Tuesday, July 26, 2011

सेवाप्रदायकको स्वामित्व देखाउन प्राधिकरणलाई निर्देशन


सरस्वती ढकाल काठमाडौं, १० साउन
व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको फ्रिक्वेन्सी छानबिन उपसमितिले दूरसञ्चार सेवाप्रदायकको स्वामित्व प्रस्ट पार्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मंगलबार बसेको उपसमितिको बैठकले दूरसञ्चार सेवा सञ्चालनको अनुमति पाएका कम्पनीको स्वामित्व, तिनका वास्तविक ग्राहक र ग्रामीण दूरसञ्चार सेवाप्रदायक कम्पनीलाई सेवा थप गरिएको आधार स्पष्ट पारी तीन दिनभित्र सम्पूर्ण विवरण पेस गर्न प्राधिरणलाई निर्देशन दिएको हो । दूरसञ्चार सेवा सञ्चालनको अनुमति पाएका ६ सेवाप्रदायक कम्पनीका लगानीकर्ता को–को हुन्, कसको कति सेयर छ, कति सदस्य छन्लगायत सम्पूर्ण लगानी विवरण उपसमितिले माग गरेको छ ।
सभासद्हरूले ग्रामीण दूरसञ्चारका लागि स्मार्ट टेलिकमलाई फ्रिक्वेन्सी दस्तुर नलाग्ने गरी लाइसेन्स दिइएको आधार र सबै विवरण प्राधिकरणले बुझाउनुपर्ने बताए । सुरुमा भी–स्याटबाट सेवा सञ्चालन गर्न अनुमति दिएर पछि स्मार्ट र एसटीएमलाई ‘फुल मोबिलिटी’ दिँदा सेवाप्रदायकमाथि प्राधिकरणले भेदभाव गरेको उपसमितिले शंका गरेको छ ।
विश्व बैंकको १ अर्ब रुपैयाँ अनुदानमा सन् २००३ को नोभेम्बर महिनादेखि एसटीएम टेलिकमले नेपालमा सेवा सुरु गरेको हो । अहिलेसम्म कम्पनीको ग्राहक ५ हजारमात्रै हुनु लज्जास्पद भएको उपसमितिको ठहर छ । सभासद् रवीन्द्र अधिकारीले भने, “ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पु¥याउन अनुदान लिएपछि थप सेवा दिन आवश्यक छैन ।”राज्यको अनुदान लिएर आएको मोबाइल सेवाका लागि दिइएको फ्रिक्वेन्सीको दस्तुर पनि यी ग्रामीण सेवाप्रदायकबाट नउठ्दा राजस्व घाटा भएको सभासद्हरूले बताए ।
ठूलो रकम अनुदान लिएर आएको एसटीएम टेलिकमको काम सन्तोषजनक नभएको भन्दै उपसमितिले ध्यानाकर्षणसमेत गराएको छ । सुरुमा एसटीमएले पूर्वाञ्चलका १६ जिल्लाका १ हजार ६८ गाउँ विकास समितिमा ‘पीसीओ’ स्थापना गर्ने दायित्वअनुरूप अनुमति पाएको हो । फ्रिक्वेन्सी वितरण अनियमितता छानबिनका क्रममा उपसमितिले प्राधिकरणबाट प्राप्त कागजात अध्ययन गर्नका लागि थप विवरण माग गरेको हो । सभासद् डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा लेखा समितिले फ्रिक्वेन्सी वितरण छानबिन प्रक्रिया अगाडि बढाएको हो । “स्मार्टको मूल लाइसेन्समा ग्रामीण क्षेत्र भनिए पनि उपत्यकाकै ललितपुरसम्म सेवा दिएको कम्पनीलाई कसरी ग्रामीण सेवा अपरेटर भन्न मिल्ने ?” सभासद्हरूले आपत्ति प्रकट गरे ।
स्मार्ट टेलिकमले भ्वाइस र डाटामार्फत दूरसञ्चार सेवा दिँदै आएको छ । हरेक गाविसमा दुइटा सार्वजनिक टेलिफोन बुथ (पीसीओ) राख्ने लक्ष्यअनुरूप कार्य अगाडि बढाएको जनाएको छ । स्मार्ट टेलिकमले पूर्वाञ्चलबाहेक दूरसञ्चार सेवा नपुगेका ३ सय ९८ गाविसमा टेलिफोन सेवा बिस्तार गर्ने सर्तमा अनुमतिपत्र पाएको हो । 

No comments:

Post a Comment