Monday, June 13, 2011

टेलिकमका सबै सेवाको एउटै बिलिङ सफ्टवेयर

टेलिकमका सबै सेवाको एउटै बिलिङ सफ्टवेयर
रामचन्द्र भट्ट, काठमाडौं, जेठ ३० - नेपाल टेलिकमले आफ्नो सबै सेवाको महसुल ग्राहकले एकै ठाउँबाट तिर्नसक्ने गरी सफ्टवेयर किन्ने तयारी गरेको छ। कन्भरजेन्स बिलिङ नामको यो प्रविधिको लागि सिंगापुरको एसिया इन्फोलाई आसयपत्र टेलिकमले दिएको छ। यो कम्पनीले टेलिकमलाई कन्भरजेन्स बिलिङ सफ्टवेयर बेच्न गरेको प्रस्ताव सबैभन्दा सस्तो परेपछि आसयपत्र दिने निर्णय भएको टेलिकम स्रोतले बतायो। यो सफ्टवेयर जडान भएपछि नेपाल टेलिकमको विभिन्न सेवाहरुको महसुल तिर्न छुट्टाछुट्टै काउन्टरमा जानुपर्ने झन्झट अब समाधान हुनेछ। यसबाट एकै परिवारका सदस्य ग्राहकले प्रयोग गर्ने अलगअलग सेवाको लागि एउटै बिलिङ हुनेछ। टेलिकमले पहिलो चरणमा यो प्रविधि तारवाला टेलिफोन र मोबाइल फोनमा सुरु गर्ने तयारी गरिरहेको छ। पहिलो चरणमा तारवाला टेलिफोन (पिएसटिएन) र मोबाइलको बिलिङ एउटै सिस्टममा सुरु भए पनि पछि एडिएसएल, सिडिएमए फोनको पनि एउटैमा गर्न सकिन्छ। देशभरि एउटै बिलिङ हुन दुईदेखि तीन वर्षसम्म लाग्ने टेलिकमको अनुमान छ। यस्तो सिस्टम लागु भइसकेपछि ग्राहकले आफुले प्रयोग गर्ने टेलिकमका सबै सेवाको बिलिङ एउटैमा गरेर एकै ठाउँबाट महसुल तिर्न सक्छन्। अहिले जस्तो महसुल तिर्न पनि छुट्टै काउण्टरहरुमा पुगिरहनुपर्दैन। अहिले पिएसटिएन फोन, मोबाइल, सिडिएमए, एडिएसएलको महसुल तिर्न ग्राहक छुट्टाछुट्टै काउण्टरमा पुग्नुपर्छ। यसो गर्दा ग्राहकले अनावश्यक रुपमा समय खर्च गरिरहनुपरेको छ। 'ग्राहकको समय वचत हुने र एउटै बिलिङले गर्दा तिर्न पनि सजिलो हुने भएकाले यो सिस्टममा जान लागेका हौं,' अमात्यले भने। एउटै बिलिङमा जान ग्राहकले आफ्नो टेलिफोन नम्बरहरु टेलिकममा टिपाउनुपर्ने हुन्छ। त्यसले अहिले छुट्टाछुट्टै बिलिङ हुने मोबाइल, पिएसटिएन, सिडिएमए, एडिएसएलको बिलिङ एउटैमा तयार भएर ग्राहकले पाउँछन्। पुरै कम्प्युटराइज हुने यो सिस्टममा देशभरि जहाँको फोन भएपनि ग्राहकले चाहेको ठाउँबाट हेर्न र तिर्न सक्नेछन्। टेलिकमले बिलिङलाई आधुनिक गर्ने क्रममा परिवारका सबै सदस्यहरुको मोबाइललाई नियन्त्रण गर्ने सिस्टम समेत ल्याउने भएको छ। यो सिस्टममा परिवारका मुलिको मोबाइललाई मास्टर कन्ट्रोलरको रुपमा लिएर त्यसैमा अरु मोबाइलको बिलिङ जोडिएर आउने, रिचार्ज गर्ने, कल नियन्त्रण गर्ने लगायत सुविधा राखिनेछ। 'अनावश्यक कल गर्न नियन्त्रण गर्ने, रिचार्ज समेत मुलिले मात्र गर्नसक्ने व्यबस्था गर्नेगरि नयाँ प्रविधि टेलिकमले ल्याउँदैछ,' अमात्यले भने। यो सिस्टमबाट भरखरै कलेज जीवन सुरु गरेका विद्यार्थीका अभिभावकलाई सजिलो हुनेछ। छोराछोरीले आफ्नो मोबाइलमा रिचार्ज समेत गर्न नसक्नेगरि अभिभावकले पुरै नियन्त्रण गर्न सक्नेछन्। अहिलेको बिलिङ सिस्टममा सुधार गर्न र पुरै आधुनिक गर्न टेलिकमले दुईअर्ब रुपैयाँ लगानी गर्नुपर्ने अनुमान गरेको छ।

No comments:

Post a Comment