Wednesday, November 9, 2011

आइएसपीको इन्टरनेट बजार टेलिफोन कम्पनीले कब्जा गर्दै

काठमाडौं, कात्तिक १९ (नागरिक)- ग्राहकको चाहना अनुसारको सजिलो प्रविधि ल्याउन नसकेपछि इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरुको बजार टेलिफोन कम्पनीहरुले कव्जा गरेका छन्। एक वर्ष अघि इन्टरनेटको बजारमा २५ प्रतिशत हिस्सा रहेको आइएसपीको ग्राहक अहिले टेलिकम कम्पनीहरुले सुरु गरेको इन्टरनेट तर्फ मोडिएको छ। ५२ वटा आइएसपीको बजार हिस्सा अहिले दुई प्रतिशतमा झरेको छ। 'नयाँ प्रविधि तिर जानको लागि सरकारी निकायले सहयोग नगरेकोले आइएसपीहरुको धुकधुकी सासमात्र बाँकी छ,' आइएसपीहरुको संस्था इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष विनय बोहोराले भने। आइएसपीसँग ग्राहकहरुले खोजेजस्तो प्रविधिको इन्टरनेट सेवा नभएपछि यसका ग्राहकहरु महिनै पिच्छे घटिरहेका छन्। इन्टरनेटका ३३ लाख ५० हजार उपभोक्ता छन्। यसमध्य आइएसपीका उपभोक्ता ५५ हजारमात्र छन्। पाँच वर्ष अघि इन्टरनेट बजारमा आइएसपीहरुको हिस्सा ८० प्रतिशत थियो।
दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको ताजा रिपोर्ट अनुसार अहिले इन्टरनेट सेवाको ९८ प्रतिशत बजार टेलिफोन कम्पनीहरुले लिएका छन्। नेपाल टेलिकम, एनसेल र युटिएलले इन्टरनेट प्रयोगकर्ताको रुची अनुसारका प्रविधि र प्याकेज ल्याएपछि निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको बजार सुकेको छ।टेलिफोन कम्पनीहरुले ल्याएको इन्टरनेट प्रविधिमध्य सबैभन्दा लोकप्रिय तार बिना चल्ने भएको छ। तार बिना चल्ने इन्टरनेटमा पेनड्राइभ जस्तो सानो डिभाइसमा सिमकार्ड राखेपछि चलाउन सकिन्छ। यो डिभाइसमा सिमकार्ड राखेपछि सेवा पुगेका जहाँसुकैबाट पनि सजिलोसँग कनेक्ट गर्न सकिने यो प्रविधि नेपाल टेलिकम, एनसेल र युटिएल तीनवटै कम्पनीसँग छ। नेपाल टेलिकमले सिडिएमए र जिएसएम दुबैमा यस्तो ताररहित प्रविधिबाट इन्टरनेट दिइरहेको छ। सिडिएमएमा इभिडिओ र जिएसएममा थि्रजी, जिपिआरएसबाट इन्टरनेट टेलिकमले वितरण गरेको छ। टेलिकमका इन्टरनेट उपभोक्तामध्य १२ लाख इभिडिओ र जिपिआरएसका छन्। मोबाइल इन्टरनेटमा सबैभन्दा धेरै ग्राहक एनसेलका छन्। १९ लाख ५८ हजार उपभोक्ताले एनसेलको थि्रजी र जिपिआरएस सेवा लिइरहेका छन्। जिपिआरएसभन्दा थि्रजीबाट चल्ने इन्टरनेट अझै छिटो हुन्छ। एनसेललेउपभोक्तालाई उनीहरुले तिर्ने रकम अनुसारको प्याकेजमा इन्टरनेट दिने स्किम ल्याएपछि आइएसपीका ग्राहक घटेका छन्। ताररहित प्रविधिमा मासिक ५६५ रुपैयाँमा 'अनलिमिटेड' इन्टरनेट दिइरहेका युटिएलका उपभोक्ता ५६ हजार ६ सय छन्। यो रकमबाट महिनाभरि जतिखेरपनि इन्टरनेट प्रयोग गर्न सकिन्छ।

टेलिकम र एनसेलले ताररहित प्रविधिमा अनलिमिटेड इन्टरनेट सेवा दिएका छैनन्। युटिएलको पहिलो पटक यो सेवा ल्याएकोले फिक्स इन्टरनेट सेवा लिएका उपभोक्ताहरु तानिएका हुन्।
तारबाट चल्ने इन्टरनेटमा टेलिकमको एडिएसएलले एकछत्र एकाधिकार जमाएको छ। एडिएसएल आएपछि आइएसपीहरुको बजार आधाले घटेको हो। हरेक महिना एकदेखि दुईवटासम्म नयाँ इन्टरनेट कम्पनीले प्राधिकरणबाट लाइसेन्स लिइरहेका छन्। यी कम्पनीहरुले डायलअप, लिज्ड लाइन र केबुलबाट इन्टरनेट दिन्छन्। व्यबसायीक कार्यालयहरुमा यो प्रविधि उपयुक्त भएपनि सर्वसाधारणको चाहना भने सजिलो र छिटो चल्ने ताररहित थि्रजी प्रविधिको इन्टरनेटमा बढ्ता छ। माग अनुसारको नयाँ प्रविधिमा इन्टरनेट दिन नसक्दा आइएसपीहरुको उपभोक्ता घटिरहेका छन्। 'जतिपनि मेरा ग्राहक छन्, ती सबै व्यक्तिगत संबन्धका आधारमा मात्र टिकेका हुन्,' एक इन्टरनेट कम्पनीका सञ्चालक भन्छन्। उनी सरकारले नयाँ प्रविधिमा जानको लागि वाइम्याक्स फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसको प्रतिक्षामा छन्। 'वाइम्याक्सको फ्रिक्वेन्सी पाउन सकेभने मेरो कम्पनी अघि बढ्छ, पाउन सकिन भने बन्द गरेर हिड्ने मेरो योजना छ,' उनले भने। अहिले सञ्चालनमा रहेका सबै आइएसपीको प्रतिक्षा वाइम्याक्स फ्रिक्वेन्सी छ। वाइम्याक्स प्रविधिबाट अहिलेको थि्रजी भन्दा पनि उच्चगतिमा ताररहित इन्टरनेट दिन सकिन्छ। ताररहित भएपछि घर, अफिस, बाटो जहाँ छँदा पनि कनेक्सनमै हुने भएकोले विशेषगरि विद्यार्थी र विदेशमा अध्ययन गरेर आएका युवापुस्ताले यस्तो प्रविधिको खोजी गरिरहेका छन्।
तर वाइम्याक्स भन्दा पनि नयाँ प्रविधि आइसकेकोले यसमा करोडौं रुपैयाँ खर्च गर्ने कि नगर्ने भन्ने अन्यौलमा केही कम्पनीहरु छन्। 'वाइम्याक्स भन्दा सस्तो र बढी स्पिडमा लङ टर्म इभोलुसन (एलटिई) आइसक्यो,' इन्टरनेट सेवा दिँदै आएको भायानेटका प्रमुख समेत रहेका आइस्पान अध्यक्ष बोहोराले भने। प्राधिकरणको विवरण अनुसार एकहजार भन्दा माथि ग्राहक हुने आइएसपी सातवटा मात्र छन्। वर्ल्डलिङ्क, मर्कन्टाइल, सुविसु, ब्रोडलिङ्क, भायानेट, एभरेष्ट नेट, वेब सर्फरसँगमात्र एकहजार भन्दा बढी ग्राहक छन्। ११ वटा कम्पनीका ग्राहक एकसयभन्दा पनि थोरै छन्। व्याण्डविथ, कार्यालय सञ्चालन खर्च धान्नको लागि मात्र पनि कम्तिमा एकहजार ग्राहक हुनुपर्छ। एकहजार भन्दा थोरै ग्राहक भएका कम्पनीहरु कसरी टिकिरहेका छन् भन्ने बारेमा प्राधिकरणले चासो समेत राखेको छैन। 'हामीले लाइसेन्सनै नदिनेगरि रोक्न मिल्दैन, बजारमा टिक्ने नटिक्ने कम्पनीमै निर्भर रहने विषय हो,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने। बर्षौदेखि इन्टरनेटको बजारमा स्थापित कम्पनीहरु समेत ग्राहक घटेर बन्द हुने अवस्थामा हुँदा नयाँ कम्पनी थपिँदा प्राधिकरणले शंका लिनुपर्ने अवस्था रहेको त्यहीका अधिकारीहरु बताउँछन्। प्राधिकरणले नयाँ कम्पनीसँग उसको योजना नहेरि तीनलाख रुपैयाँ लिएर धमाधम लाइसेन्स बाँड्दा भिओआइपी प्रविधिबाट कल वाइपास बढेर गएको छ। प्राधिकरणले कम्पनीको योजना, प्रविधि हेरेर मात्र लाइसेन्स दिनुपर्ने धारणा त्यहीका कर्मचारीहरुको छ। वाइम्याक्स प्रविधिमा तत्काल सुरु गर्न नसक्ने हो भने अहिले भएका चार दर्जन आइएसपीमध्य एक वर्षपछि एक दर्जनपनि बाँकी नहुने भएका छन्।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete