Monday, June 13, 2011

टेलिफोन लाइनबाट आइपी टिभी..

काठमाडौं, जेठ ३० (नागरिक) - इन्टरनेटको माध्यमबाट टेलिभिजन प्रसारण हुने गरी आइपी टिभी सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल टेलिभिजनले सहकार्य थालेका छन्। समाचार र सांगितीक कार्यक्रम समेत चलाउने गरी टेलिकमले आइपी टिभी चलाउन सरकारी स्वामित्वको नेपाल टेलिभिजनसँग प्रस्ताव गरेको छ। 'टेलिभिजनको इन्जिनियरिङ महाशाखाले यो विषयमा छलफल सुरु गरिसकेको छ,' नेपाल टेलिभिजनका एक बोर्ड सदस्यले नागरिकसँग भने। आइपी टिभीमार्फत इन्टरनेटबाट लाइभ टिभी प्रसारण, भिडिओ अन डिमान्ड, रेकर्डेड कार्यक्रमहरु हेर्न सकिन्छ। छिमेकी मुलुक चीन, भारत, पाकिस्तान, श्रीलंकालगायत देशहरुमा समेत आइपी टिभी सुरु भइसकेको छ। यो टिभी प्रसारणको माध्यम परम्परागत स्याटेलाइट र टेरेस्टेरियलको सट्टा इन्टरनेटमार्फत हुनेछ। आइपी टिभी प्रसारण गर्नको लागि दुई वर्ष अघि चीनको जेडटीई र अमेरिकाको युटिस्टार कम्पनीले पनि टेलिकमसँग प्रस्ताव राखेका थिए। तर त्यतिबेला यो कार्यक्रम अघि बढ्न सकेको थिएन। टेलिकम र नेपाल टेलिभिजन दुवै सरकारी संस्था भएकोले सहकार्य सुरु गर्न सजिलो भएको टेलिकमका अधिकारीहरुले बताएका छन्। यो कार्यक्रम तत्काल अघि बढ्यो भने छुट्टै केवुल लाइन लिने झन्झट कम हुनेछ। रेकर्डेड पनि हुने भएकोले ग्राहकले मन पर्ने कार्यक्रम पछि पनि हेर्न सक्नेछन्। साधारण र मोबाइल टेलिफोन सेवा दिने सबैभन्दा ठूलो कम्पनी टेलिकमले दुई महिनाअघि अर्को पुस्ताको नेक्स्ट जेनेरेसन नेटवर्क (एनजिएन) अन्तर्गत केबल टेलिभिजनको सुरुआत गर्ने सार्वजनिक गरेको थियो। टेलिफोनको तारबाटै अहिले एडिएसएल मार्फत दु्रत गतिको इन्टरनेट टेलिकमले वितरण गरिरहेको छ। टेलिकमले आइपी टिभी थप गरेर लाइभ र रेकर्डेड टेलिभिजन कार्यक्रमसमेत ग्राहककहाँ पुर्‍याउने तयारी सुरु गरेको हो।'टेलिकमले आइपी टिभी सुरु गरेपछि तारवाला टेलिफोनका ग्राहकले केबुल टिभीका लागि छुट्टै लाइन लिनुपर्ने छैन,' टेलिकम स्रोतले भन्यो। टेलिकमले यो सेवा सुरु गरेपछि एउटै तारबाट कुराकानी गर्ने टेलिफोन, इन्टरनेट र केबुल टिभीसमेत प्रयोग गर्न सकिने छ। टेलिकम र टेलिभिजन मिलेर गर्न लागेको यो प्रविधि अहिले प्रारम्भिक चरणमै रहेको छ। यसको लागि गर्नुपर्ने लगानी र त्यसबाट प्राप्त हुने आम्दानीका विषयमा छलफल हुन बाँकी रहेको स्रोतले बतायो। आइपी टिभीका लागि ५० देखि ६० करोड रुपैयाँ प्रारम्भिक लगानी गर्नुपर्ने अनुमान छ। भारतमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एअरटेलले गत वर्षको माघ पहिलो सातादेखि आइपी टिभी सुरु गरेको छ। एअरटेलले टेलिफोन तारबाटै एक सय च्यानल टिभी सेटसम्म पुर्‍याइरहेको छ। सुरुको चरण भएकाले शुल्क च्यानलको संख्याअनुसार कम्तिमा ६ सय देखि १ हजार भारुसम्म तोकिएको छ।

No comments:

Post a Comment