Monday, July 11, 2011

नेपाल टेलिकम, नेपाल पुलिस क्लबको मुख्य प्रायोजक !!

नेपाल टेलिकमद्वारा पुलिसलाई १६ लाख                                Nepal Telecom sponsors NPC
काठमाडौं, असार २७ (नागरिक)- सहिद स्मारक ए डिभिजन लिग उपाधि रक्षा संघारमा रहेको नेपाल पुलिस क्लबलाई नेपाल टेलिकमले सोमबारबाट मुख्य प्रायोजन गरेको छ। एक वर्षको प्रायोजन वापत टेलिकमले पुलिसलाई १६ लाख रुपैयाँ उपलब्ध गराउनेछ। नेपाली फुटबलमा यो दोस्रो ठुलो राशीको मुख्य प्रायोजन हो। मेगा बैंकले थ्री स्टारलाई लाई गरेको बार्षिक १६ लाख ७५ हजार रुपैयाँ अहिले सम्मको सर्वाधिक मुख्य प्रायोजन रकम हो। यति एयर लाइन्सले हिमालयन शेर्पासँग १५ लाख रुपैयाको सम्झौता गरेको थियो।
टेलिकमले कुनै पनि फुटबल टोलीलाई प्रायोजन गरेको यो पहिलो पटक हो। टेलिकमका प्रबन्ध निर्देशक विश्वनाथ गोयल र प्रहरी महानिरिक्षक रवीन्द्रप्रताप शाहले सोमबार आयोजित कार्यक्रममा प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार पुलिसका खेलाडीले सबै खाले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिदा टेलिकमको लोगो अंकित जर्सीको प्रयोग गर्नेछन्। त्यस्तै टेलिकमले आफ्नो व्यवसाय प्रबर्द्धनका लागि तयार पार्ने विज्ञापन र प्रचार सामाग्रीमा पुलिसका खेलाडीलाई प्रयोग गर्न सक्नेछ।
टेलिकमका प्रबन्ध निर्देशक गोयल र महानिरीक्षक शाहले पुलिसका कप्तान जुमानु राईलाई क्लबले अब प्रयोग गर्ने निलो र रातो जर्सी हस्तान्तरण गरे।
महानिरीक्षक शाहले पुलिसले सम्झौताको अक्षरश पालना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले २ संगठनको सम्झौताले फुटबल विकास र टेलिकमको व्यवसायिक सफलतामा मद्दत पुग्ने विश्वास व्यक्त गरे।
खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएको पुलिससँगको सहकार्यले खुसी बनाएको भन्दै प्रबन्ध निर्देशक गोयलले पुलिसले सबै खाले प्रतियोगितामा सफलता पाउनेमा विश्वास व्यक्त गरे।
खेलकुद विकास र खेलाडी उत्पादनमा पुलिसको भुमिका महत्वपूर्ण रहेको चर्चा गर्दै महानिरिक्षक शाहले भने,' २००८ सालमा हाम्रो संगठनले फुटबल टिम गठन गर्ने एतिहासिक निर्णय सही थियो भन्ने प्रमाणित भएको छ।
२०६३ र २०६६-०६७ मा लगातार लिग जितेको पुलिस यसपटक ह्याट्रिकको संघारमा रहेको छ। लिगको अन्तिम दुई खेल बाँकी रहदा अपराजित पुलिस ४१ अंकका साथ शीर्षस्थानमा छ। पुलिसले बाँकी दुई खेलमा थ्री स्टार र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीको सामना गर्नेछ।

No comments:

Post a Comment