Saturday, November 26, 2011

एमएसएएन प्रविधिबाट इन्टरनेट सेवा दिने टेलिकमको तयारी

काठमाडौं, ६ कात्तिक
नेपाल टेलिकमले ‘मल्टी सर्भिस एक्सेस नोड’ (एमएसएएन) प्रविधिबाट इन्टरनेट सेवा दिने तयारी गरेको छ । एडीएसएल ब्रोडब्यान्ड इन्टरनेट सेवामा समस्या देखिएपछि टेलिकमले एमएसएएन प्रविधिबाट सेवा दिन लागेको हो । नाम उल्लेख नगर्ने सर्तमा कम्पनीका एक कर्मचारी भन्छन्, “एडीएसएल ब्रोडब्यान्ड इन्टरनेट सेवामा नेटवर्क दूरी लामो भएकाले ‘सिग्नल लस’ हुने अनि आवाज तथा तस्बिर कम गुणस्तरको हुनेलगायतका समस्या देखियो, त्यसकारण यो प्रविधिबाट सेवा दिन लागेका छौं ।” ती कर्मचारीका अनुसार एमएसएएन ‘प्याकेट सुइचिङ’ नेटवर्क प्रविधिमा आधारित सेवा हो । यस किसिमको टेलिफोनमा भ्वाइस, डाटा र भिडियो सेवाहरू एकैसाथ प्रयोग गर्न सकिन्छ । कम्पनीले हाल उपलब्ध गराउँदै आएको एडीएसएलभन्दा एमएसएएन प्रविधिमा छिटो र गुणस्तरीय सेवा उपभोक्ताले पाउनेछन् । सूचना–प्रविधि क्षेत्र छिटो–छिटो परिवर्तन हुने भएकाले एकै किसिमको भन्दा नयाँ–नयाँ सेवा दिँदा ग्राहकलाई सन्तुष्ट पार्न सकिने कम्पनीका अधिकारीहरू बताउँछन् । कम्पनीका अनुसार यसै महिनाको अन्त्यदेखि एमएसएएन प्रविधिबाट सेवा वितरण गर्ने तयारी गरिएको छ ।  तारसहितको टेलिफोन (पीएसटीएन) इन्टरनेट चलाउँदा नेटवर्क दूरी र अरू प्राविधिक कारण ५ सय ५६ किलोबाइट प्रतिसेकेन्डको क्षमता लिँदा करिब १ सय ५० किलोबाइटमा चल्छ । एमएसएएनमार्फत वितरण हुने टेलिफोनमा २ सय किलोबाइटभन्दा धेरै क्षमतामा चल्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको इन्टरनेट सेवा हालको भन्दा छिटो भई सेवाको गुणस्तर र प्रभावकारिता पनि बढ्ने कम्पनीको अपेक्षा छ । एसएसएएन एक्सचेन्जहरू अप्टिकल फाइबरबाट जोडिने भएकोले सेवा गुणस्तरीय हुने बताइन्छ । कम्पनीले पहिलो चरणमा ४ सय ४८ एमएसएएन एक्सचेन्ज जडान गरी १ लाख ५ हजार लाइन टेलिफोन लाइन उपलब्ध गराउन सकिने जनाएको छ । सुरुमा २७ वटा एमएसएएन एक्सचेन्ज सञ्चालनमा ल्याउने टेलिकमको तयारी छ । यो प्रविधिबाट ५२ हजार थप एडीएसएल तथा ५० हजार सिजनल इनिसिएसन प्रोटोकल (सिप) फोन ग्राहकलाई वितरण गर्न सकिनेछ । एमएसएन एक्सचेन्जहरूमा नेटवर्कको दूरी छोटो गरी नेटवर्क बनाइएकाले लामो दूरीका कारण आउने समस्या हल हुने कम्पनीको दाबी छ । हाल टेलिकमका ग्राहक ६७ लाख छन् । जसमध्ये ११ लाख ३४ हजार ग्राहक इन्टरनेट सेवाका छन् । दु्रत गतिको इन्टरनेट सेवा (एडीएसएल) सेवाका ग्राहक ६८ हजार छन् । एमएसएएन सेवा वितरणपछि इन्टरनेट सेवाका ग्राहक छाटो समयमै धेरै बढाउन सकिने कम्पनीले विश्वास लिएको छ । तारबिनाको यो प्रविधिबाट सहरी, ग्रामीण र नगरोन्मुख क्षेत्रका सर्वसाधारणले लाभ लिन सक्ने टेलिकमले जनाएको छ । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete