Tuesday, June 14, 2011

टेलिकमले इन्टरनेट ब्यान्डविथ बढाउने

टेलिकमले इन्टरनेट ब्यान्डविथ बढाउने
काठमाडौं, असार १ (नागरिक)- इन्टरनेट सेवा निकै सुस्त भएपछि नेपाल टेलिकमले ब्यान्डविथ दोब्बर पार्ने भएको छ। एडिएसएल, जिपिआरएस सेवा केही समययता ज्यादै सुस्त भएपछि टेलिकमले ब्यान्डविथ दोब्बर पार्ने निर्णय गरेको हो। टेलिकमले यसै साताभित्र आफ्नो इन्टरनेटको ब्यान्डविथलाई चार गिगाबिट प्रति सेकेन्ड बनाउने सम्झौता गरेको छ। भारतीय कम्पनीसँग यही साताभित्र ब्यान्डविथ बढाउने सम्झौता भइसकेको टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले बताए। ब्यान्डविथ इन्टरनेटको ठूलो माध्यम हो। 'यो खानेपानीको पाइपजस्तै हो, जसबाट ठूलो मात्रामा पानी आउँछ र मेनलाइन, शाखा लाइन हुँदै उपभोक्ताको घरसम्म पुग्छ,' टेलिकम सूचना प्रविधि निर्देशनालयका निर्देशक लोचनलाल अमात्यले भने। खानेपानीको पाइपमा टन्न पानी भए जसरी उपभोक्ताको घरमा रहेको धारामा फोर्सले पानी जान्छ त्यसैगरी ब्यान्डविथ बढी हुँदा इन्टरनेटको स्पिड पनि त्यस्तैगरी बढ्ने सूचना प्रविधिका विज्ञहरुले बताएका छन्। ब्यान्डविथ बढी हुँदा इन्टरनेटको स्पिड बढी हुन्छ भने यो कम भयो भने इन्टरनेट सुस्त हुन्छ। पछिल्लो समयमा टेलिकमको इन्टरनेट सुस्त भएको, कनेक्सनमा समस्या देखिएपछि त्यसलाई सुधार्न बढी ब्यान्डविथ लिने सम्झौता टेलिकमले गरेको हो। ब्यान्डविथ बढेपछि अहिलेभन्दा इन्टरनेटको स्पिड बढ्ने टेलिकमका अधिकारीहरुले बताएका छन्। एडिएसएल, जिपिआरएस, सिडिएमए र थि्रजी डाटाकार्डबाट इन्टरनेट सेवा दिइरहेकोमा सबै सेवाको स्पिड अहिलेभन्दा बढ्ने दाबी टेलिकमको हो। अहिले १९२ किलोबिट प्रतिसेकेन्ड स्पिडको एडिएसएस चलाउने ग्राहकले ३/४ किलोबिटभन्दा बढी पाउन नसकेको गुनासो गरिरहेका छन्। स्रोतका अनुसार भारतको दुई प्रमुख ब्यान्डविथ कम्पनीसँग यसैसाता टेलिकमले सम्झौता गरिसकेको छ। 'पहिलेभन्दा ब्यान्डविथको मूल्य अन्तर्राष्ट्रिय रुपमा घटेकाले अहिले अब चार जिबी बनाएका छौं,' सूचना प्रविधि निर्देशनालयका निर्देशक अमात्यले भने। टेलिकमले तीन महिना अघि एक जिबी व्याण्डविथ थपेको थियो। त्यतिखेर सस्तोमा पाएकाले १२८ केबिपिएसका एडिएसएल ग्राहकको लागि त्यति नै महसुलमा १९२ केबिपिएस ब्यान्डविथ उपलब्ध गराएको थियो। १९२ केबिपिएसको ब्यान्डविथ एडिएसलको लागि एक हजार १७ रुपैयाँ महसुल ग्राहकले तिर्नुपर्छ। इन्टरनेटका उपभोक्ता बढिरहेको र फेसबुकजस्ता साइटहरुले गर्दा ब्यान्डविथको खपत बढेपछि बढाउने निर्णय भएको हो। टेलिकमले १० वर्षअघि इन्टरनेट सुरु गर्दा प्रति मेगाबिटको लागि मासिक एकहजार दुईसय डलर तिरेकोमा अहिले घटेर बढीमा एकसय ५० डलरमात्र पर्छ। टेलिकमले तिर्ने ब्यान्डविथको यो मूल्य पनि विकसित देशहरुको तुलनामा निकै महँगो हो। स्रोतका अनुसार टेलिकमले भारतको टाटा कम्युनिकेसन र एअरटेलसँग व्याण्डविथ किनेको हो। अप्टिकल फाइबर केबुलमार्फत भैरहवा र वीरगन्जमा व्याण्डविथ नेपालमा जोडिनेछ। अप्टिकल फाइबर भ्वाइस र डाटा प्रसारण हुने सबैभन्दा द्रुत माध्यम हो। हरेक महिना टेलिकमले एक एसटिम बराबर ब्यान्डविथ थप गरिरहेको छ। एक एसटिएममा १५५ मेगाबिट प्रतिसेकेन्ड स्पिड हुन्छ। चैतसम्म टेलिकमका एडिएसएल ग्राहक ५८ हजार सातसय छन्। जिपिआरएस, इभिडिओ, थि्रजी, डायलअप सबै प्रकारका गरी इन्टरनेट ग्राहक नौ लाख ४९ हजार छन्।

No comments:

Post a Comment