Monday, July 4, 2011

टेलिकमले ल्याउने भो फेसबुकजस्तै चौतारी

टेलिकमले ल्याउने भो फेसबुकजस्तै चौतारी (NT Chautari is going to be realesed soon) नागरिक
रामचन्द्र भट्ट, काठमाडौं, असार २१- फेसबुक र ट्विटरजस्ता इन्टरनेट सामाजिक सञ्जाल संसारभरि लोकप्रिय भइरहेका बेला त्यस्तै नेपाली साइट तयार भएको छ। 'चौतारी' नाम दिइएको सञ्जाल नेपाल टेलिकमले आन्तरिक परीक्षण गरिरहेको छ।
'यो फेसबुकजस्तै सामाजिक सञ्जाल हो, नेपालमै कन्टेन्ट बनाएर यसलाई सञ्चालन गर्न लागेका छौँ,' टेलिकम सूचना प्रविधि निर्देशनालयका डेपुटी मेनेजर सरोजकुमार शाक्यले भने। फेसबुक, ट्विटर, माइस्पेसजस्ता साइटको सर्बर अमेरिकामा रहे पनि चौतारीको नेपालमै राखिएको छ।
http://chautari.ntc.net.np/ ठेगाना रहेको यो साइटमा फेसबुकका सबै सुविधा उपलब्ध हुनेछन्। साथी बनाउने, च्याट रुम, ग्रुप बनाउने, फोटो सेयर गर्नेमात्र होइन, चौतारीबाट नेपाल टेलिकमका मोबाइल ग्राहकले निःशुल्क एसएमएस आदानप्रदान गर्न पाउनेछन्।
'चौतारीमा सदस्य बनेपछि दैनिक १० वटा मोबाइल एसएमएस निःशुल्क पठाउने सुविधा राखिएको छ,'शाक्यले भने। सुरुमा १० लाख सदस्य अटाउन सक्ने गरी यसको क्षमता बनाइएको छ। आवश्यकताअनुसार क्षमता बढाउँदै लैजाने योजनामा टेलिकम छ। फेसबुक अहिले नेपालमा सबैभन्दा बढी हेरिने साइट हो। यस सञ्जालले टेलिकमको इन्टरनेट ब्यान्डविथ खपत ह्वात्तै बढाएपछि नेपालभित्रै सर्बर राखेर चौतारी बनाइएको हो।  फेसबुकलगायत साइट खोल्न पहिले अमेरिकामा रहेको फेसबुक सर्बर पुग्नुपर्छ। यो बाध्यताले डलरसमेत बाहिरिने गरेको छ।
टेलिकमका अधिकांश इन्टरनेट ग्राहक कम्प्युटरमा बस्नेबित्तिकै फेसबुक खोल्ने गरेको पाइएको छ। 'अनलिमिटेड' इन्टरनेटका ग्राहक अधिकांश समय फेसबुक अनलाइनमा हुन्छन्। फेसबुक खोलेर अरू साइट हेर्ने र अरू नै काम गर्ने बढ्दो प्रवृत्तिले ब्यान्डविथको खपत बढेको छ। फेसबुक अहिले टेलिकमकै समस्या बनेको छ। भर्खरै टेलिकमले थपेको तीन जिबी ब्यान्डविथसमेत फेसबुकले गर्दा सबै खपत भएर इन्टरनेट सुस्त भएको छ।

टेलिकममा फेसबुक ब्लक
अत्यधिक ब्यान्डविथ लिएर समस्या बढाएपछि नेपाल टेलिकमका कार्यालयहरूमा फेसबुक 'ब्लक' गरिएको छ। नेपालभित्रै सर्भर भएको र यहीँको कन्टेन्ट भएको साइट तयार नभएसम्म महँगो ब्यान्डविथ खपत बढिरहने समस्या हटाउन नेपाली साइट चौतारी सुरु गर्न लागेको टेलिकमले जनाएको छ। यो सामाजिक सञ्जालको अवधारणादेखि सञ्चालनका लागि टेलिकमको सूचना प्रविधि निर्देशनालयले एक दर्जन प्राविधिक परिचालन गरेको छ।
साइट सुरु गर्न दुई महिना लाग्ने शाक्यले बताए। यसमा दर्ता भएपछि ग्राहकको गोपनीयता सुरक्षित हुने विश्वास जगाउन केही समय लाग्ने भएकाले अहिले कर्मचारीबीच नै प्रयोग गरेर प्रतिक्रिया लिइरहेको टेलिकमले जनाएको छ। टेलिकमले नेपालबाट बढी हेरिने साइटबारे विवरण लिएर त्यस्तै कन्टेन्ट राखेर नेपालमै नेपाली साइट विकास गर्ने तयारी गरिरहेको छ। टेलिकमले गुगलसँग मिलेर भिडियो साइट युट्युबको 'गुगलकेच' सर्भर नेपालमा राख्ने अन्तिम तयारीमा छ।
'गुगलले गुगलकेचको अन्तिम तयारी गरिरहेको छ, त्यसपछि यही साइटबाट भिडियो डाउनलोड, अपलोड गर्न सकिन्छ,' उनले भने। टेलिकमले माइक्रोसफ्टसँग विन्डोजको अपडेटसमेत नेपालबाटै हुने प्रविधि राखेको छ। माइक्रोसफ्टका कुनै पनि अपडेटका लागि अब अमेरिकामा रहेको यसको सर्भर पुग्नुपर्दैन। नेपाल टेलिकममा रहेको यसको सर्वरले नै अटोमेटिक काम गरिदिन्छ।

1 comment:

  1. Hope it would be able to kick the Sky of all other social network in Nepal.

    ReplyDelete