Wednesday, November 2, 2011

देशैभित्रै मोबाइल कम्पनीबीच रोमिङ योजना

रामचन्द्र भट्ट, नागरिक काठमाडौं, कात्तिक १६ - देशका सबै मोबाइल कम्पनीका टेलिफोन देशभरि सबै ठाउँमा चलाउन मिल्नेगरि दूरसञ्चार प्राधिकरणले ' इन्टर अपरेटर रोमिङ'को प्रस्ताव गरेको छ। प्राधिकरणले देशभित्रै रोमिङ चलाउन अध्ययन गरेर कम्पनीहरुसँग सुझाव लिने तयारी गरेको छ।रोमिङ भनेको एउटा ठाउँ वा कम्पनीको मोबाइल अर्को ठाउँ वा अर्कै कम्पनीको क्षेत्रभित्र पुग्दा निर्वाह चल्ने सुविधा हो। प्राधिकरणले इन्टर अपरेटर (अन्तरसेवा प्रदायक) रोमिङ सेवा खुल्ला गर्न इन्जिनियर ज्ञानेन्द्रमान वैद्यको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले दुर्गम जिल्लाहरुमा सबै कम्पनीहरुको मोबाइल नपुगेकोले एक आपसमा मिलेर रोमिङ चलाउन सुझाव दिएको छ। यस्तो सेवा प्रयोग गर्दा भने अहिलेभन्दा शुल्क महँगो पर्नेछ। 'कार्यदलले दिएको रिपोर्टको आधारमा सेवा सञ्चालनको लागि छलफलमा लैजाने निर्णय भएको छ,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसादन्यौपानेले भने।अहिले सञ्चालनमा रहेका ६ वटै टेलिफोन कम्पनीहरुबाट सुझाव लिएर कार्यान्वयनमा लैजाने निर्णय प्राधिकरणले गरेको छ। अहिले एउटा सेवा प्रदायक कम्पनीका ग्राहक आफ्नो ठाउँभन्दा बाहिर जाँदा त्यहाँ त्यो कम्पनीले सेवा पुगेको रहेछ भनेमात्र आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्छन्। कार्यदलले दिएको सुझावमा कुनै कम्पनीको ग्राहक अर्को ठाउँमा जाँदा त्यहाँ त्यो कम्पनीको सेवा नपुगेको र अर्कोको सेवा रहेछ भने त्यहाँ चल्नुपर्ने उल्लेख छ। प्राधिकरणले यो विषयमा अध्ययन गर्न वैद्यको भन्दा अघि प्राधिकरणका निर्देशक आनन्दराज खनालको संयोजकत्वमा समेत कार्यदल गठन गरेको थियो। दुवै कार्यदलले यो प्रविधि सञ्चालनमा ल्याउँदा मोबाइल कम्पनीहरुका बीचमा रोमिङ सम्झौता हुँदा सेवा प्रदायक कम्पनी र उपभोक्ता दुबै पक्षलाई फाइदा हुने भएकोले सम्झौता गर्न सुझाव दिएका छन्। देशभित्रै सेवा प्रदायकहरुका बीचमा रोमिङ सम्झौता गर्दा नयाँ ठाउँमा सेवा पुर्‍याउन नयाँ र ग्रामीण कम्पनीहरुलाई सजिलो हुने र उपभोक्तालाई पनि सुविधा हुने उल्लेख छ। 'दुई वर्ष अघि मेरो संयोजकत्वको कार्यदलले नै यो प्रावधान राम्रो भएको उल्लेख गर्दै कार्यान्वयनमा ल्याउन सके उपभोक्ता र कम्पनी दुवै पक्षलाई फाइदा हुने प्रतिवेदन दिएको हो,' प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने। अहिले देशमा ६ वटा कम्पनीहरुले मोबाइल टेलिफोन चलाइरहेका छन्। नेपाल टेलिकम र एनसेलले जीएसएम र युटिएलले सिडिएमए प्रविधिबाट मोबाइल चलाइरहेका छन्। ग्रामीण भेगमा सेवा चलाइरहेको अर्को कम्पनी एसटीएम, स्मार्ट र नेपाल स्याटेलाइटले पनि जिएसएम प्रविधिबाट टेलिफोन चलाउन सुरु गरिसकेका छन्। यो नीतिलाई प्राधिकरणले लागु गर्न सक्यो भने सबै कम्पनीका टेलिफोन देशका सबै ठाउँमा चल्नेछन्। 'मोबाइल सेवा प्रदायक बीचमा रोमिङ सम्झौता हुँदा कुनै कम्पनीको सेवा कही पुगेको रहेनछ र कुनै कम्पनीको सेवा पुगेको अवस्थामा त्यहाँ सेवा नपुगेको कम्पनीका ग्राहक जाँदा आफ्नै मोबाइल फोनबाट कुराकानी गर्नसक्छन्,' वैद्य कार्यदलका सदस्य उदय रेग्मीले भने। यसबाट पुराना र सेवा विस्तार गरिसकेका नेपाल टेलिकम र एनसेललाई भन्दा पनि नयाँ कम्पनीलाई बढ्ता फाइदा हुनेछ।  नयाँ कम्पनीले देशका सबै ठाउँमा सेवा पुर्‍याउन कम्तिमा ५ वर्ष लाग्छ। अन्तरसेवा प्रदायक रोमिङ सम्झौता हुँदा सेवा नपुगेका स्थानमा पनि नयाँ कम्पनीको मोबाइलले काम गर्छ। यसले गर्दा सुरुमा तोकिएको क्षेत्रमा सेवा विस्तार गरिसकेपछि अन्यत्र जान सक्नेगरि लाइसेन्स पाएका मोबाइल कम्पनीका ग्राहकहरु आफ्नो क्षेत्रबाट मोबाइल लिएर बाहिर जाँदा समेत अर्को कम्पनीको मोबाइल बोक्न वाध्य हुनुपर्दैन। 'अन्तर सेवा प्रदायक रोमिङ भनेको अन्तर्राष्ट्रिय रोमिङ जस्तै हो,' निर्देशक खनालले भने। अन्तर्राष्ट्रिय रोमिङ सुविधा उपभोग गर्ने ग्राहकले आफ्नो कम्पनीबाट त्यस्तो सुविधा लिनुपर्छ र यो निकै महँगो पनि हुन्छ। तर अन्तर सेवा प्रदायक रोमिङ भने देशभित्रका कम्पनीहरुका बीचमा मात्र हुने हुँदा फर्म भरेर र थप धरौटी राखेर उपभोक्ताले अनुमति लिन जरुरी नपर्न सक्छ। अन्तर सेवा प्रदायक रोमिङ सुविधा लिदा ग्राहकले केही बढी महसुल भने तिर्नुपर्ने हुन्छ। यसको लागि कम्पनीहरु आफैं मिलेर रोमिङ महसुल तोक्न सक्छन्।
प्रतिवेदन अनुसार नेपाल टेलिकमले सबैभन्दा धेरै स्थानमा सेवा विस्तार गरिसकेको छ। टेलिकमले ७५ वटै जिल्लामा सेवा विस्तार गरिसकेको छ। जिएसएम मोबाइल चलाएको स्पाइस नेपालले ७२ जिल्लामा सेवा पुर्‍याएको छ भने युटिएलले ४० जिल्लामा विस्तार गरिसकेको छ। निर्देशक खनालको कार्यदलले बुझाएको प्रतिवेदन अनुसार काम भएमा एनसेल र युटिएलले पनि ७५ वटै जिल्लामा आफ्ना ग्राहकलाई सेवा दिन सक्छन्। त्यस्तै नयाँ कम्पनीहरु स्मार्ट र नेपाल स्याटेलाइटले पनि सम्झौता गरेर आफ्ना ग्राहकहरुको निम्ति देशको जहाँसुकै गएपनि कल गर्ने र रिसिभ गर्नसक्छन्।
अन्तर अपरेटर रोमिङबाट नयाँ कम्पनीहरुले शहरमा मात्र सेवा चलाएर गाउँमा विस्तार नगर्दा पनि फाइदा लिन सक्छन्। यसबाट पुराना र स्थापित कम्पनीहरुको बजार खोसिने सम्भावना हुन्छ। जसले गर्दा पुराना र ठूला कम्पनीहरुले इन्टर अपरेटर मोबाइल रोमिङलाई स्वीकार गर्ने स्थिति नरहेको धारणा विज्ञहरुको छ। प्रतिवेदनमा अन्तर सेवा प्रदायक रोमिङबाट प्राविधिक रुपमा हुने समस्याहरु समाधान गर्दै उपयुक्त नीति बनाउनुपर्नेमा सुझाव दिइएको छ। अहिले देखिएका समस्याहरु समाधान गर्न सेवा प्रदायकहरुले आफ्नो नेटवर्कमा सुधार एवं विस्तार गर्नुपर्ने, थप लगानी गर्नुपर्ने अवस्था समेत रहने हुँदा त्यसको लागि प्राविधिक पक्षलाई बलियो बनाउनुपर्ने निष्कर्ष कार्यदलको छ।
'नियत सफा छैन'अन्तरसेवा प्रदायक रोमिङको प्रस्ताव प्राधिकरणले सफा नियतले नल्याएको धारणा यस क्षेत्रका विज्ञहरुको छ। 'ग्रामीण क्षेत्रमा रहेका र देशभरी सेवा विस्तार गर्न नसक्ने कम्पनीको फाइदाको निम्ति यो प्रस्ताव ल्याइएको हो,' प्राधिकरणका एक अधिकारीले भने। यो प्रस्तावअनुसार साना कम्पनीको पहुँच अहिले सिमित क्षेत्रमा भएपनि देशभरि सेवा विस्तार गरिसकेका कम्पनीसँग रोमिङले गर्दा देशभरि सेवा पुग्छ।
भरखरै सेवा सुरु गरेका कम्पनी प्रति ग्राहक आकर्षण बढाइदिन प्राधिकरणले यस्तो प्रस्ताव ल्याएको हो। नेपाल स्याटेलाइट र स्मार्ट टेलिकम सबैभन्दा नयाँ कम्पनी हुन्। नेपाल स्याटेलाइटले दाङमा मुख्य कार्यालय राखेर मध्यपश्चिममा र स्मार्टले दुर्गम जिल्लामा मोबाइल सञ्चालन गरिरहेको छ। यसबाट यी दुई कम्पनीलाई बढ्ता फाइदा हुनेछ। भारतमा हालै थ्रीजीमा अन्तरसेवा प्रदायक रोमिङ सेवा विवादमा परेको छ। एउटा सर्कलमा मोबाइल चलाउन पाएको कम्पनीले रोमिङ सम्झौता गरेर अरु सर्कलमा पनि सेवा दिएपछि दूरसञ्चार विभागले कारवाही सुरु गरेको छ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete