Friday, August 5, 2011

टेलिकमले हुवावेसँग २० लाख सिडिएमए किन्ने

काठमाडौं, साउन २१ (नागरिक) - नेपाल टेलिकमले चीनको हुवावेसँग २० लाख सिडिएमए मोबाइल किन्ने सम्झौता गरेको छ। टेलिकमले इन्टरनेट प्रोटोकलमा आधारित २० लाख सिडिएमए मोबाइलका लागि गरेको टेन्डरमा सबैभन्दा सस्तो प्रस्ताव गर्ने हुवावे टेक्नोलोजीसँग किन्ने शुक्रबार सम्झौता गरेको हो। सम्झौताअनुसार पहिलो खेप मोबाइल उपकरण हुवावेले ६ महिनाभित्र दिनेछ। हुवावेले ३ करोड ५० लाख डलर (२ अर्ब ४५ करोड रुपैयाँ) मा दिने प्रस्ताव गरेको छ। प्रति लाइन लागत १७ डलर ५० सेन्ट पर्ने भएको छ। सम्झौतामा टेलिकमका तर्फबाट निमित्त प्रवन्ध निर्देशक कन्हैयालाल गुप्ता र हुवावेको तर्फबाट कमर्सियल मेनेजर लियान सिचेनले हस्ताक्षर गरेका थिए। पूर्व र पश्चिमी क्षेत्रका लागि गरिएको अलग टेन्डरअनुसार कम्पनीले दुई वर्षभित्र उपकरण पूरै दिएर सञ्चालन गरिसक्नुपर्नेछ।
टेलिकमले नयाँ उपकरण किन्न नपाउने हो भने आउँदो कात्तिकदेखि ग्राहकलाई बाँड्ने मोबाइल नहुने जनाइरहेको छ। यो सम्झौतापछि सिडिएमए मोबाइल ब्रिजिङ प्रोजेक्टमार्फत ल्याउन नसकेपनि अभाव नहुने टेलिकम अधिकारीले बताएका छन्। टेलिकमले २० लाख सिडिएमएको सम्झौता नहुँदा ब्रिजिङ प्रोजेक्टका रूपमा जेडटिईसँग चारलाख सिडिएमए किन्ने तयारी गरेको थियो। ठूलो परिमाणमा किन्ने मोबाइल आउन समय लाग्ने भएपछि त्यतिबेलासम्मको अभाव टार्न ब्रिजिङ प्रोजेक्टका नाममा चारलाख सिडिएमए किन्ने टेलिकमको निर्णय विवादमा परेको छ। यो विषयमा मंगलबार संसदको सार्वजनिक लेखा समितिले सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धात्मक र पारदर्शी रूपमा गर्न निर्देशन दिएको छ।
हुवावेसँग २० लाख सिडिएमए मोबाइल किन्ने निर्णयपछि नेपाल टेलिकमलाई मोबाइल टेलिफोन उपकरण बेच्न एकाधिकार जस्तै जमाएको जेडटिई पछि परेको छ। पहिलो आयोजनाका रूपमा पूर्वाञ्चल र मध्यमाञ्चलमा १० लाख सिडिएमए वितरण गरिनेछ। दोस्रो आयोजना अन्तर्गत अर्को १० लाख पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलमा राख्ने सम्झौता भएको छ। प्रोजेक्टका क्रममा विराटनगर, काठमाडौं, पोखरा र नेपालगन्जमा एक्सचेन्जसमेत निर्माण गरिनेछ। यसबाट कुनै एक्सचेन्जमा समस्या आएको खण्डमा अर्कोले व्याकअपको काम गर्नेछ।
यसबाट उच्चगतिको इन्टरनेट (इभिडिओ) समेत चल्छ। यसलाई तारवाला टेलिफोन नपुगेका गाउँमा सूचना प्रविधि विकासको लागि विस्तार गर्ने योजना टेलिकमको छ। गत चैत अन्तिम साता टेलिकमले खोलेको ग्लोबल टेन्डरमा चीनका हुवावे र जेडटिई, कोरियाको कोरियन टेलिकमले प्रतिस्पर्धा गरेका थिए। 'दुई चिनिया कम्पनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने देखेर विश्वका अरू कम्पनीले टेन्डरमा भागै लिएनन्,' स्रोतले भन्यो। सधैंभरि टेलिकमको मोबाइल उपकरण टेन्डर हात पार्दै आएको जेडटिईलाई धक्का दिनेगरी यसपटक हुवावेले निकै सस्तो मूल्य प्रस्ताव गरेको थियो। यसअघि हुवावेले टेलिकमलाई १० लाख जिएसएम मोबाइल बेच्ने अवसरमात्र पाएको थियो। जेडटिईले भने टेलिकमलाई एकैपटक ३५ लाख जिएसएम मोबाइल बेचेको थियो।
जेडटिईले बेचेका उपकरणको गुणस्तर कमसल भयो भनी लामो समयदेखि आलोचना हुँदै आएको छ। जेडटिईको सामान बिक्री गरिसकेपछि सेवा राम्रो नभएकाले पनि मोबाइल सेवाको गुणस्तर कम भएको धारणा बेलाबखत टेलिकम अधिकारीले बताउँदै आएका छन्। यसपटकको टेन्डरअनुसार हुवावेले सर्वेक्षण, जडान, परीक्षण र सञ्चालनको जिम्मेवारीसमेत पाएको छ। दुई वर्षयता कुनै पनि नयाँ परियोजना सुरु गर्न नसकेको टेलिकमले सबै गाविसमा यसबाट उच्च गतिको इन्टरनेट पुर्‍याउने योजना बनाएको छ। जेडटिई र हुवावे संसारमै सबैभन्दा सस्तो भाउमा दूरसञ्चार उपकरण बेच्न आक्रामक प्रतिस्पर्धा गरिरहेका छन्। यी दुई कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेर नोर्टेलजस्तो युरोपको पुरानो कम्पनीसमेत बन्द भएको छ।

No comments:

Post a Comment