Thursday, June 23, 2011

कल बाइपासमा टेलिकम कर्मचारीकै संलग्नता


नयाँ पत्रिका काठमाडौं, ८ असार, भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भिओआइपी) मार्फत कल बाइपास गर्ने गिरोहसँग नेपाल टेलिकम कर्मचारीको समेत संलग्नता देखिएको छ । भिओआइपी सञ्चालन गर्ने गिरोहलाई कागजाजविनै टेलिकमका कर्मचारीले सिमकार्ड वितरण गरी सहयोग गरेका हुन् । आर्थिक प्रलोभनमा परी त्यसरी सिमकार्ड दिने टेलिकमका सात कर्मचारीलाई कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सिफारिस गरेको छ ।
कारबाहीका लागि सिफारिस भएका कर्मचारीहरूमा शिव उप्रेती, लक्ष्मी श्रेष्ठ, रामप्रसाद दाहाल, अच्युत रिजाल, श्रीनारायण यादव, राजेन्द्र वाग्ले र रामचन्द्र अवस्थी छन् । सिमकार्ड वितरणमा 'उनीहरूको बदनियत देखिएकाले' सिआइबीले कारबाहीको सिफारिस गरेको हो । कल बाइपाससम्बन्धी अनुसन्धानमा संलग्न सिआइबीका प्रहरी अधिकारीका अनुसार कल बाइपासमा प्रयोग भएका सिम वितरणमा र्फम र नागरिकतामा फरक-फरक नाम रहेको छ । त्यतिमात्र होइन, महिलाको नाममा र्फम भरेर पुरुषको फोटो टाँसिएको भेटिएको थियो । 'जानीजानी टेलिकमका कर्मचारीले जथाभावी सिम वितरण गरेको तथ्य फेलापरेपछि हामीले कारबाहीका लागि सिफारिस गरेका हौँ,' सिआइबीका डिआइजी राजेन्द्रसिंह भण्डारीले बताए । मेनपावर कम्पनीमा भिसाका लागि बुझाइएका पासपोर्टको फोटोकपीकै आधारमा भिओआइपी सञ्चालकले सिमकार्ड लिएको सिआइबीले जनाएको छ ।
कल बाइपासविरुद्ध सिआइबीले अपरेसन भ्वाइस फक्स नामक कार्यक्रमअन्तर्गत कारबाही गर्दै आएको छ । १० महिनाको समयावधिमा सिआइबीले २३ वटा कल बाइपास सेन्टरमा छापा हानी ५० जना पक्राउ गरिसकेको छ । समातिएकामध्ये ३६ विदेशी नागरिक छन् । सो अवधिमा ११ हजार पाँच सय २५ वटा सिमकार्ड बरामद गरेको छ । बरामद सिमकार्डमध्ये सबैभन्दा धेरै एनसेलका छन् । एनसेलका नौ हजार दुई सय १७, नेपाल टेलिकमका एक हजार नौ सय ६६, युटिएलका दुई सय ३३, स्मार्ट सेलका १५ र ३० विदेशी सिम बरामद गरिएको सिआइबीका डिएसपी ओमप्रसाद अधिकारीले बताए । प्रतिस्पर्धाका कारण मोबाइल कम्पनीले यथेष्ट कागजातविनै सिम दिने भएकाले कल बाइपासलगायतका अपराधमा सिमकार्डको दुरुपयोग बढेको प्रहरी अधिकारीहरू बताउँछन् । अन्य कम्पनीको तुलनामा एनसेलका सिमकार्ड सजिलै पाइने भएकाले सो कम्पनीका सिमकार्ड धेरै प्रयोग भएको प्रहरीको भनाइ छ ।

मोबाइलबाट हुने अपराध नियन्त्रणका लागि भारतमा सिम लिनका लागि पहिले सिम लिइसकेकाले कम्तीमा दुईजनाको सिफारिस चाहिन्छ भने सिम लिन व्यक्ति स्वयं उपस्थित हुनुपर्छ । नेपालमा भने नागरिकताको फोटोकपीकै आधारमा मोबाइल कम्पनीले सिम बेच्दै आएका छन् । त्यसकारण प्रहरीले नेपाल दूरसञ्चार प्राधिकरण र सम्बन्धित मोबाइल कम्पनीलाई पहिले वितरण भएका सिमलाई सम्बन्धित प्रयोगकर्ता बोलाएर पुनः दर्ता गराउन अनुरोध गरेको छ । त्यसो गर्दा अरुको नाममा सिम लिएर मोबाइलमार्फत आपराधिक क्रियाकलाप घट्ने प्रहरी अधिकारीको भनाइ छ ।

अर्का इन्टरनेट सञ्चालक पक्राउ

इन्टरनेट सेवा प्रदायक ग्लोबल इन्टरनेट सर्भिसेजले कल बाइपास गरी टेलिकम र सरकारलाई अर्बाै घाटा लगाएको पत्ता लगाएको केही दिनमै अर्का इन्टरनेट सेवा प्रदायक कम्पनीका सञ्चालकलाई प्रहरीले पक्रेको छ । नेट प्लसका सञ्चालक राकेश गिरी र उनका छोरा गिरीश गिरीलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो । जैसीदेवलमा सञ्चालित कल बाइपास सेन्टर बाबुछोराले सञ्चालन गरेको थाहा पाएपछि प्रहरीले उनीहरूलाई पक्रेको हो । त्यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले शुक्रबार जैसीदेवलमा छापामारी कल बाइपासका लागि प्रयोग हुने विभिन्न सामानसहित चारजनालाई पक्रेको थियो । पक्राउ पर्नेमा बालकुमार लुङ्गेलीमगर, दीपक सिंजाली, नरेश मगर, राजेश गिरी र दीपक गिरी रहेका छन् । उक्त सेन्टरको व्यवस्थापक प्रेमबहादुर मगराती रहेको पत्ता लागेपछि प्रहरीले मगरातीलाई अनामनगरबाट पक्राउ गरेको थियो ।

मगरातीसमेत नेट प्लस सञ्चालक गिरीको निर्देशन र लगानीमा उक्त काममा आबद्ध भएको खुलेपछि भैँसेपाटीस्थित घरबाट बाबुछोरालाई शुक्रबारै पक्राउ गरिएको सिआइबीका डिएसपी अधिकारीले बताए । उनीहरू कल बाइपासमा संलग्न 'टप फाइभ' गिरोहमध्ये एक भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । सञ्चालक गिरी इन्जिनियर हुन् । यसअघि पनि दुईपटक उनीहरू कल बाइपास अभियोगमा पक्राउ परिसकेका थिए । यसअघि उनीहरूले कुपण्डोलमा कल बाइपास गर्दै आएका थिए । उनीहरूले अन्य ठाउँबाट समेत कल बाइपास गरेको हुन सक्ने शंकामा थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताए । पहिले उनीहरूले ग्लोबल इन्टरनेट सर्भिस सञ्चालन गरेकोमा पछि भोलाकिशोर डंगोललाई बेचेर नेट प्लस सुरु गरेका थिए । ग्लोबल नेटका सञ्चालक डंगोलसमेत कल बाइपासमा प्रहरीको मोस्ट वान्टेड सूचीमा छन् ।

दुवैका सञ्चालकले कल बाइपासमार्फत करोडौँ कमाएको देखिएकाले उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण ऐनअनुसार कारबाहीका लागि राजस्व अनुसन्धान विभागलाई आग्रह गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समयमा मोबाइल कम्पनी, इन्टरनेट सेवा प्रदायकसँग मिलेर संयुक्त कार्यदल बनाइ कल बाइपासविरुद्ध कारबाही गर्दै आएको छ । पहिले बंगलादेशी नागरिकद्वारा सञ्चालित कल बाइपास सेन्टरमा प्रहरीले छापा हान्ने गरेकोमा पछिल्लो समयमा नेपाली नै कल बाइपास धन्दामा संलग्न रहेको खुल्न थालेको छ ।

No comments:

Post a Comment