फ्याक्स, भ्वाइस र अन्य सेवालाई एउटै प्लेटफर्ममा प्रयोग गर्न सक्नेछन् । 'यो एउटा अनलाइन सर्भिस, प्लेटफर्म तथा साइट पनि हो,' प्रवक्ता प्रधान भन्छिन्, 'जसले विभिन्न व्यक्तिबीच सोसल नेटवर्क तथा सोसल रिलेसन कायम गराउँछ ।' यसले प्रयोगकर्ताबीच इमेल तथा इन्स्ट्यान्ट म्यासेजिङको सहयोगले इन्टरनेटमा अन्तरक्रिया गर्न मद्दत गर्छ । विभिन्न सेवालाई डेस्कटप पिसीमा प्रयोग गरिरहेको भए त्यही सेवालाई स्मार्टफोन, पिडिए, ल्यापटप र अन्य वायरलेस डिभाइसमा समेत प्रयोग गर्न यसले सघाउँछ ।
नेपाल टेलिकममा युसिएस 
यो सेवा प्रारम्भमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्तालाई उपलब्ध गराइनेछ । प्रवक्ता प्रधानका अनुसार नेपाल टेलिकमको कुनै कुनै सेवा प्रयोग गरेको व्यक्तिले युसिएसमा लगइन गर्न सक्छन् । सुरुमा 'बेसिक' र 'प्रिमियम' गरि दुई प्रकारको सेवा वितरण गरिने कम्पनीको योजना छ । बेसिक सर्भिस अन्तर्गत अहिले फेसबुक वा ट्वीटर जस्ता सामाजिक सञ्जालमा प्रयोग गर्न सकिने स्ट्याटस अपडेट, सेयरिङ, लाइक, अनलाइक, कमेन्ट, च्याट आदि गर्न सकिन्छ । यसैगरी फ्रेन्ड र फ्रेन्ड ग्रुप बनाउन, ग्रुप डिस्कसन गर्न र ग्रुप च्याट गर्न, फोटो तथा भिडियो अपलोड/डाउनलोड गर्न तथा सेयरिङ गर्न, वेब एसएमएस तथा टेक्स्ट म्यासेज पठाउन, विभिन्न प्रकारका एप्लिकेसन डाउनलोड गर्न र भ्वाइस मेल सेवा समेत लिन सकिन्छ । प्रिमियम प्याकेज भने ग्राहकको अनुरोधमा मात्रै दिन सकिने कम्पनीको भनाइ छ । यो प्याकेजमा एकैपटक धेरै जनालाई एसएमएस पठाउनका लागि बल्क एसएमएस सेवा तथा आइपी कलको सुविधा समेत उपलब्ध हुन्छ । 

No comments:

Post a Comment