Saturday, November 19, 2011

टेलिकमले इन्फोकमको ६ करोड धरौटी जफत गर्ने

रामचन्द्र भट्ट, काठमाडौं, मंसिर ४ - टेन्डर खुलेको ६ महिनासम्म पनि उपकरण दिन नसकेपछि नेपाल टेलिकमले एसिया इन्फोकमको ७ लाख ५० हजार अमेरिकी डलर (६ करोड रुपैयाँ) धरौटी जफत गर्ने भएको छ। अमेरिकामा प्रधान कार्यालय र सिंगापुरमा शाखा रहेको एसिया इन्फोकमले साझेदार कम्पनीहरूसँग कुरा मिल्न नसकेको भन्दै 'कन्भर्जेन्स बिलिङ सफ्टवेयर' उपकरण अहिलेसम्मदिएको छैन। टेन्डरमा भएको सर्तअनुसार ६ महिनाअघि नै यो उपकरण टेलिकमलाई दिनुपर्ने थियो। यसबारे गएको साताभरि इन्फोकम र टेलिकम अधिकारीहरूबीच वार्ता भएको थियो। तर, इन्फोकमका अधिकारीले अझै पनि उपकरण दिने स्पष्ट मिति नतोकेपछि टेलिकमका अधिकारीहरू उसको धरौटी जफत गर्ने तयारीमा पुगेका हुन्। 

'ठेक्का खुलेको एक महिनापछि नै कम्पनीले सामान दिन सुरु गर्ने भए पनि इन्फोकमका क्रियाकलापले दिने संकेत देखएन,' टेलिकमका निमित्त प्रबन्ध निर्देशक रामेश्वर कर्माचार्यले भने। धरौटी जफतबारे केही नबोले पनि अन्य अधिकारीले यसका लागि प्रक्रिया सुरु गरिसकेको बताए।
'इन्फोकमले सम्झौता गरेर काम गर्छ भन्ने आशा छैन, त्यसो हुँदा धरौटी जफत गरी नयाँ प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ,' एक नायब प्रबन्ध निर्देशकले भने। टेन्डर पेस गर्दा कबुल गरिएको मूल्यको साढे २ प्रतिशत बिडबन्ड (धरौटी) राख्नुपर्छ। यहीअनुसार उसले ३ करोड डलरको प्रस्तावको धरौटी साढे ७ लाख डलर राखेको छ। इन्फोकमले एचपी र ओराकलसँग मिलेर कन्भर्जेन्स बिलिङको टेन्डर पेस गरेको थियो। साझेदारीमा काम गर्ने गरी हार्डवेयरको काम इन्फोकम र एचपी तथा सफ्टवेयर भने ओराकलको राख्ने प्रस्ताव गरिएको थियो। तर, अहिले यी कम्पनी व्यावसायिक रूपमा मिल्न नसकेपछि टेलिकमले पटक-पटक सम्झौता गर्न आउन आग्रह गर्दा पनि कार्यान्वयन हुन सकेको छैन। टेलिकम स्रोतका अनुसार इन्फोकमले निकै सस्तोमा उपकरण र सफ्टवेयर दिने प्रस्ताव गरेको थियो। सस्तो प्रस्तावका कारण तीन साझेदार कम्पनी मिल्न नसकेर धरौटी गुमाउने अवस्थामा पुगेका हुन्। 'सम्झौता गर्ने समय दिइसकेपछि नआए स्वतः धरौटी जफत हुन्छ,' टेलिकमका अर्का एक अधिकारीले भने। तर, टेलिकमका उच्च अधिकारीहरू भने धरौटी जफतभन्दा मिलाएर काम गराउने प्रयास गरिरहेका थिए। त्यसो हुँदा पटक-पटक सम्झौता गर्न आउन म्याद थपिएको थियो। इन्फोकमले समयमा सम्झौता गरेर उपकरण नदिँदा टेलिकमको आइपी (इन्टरनेट प्रोटोकल) सिडिएमए फोन, नयाँ मोबाइल लाइनको बिलिङमा पनि असर पर्ने भएको छ। यो प्रविधिबाट टेलिकमले दिने सबै प्रकारका फोन, एडिएसएल, डाटाकार्डलगायत महसुल एउटै काउन्टरबाट तिर्न सकिन्छ।
टेलिकम व्यवस्थापनले समय दिएपछि इन्फोकमले गत साता छलफल गरेको थियो। म्याद दिएर पटक-पटक बोलाउँदा पनि कम्पनीका अधिकारीहरू आएका थिएनन्। अन्तिम म्याद दिएर बोलाउँदा गत साता बल्ल इन्फोकम अधिकारी यहाँ आएका थिए। टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले वार्ता गरेर सम्झौता गर्न सूचना प्रविधि निर्देशनालयका प्रमुख शिवभूषण लाललगायत अधिकारीहरूलाई निर्देशन दिएका थिए। हाल कोरिया भ्रमणमा रहेका सिंहले शुक्रबारसम्म वार्ता गरेर टुंगो लगाउन दिएको निर्देशनअनुसार छलफल भएको थियो। छलफलक्रममै इन्फोकम अधिकारी बैंकक फर्केपछि टेलिकम अधिकारी नयाँ रूपमा अघि बढ्ने सोचाइमा पुगेका हुन्। प्रबन्ध निर्देशक फर्केपछि रद्द गर्ने औपचारिक प्रस्ताव सञ्चालक समितिमा लैजान उच्च अधिकारीबीच छलफल भइरहेको छ। एक सातासम्म भएको छलफल नकारात्मक भएपछि अब नयाँ कम्पनीसँग सम्झौता गरेर बिलिङ सफ्टवेयर किन्ने सोचाइमा टेलिकम पुगेको छ। 'यो कम्पनीलाई दिइएको आशयपत्र (एलओआइ) रद्द गरी धरौटी जफत गर्ने प्रस्ताव सञ्चालक समितिमा लैजाने तयारी भइरहेको छ,' स्रोतले भन्यो। इन्फोकमका अधिकारीहरूले सामान दिन नसक्ने कारणबारे केही बताएका छैनन्। उनीहरूले एकापसमा कुराकानी भइरहेको बताएर समय बिताउने रणनीतिमात्र बनाएको टेलिकम अधिकारीहरूको भनाइ छ। 'दिन्छौं भनेका छन्, तर कहिलेसम्म हो, केही भनेनन्। बरू बीचमै वार्ता छाडेर केही प्रतिनिधि फर्किए,' वार्तामा सहभागी एक अधिकारीले भने।
के हो कन्भरजेन्स बिलिङ?
एउटै काउन्टरबाट टेलिकमले सबै प्रकारका सेवाको बिल तिर्न सक्ने प्रविधि कन्भरजेन्स बिलिङ हो। यसबाट तारवाला टेलिफोन (पिएसटिएन) र मोबाइलको बिलिङ एउटै सिस्टममा सुरु गर्ने टेलिकमको योजना थियो। पछि एडिएसएल, सिडिएमए फोनको पनि एउटैमा गर्ने टेलिकको योजना छ।
एउटै बिलिङमा जान ग्राहकले आफ्नो टेलिफोन नम्बरहरु टेलिकममा टिपाउनुपर्छ। पूरै कम्प्युटराइज हुने यो सिस्टममा देशभरि जहा"को फोन भए पनि ग्राहकले चाहेको ठाउ"बाट हेर्न र तिर्न सक्नेछन।
यसबाट परिवारका सबै सदस्यको मोबाइललाई नियन्त्रण गर्न सकिन्छ। यो सिस्टममा परिवारकामुलिको मोबाइललाई मास्टर कन्ट्रोलरको रुपमा लिएर त्यसैमा अरु मोबाइलको बिलिङ जोडिएर आउने, रिचार्ज गर्ने, कल नियन्त्रण गर्ने लगायत सुविधा हुन्छ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete