Wednesday, July 20, 2011

टेलिकमको ६० अर्ब बजेट अनुमोदन


गाउँगाउँमा ब्रोडब्यान्ड सेवा र एक करोड जीएसएम लाइन वितरण पहिलो प्राथमिकतामा
काठमाडौं, १ साउन
नेपाल टेलिकमले आर्थिक वर्ष २०६८/०६९ का लागि ६० अर्ब रुपैयाँ बजेट छुट्ट्याएको छ । कम्पनीको यसै साता बसेको सञ्चालक समितिको बोर्ड बैठकले चालू आवको तलब–भत्ता, प्रशासनिक कार्य, सेवा–सुविधा बिस्तार, पुराना कामको निरन्तरता, नयाँ कार्यक्रम लगायतका लागि यो रकम अनुमोदन गरेको हो ।
कम्पनीले चालू आवमा १ करोड लाइन ग्लोबल सिस्टम मोबाइल (जीएसएम) वितरण गर्ने लक्ष्य लिएको छ । ग्राहकको माग बढ्दै गएपछि कम्पनी ब्रिजिङ प्रोजेक्टका रूपमा १ करोड लाइन वितरण गर्ने तयारीमा छ । गत आर्थिक वर्षमा सुरु भई पूरा नभएका कामका लागि पनि कम्पनीले प्राथमिकता दिएको सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव श्रीधर गौतमले बताए । “ब्रोडब्यान्ड सेवा, १ करोड जीएसएम वितरण र कन्भरजेन्स बिलिङ यस वर्षका मुख्य कामअन्र्तगत पर्छन्,” सचिव गौतमले भने ।
कम्पनीले यसै आर्थिक वर्षदेखि मोबाइल र टेलिफोन बिल एउटै माध्यमबाट तिर्न मिल्ने पद्धति ‘कन्भरजेन्स बिलिङ’ सुरु गर्ने भएको छ । कन्भरजेन्स बिलिङका लागि परीक्षण कार्य सुरु भएको कम्पनीले जनाएको छ । कन्भरजेन्स बिलिङ कम्पनीले गत वर्षदेखि नै सञ्चालन गर्ने योजना बनाए पनि अहिलेसम्म सुरु हुन नसकेपछि चालू आवमा निरन्तरता दिन लागेको हो ।
टेलिकमले गत वर्ष ४८ अर्ब ७ करोड ११ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष प्रस्ताव गरिएको बजेट १२ अर्बले बढी हो । कम्पनीले यस वर्ष १ करोड जीएसएम लाइन वितरण गर्ने ठूलो योजना र ब्रोडब्यान्ड सेवा बिस्तारका लागि धेरै रकम खर्च हुने भएकाले अघिल्लो वर्षको तुलनामा धेरै बजेट विनियोजन गरेको जानकारी दिएको छ ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा ‘गाउँगाउँमा ब्रोडब्यान्ड, सबै सहरमा फोन अन डिमान्ड’ भन्ने नारालाई अभियानकै रूपमा अगाडि बढाउने उल्लेख गरेपछि कम्पनीले ब्रोडब्यान्ड सेवालाई थप प्राथमिकतामा राखेको छ । यो अभियानका लागि आवश्यक भौतिक पूर्वाधारको विकास गर्ने घोषणासमेत गरेपछि कम्पनीले गाउँ–गाउँमा ब्रोडब्यान्ड सेवा पु¥याउन छलछल थालिसकेको छ । प्रतिस्पर्धी बजारमा कम्पनीलाई दरिलो रूपमा अगाडि बढाउन वार्षिक बजेट ठूलो राखिएको कम्पनीले जनाएको छ ।
टेलिकमले ५० भन्दा बढी शीर्षकमा तयार पारेको ‘वार्षिक खर्च’ अनुमोदनका लागि सञ्चालक समितिमा पेस गरेकोमा सोहीबमोजिम स्वीकृत भएको छ । कम्पनीका प्रबन्ध निर्देशक विश्वनाथ गोयलले ४०–५० वटा योजना प्रस्तावित वार्षिक नीति तथा कार्यक्रममा समेटेको जानकारी दिँदै ग्राहकको गुनासो र सुझावलाई ध्यानमा राखेर मुख्य अभियानहरू अघि बढाएको बताए ।
कम्पनीले वार्षिक योजना तथा कार्यक्रमअन्तर्गत नै कतारको राजधानी दोहामा पोइन्ट अफ प्रिसेन्स ‘पीओपी’ स्थापना गरी खाडी मुलुकका दूरसञ्चार सेवा प्रदायकहरूसँग ‘पीओपी’मार्फत सीधा अन्तरआबद्धताका लागि तयारीसमेत गरेको छ । यस्तैगरी हङ्कङमा ‘पीओपी’ स्थापना गरी एसियाका अन्य देशका दूरसञ्चार सेवाप्रदायकहरूसँग अन्तरआबद्धता गर्ने प्रक्रिया अघि बढाएकोमा यो वर्ष भित्रै यसलाई पूर्णता दिनसमेत लागिपर्ने योजनामा समेटिएको छ ।
आगामी आर्थिक वर्षभित्र धेरै नेपाली बसोबास गर्दै आएका १० भन्दा बढी देशमा अन्तरआबद्धता गर्ने योजना अघि सारिएको छ । आईपी बेस्ड सीडीएमए नेवटर्कका लागि बोलपत्र आह्वान गरिसकेको टेलिकमले २० लाख लाइन खरिद, अप्टिकल फाइबरको केबललाई अझ सुरक्षित रूपमा बिस्तार गर्न विद्युतीय तारसँगै अप्टिकल केबल बिस्तार कार्यक्रमलाई पनि यही वर्ष पूर्णता दिने टेलिकमको योजना छ । टेलिकमले सबै जिल्लामा आफ्नो सेवा पु¥याइसकेको छ । 

No comments:

Post a Comment