Saturday, July 23, 2011

एककरोड मोबाइल चल्नसक्ने प्रविधि किन्ने निर्णय

एक करोड मोबाइल चल्नसक्ने प्रविधि किन्ने निर्णय
काठमाडौं, साउन ७ (नागरिक) - नेपाल टेलिकमले एक करोड लाइन जिएसएम मोबाइल वितरण गर्न सक्ने सम्पूर्ण स्टिमसहितका उपकरण किन्ने निर्णय गरेको छ।एक सातादेखि यसै विषयलाई लिएर बसेको बोर्ड बैठकले बिहीबार मोबाइल किन्न व्यवस्थापनलाई स्विकृति दिएको छ। स्रोतका अनुसार अब केही दिनभित्रै ग्लोबल रुपमा बोलपत्र आव्हान गर्ने तयारी टेलिकमले गरेको छ। 'बोर्डबाट एक करोड लाइन वितरण गर्ने मोबाइलका उपकरण किन्ने प्रस्ताव स्वीकृत भएकाले अब अघि बढ्ने योजनामा हामी छौं,' टेलिकमका एक उच्च अधिकारीले भने। एक करोड लाइन किन्नका लागि केही दिनभित्रै टेलिकमले टेण्डर आब्हान गर्नेछ। टेलिकमले पहिलो चरणमा ६० लाख र त्यसपछि ४० लाख मोबाइल किन्नेछ। पटक पटक किन्न टेण्डर गर्नुपर्दा लामो समय लाग्ने भएकोले झण्डै पाँच वर्षको माग धान्नेगरि एक करोड मोबाइल उपकरण किन्ने निर्णयमा टेलिकम पुगेको हो।एक करोड लाइन एकै पटक किन्दा आर्थिक रुपमा फाइदा हुने विश्लेषण टेलिकम अधिकारीको छ। धेरै लाइन एकै पटक किन्दा सस्तोमा सप्लायर्स कम्पनीले दिने संभावना रहन्छ। चार वर्ष अघि टेलिकमले ३५ लाख लाइन किन्दा जेडटीईले प्रति लाइन ३ अमेरिकी डलर तिरेको थियो। एकै पटक एक करोड लाइन किन्दा हुने फाइदा र घाटाका बारेमा बोर्डमा एक सातासम्म निकै ठूलो वहस समेत भएको थियो। केही सदस्यहरूले एककरोड लाइन एकै पटक किन्दा प्रविधिमा आउने परिवर्तनले गर्दा पछि समस्या हुनसक्ने भन्दै तत्काल दुई वर्षको माग धान्ने गरि मात्र किन्न सुझाव दिएका थिए। केही सदस्यहरूले भने पटक पटक टेण्डर गर्दा अख्तियार, सतर्कता केन्द्र जस्ता निकायले गर्ने अवरोधबाट सेवा विस्तारनै रोकिने स्थिति रहेेकोले संस्थालाई टिकाउनको लागि एकै पटक किन्नुपर्ने धारणा राखेका थिए। एकै पटक एक करोड लाइन किन्ने सम्झौता गर्दा सस्तो पनि पर्ने भएकोले सञ्चालक समितिले व्यबस्थापनलाई टेण्डर तत्काल गरेर अघि बढ्न निर्देशन समेत दिएको छ। टेलिकमले अहिले कुराकानी, एसएमएस, जिपिआरएस मात्र चल्ने टूजी, भिडियो कुराकानी हुने र उच्च गतिको इन्टरनेट चल्ने थ्रीजी मात्र चलाइरहेको छ। नयाँ किन्न लागिएको एक करोड जिएसएम मोबाइलमा टुजी, थ्रीजी र फोरजी भनिने लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा समेत रहनेछ। नेपालमा मोबाइल टेलिफोन सुरु भएको १२ वर्षमा टेलिकमका ४८ लाख जिएसएम मोबाइल उपभोक्ता छन्। अहिले सिमकार्ड नभएकोले टेलिकम आक्रामक रुपमा ग्राहक विस्तारमा जान सकेको छैन। गत आर्थिक वर्ष २०६७/६८ मा १३ लाख २५ हजार टेलिफोनमात्र टेलिकमले वितरण गरेको थियो। यसमध्य जिएसएम १२ लाख ४ हजार र सिडिएमए १ लाख १ हजार मात्र वितरण गरेको छ। प्रतिस्पर्धी कम्पनीहरू आक्रामक रुपमा माग अनुसार मोबाइल फोन बिक्री गर्ने क्षमताका साथ आइरहेको समयमा टेलिकमले भने माग हुँदा समेत बिक्री गर्न सकेको छैन। चालु आव २०६८/६९ मा टेलिकमले १६ लाख ५४ हजार टेलिफोन वितरण गर्ने लक्ष्य लिएको छ। यसमध्य १२ लाख ३७ हजार जिएसएम मोबाइल वितरण गर्ने योजना टेलिकमको छ।
एककरोड लाइन खरिद प्रक्रियाको लागि कम्तिमा दुई वर्ष लाग्ने भएपछि त्यस अवधिको लागि ब्रिजिङ प्रोजेक्टको रुपमा ४ लाख मोबाइल किन्ने तयारी पहिलेनै सुरु भैसकेको छ।

No comments:

Post a Comment