Monday, August 1, 2011

आइफोन ४४ जी र टेलिकम


आइफोन ४४ जी र टेलिकम

रामचन्द्र भट्ट

एउटा युवक अफिस जाने क्रममा मेट्रो रेल चढ्छ। सँगै बसेकी युवती ओठमा लिपिस्टक लगाइरहेकी हुन्छे। उसले त्यति चासो दिँदैन। गहिरिएर हेरेपछि देख्छ, युवतीले आइफोनबाट लिपिस्टिक लगाइरहेकी हुन्छे। अर्को साइडमा बसेको युवक आइफोनबाटै दारी खौरिरहेको हुन्छ। अर्को युवक कपाल सुकाइरहेको हुन्छ आइफोनबाटै। यो सब देखेर युवक चित खान्छ। 

युवक रेष्टुराँ पुग्छ। रेष्टुराँका कर्मचारीले एउटा आइफोन र आइप्याड अघिल्तिर ल्याएर राखिदिन्छन्। ऊ कुरो बुझ्नै सक्दैन। नजिकैको टेबुलमा बसेकातिर नजर लगाउँछ। एउटा युवक आइफोनबाट अण्डा अर्डर गर्छ। तुरुन्त उसको हातमा अण्डा आइपुग्छ। अनि फुटाएर आइप्याडमै तार्न थाल्छ। छिनभरमा आइप्याडमै अण्डा अमलेट बन्छ।
आइफोन चलाउँदै गर्दा एक्कासि युवकको हातमा सुन्तला झर्छ। आइफोनले सुन्तला खेलाउँदै गर्दा उसको औँलामा चोट लाग्छ। आइफोनको धारिलो चक्कु निस्केर उसको औँलामा चोट पुर्‍याएको हुन्छ। के भइरहेको छ, युवक केही बुझ्दैन। २०११ को फेब्रुअरी २८ मा सुतेको युवक एकै पटक २०४१ फेब्रुअरी २८ मा बिउँझिएको हुन्छ। आइफोन-थ्री बोकिरहेको युवकलाई संसारमा भएको प्रविधिको प्रगति केही जानकारी हुँदैन। 

रेष्टुराँमा बसिरहेकाहरुले आइफोनबाटै चुरोट निकाल्छन्। अनि आइफोनलाई नै लाइटरको रुपमा प्रयोग गरेर सल्काउँछन्। अर्थात् चुरोटदेखि लाइटरसम्म आइफोनमै हुन्छ। रातिको समयमा युवक रक्सीले लर्खरिँदै घरतिर लाग्छ। मास्क लगाएको लुटेराले उसलाई पक्रेर पैसा माग्छ। युवक ज्यान बचाउन खल्तीबाट पर्स निकाल्छ। लुटेरासँग कुनै हतियार देखिँदैन। त्यसले आइफोनमा पेस्तोलको चित्र देखाएर लुट्न खोजिरहेको युवकले चाल पाउँछ। उसले २/४ लात्ती हानेर लुटेरा भगाउने प्रयास गर्छ। तर, लुटेराले एक्कासि आइफोनबाटै २/४ राउण्ड गोली हान्छ र भाग्छ। आफूलाई गोली लागिसकेको जानकारीसमेत युवकले पाउँदैन। हातमा रगत लागेको देखेपछि युवकले आफ्नो पेटतिर हेर्छ पूरै भ्वाङ परिसकेको हुन्छ उसको शरीर। प्रविधिसँग अभ्यस्त नहुँदा अकालमा युवकको मृत्यु हुन्छ।
यो हो-अबको ३० वर्षपछि बन्ने सम्भावित आइफोनबारे युट्युबमा राखिएको भिडियो विवरण। 'आइफोन-४४ जी' नाम दिइएको यो मोबाइल सेटलाई पौराणिक कथामा बर्णित 'मनचिन्ते झोला' को रुपमा देखाइएको छ। अर्थात् बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म मानिसलाई जे जति, जस्तो चिज आवश्यक पर्छ सबै चिज यसले पुर्‍याइदिने कल्पनाको अधिकतम प्रयोग एप्पलले गरेको छ।
३० वर्षपछि एप्पलको 'आइफोन ४४ जी' आएपछि युट्युबमा गरिएको कल्पना अनुसारै नहोला भन्न सकिँदैन। बरु ३० होइन, १५ वर्षमै पनि यो प्रविधि एप्पलका प्रतिस्पर्धी स्मार्टफोन निर्माताले बनाउन पनि सक्छन्। किनभने बजारमा प्रतिस्पर्धा चर्को छ जसले पहिला नयाँ प्रविधि ल्याउन सक्यो उसैले बजारमा पकड जमाउने निश्चित छ। त्यसो हुँदा एप्पलभन्दा अघि ब्ल्याकबेरी, एचटिसी, सामसुङ या नोकियाले यस कल्पनलाई यथार्थमा बदल्न पनि सक्छन्।

अधिकांश युवा पुस्ताका लागि अहिले 'आइफोन-फोरजी' शान, सौकतको मोबाइल बनिरहेको छ। हालैमात्र एक १७ वर्षिया चिनियाँ युवतीले आइफोन फोरजीका लागि आफ्नो कुमारित्व तोड्न तयार रहेको सार्वजनिक गरेपछि समाचारले निकै ठूलो चर्चा पाएको थियो। एप्पलका उत्पादनले सारा संसारलाई एकोहोर्‍याएको अर्को उदाहरण एक महिनाअघिमात्र चीनमा एक युवकले आइप्याडको लागि आफ्नो मिर्गौला बेचेको घटना संसारभरिलाई आश्चर्य लगाउने खालको थियो।
हरेक दिन चीनबाट दुई कन्टेनर आइफोन फोरजी अमेरिका जान्छ। उच्च गुणस्तरको तस्बिर खिच्ने, भिडियो रेकर्ड गर्ने, इन्टरनेट चलाउनेलगायत सुविधा त अहिलेका सामान्य सेटमा समेत उपलब्ध भइसकेको अवस्थामा एप्पलको आइफोन फोरजीमा फेसबुक, युटुब, मेसेन्जर, नक्सा, गेमदेखि अनेक सुविधाहरु छन्। यसले युवा पुस्ताको मन जितेको छ। 
यो भयो विदेशका आशालाग्दा कुरा, अब लागौँ स्वदेशकै निराशाजनक स्थितितिर। एप्पलले सन् २०४१ मा आफ्नो अनुसन्धान के हुने र कस्तो सेट त्यतिखेरका लागि माग हुन्छ भन्ने अवधारणा ल्याइसक्दा हामीकहाँ नेपाल टेलिकमले अबको चौथो महिनामा ग्राहक सिमकार्ड माग्न आयो भने दिने अवस्था छैन भन्दै टकटकिएको छ। ऊसँग जिएसएम मोबाइलको सिमकार्ड ५ लाख २० हजार मात्र बाँकी छ। हरेक महिना दुई लाख सिमकार्ड माग रहेको संस्थासँग भएको यो सिमकार्ड बाँड्न थाल्ने हो भने साढे दुई महिनाभन्दा पुग्दैन।

व्यवस्थापन निष्क्रिय भयो भने के हुन्छ? सरकारले 'सुनको अण्डा पार्ने कुखुरी' ठान्ने तर दानापानी समयमा नदिँदा के हुन्छ भन्ने राम्रो उदाहरण अब टेलिकम बन्दैछ। बजारमा यसको उत्पादनको अझै माग छ। सरकारी संस्था भएकाले ग्राहकको विश्वास गुमाइसकेको छैन। तर पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भनेझैँ 'ब्राण्ड लोयल्टीले मात्र प्रतिस्पर्धामा चल्न सक्ने अवस्था छैन।' एउटा ब्राण्ड प्रयोग गर्ने बानी बसिसकेपछि ठूलै समस्या नपरी वा विश्वास नटुटेसम्म उपभोक्ता अर्को ब्राण्डमा सितिमिति जाँदैन। यसले गर्दा ब्राण्ड लोयल्टी कमाउन जति गाह्रो छ, कमाइसकेकोलाई टिकाउन त्यतिकै कठिन कार्य हो।
टेलिकमकै शब्दमा कात्तिकदेखि ऊसँग ग्राहकलाई दिने सिमकार्ड छैन भने अब यो कम्पनी कता जाला? हरेक वर्ष कति सिमकार्डको माग हुन्छ र कति आपूर्ति गर्ने भन्ने योजना टेलिकमले बनाउनुपर्ने थियो। बनाएको होला, तर कागजमा होइन अबको योजना देखिने, महसुस गर्नसक्ने खालको हुनुपर्छ। कागजमा जतिसुकै योजना बने पनि कात्तिकदेखि सिमकार्ड दिन सक्दैन टेलिकमले भने त्यो कागजी योजनाको के अर्थ?
नेपाल टेलिकमलाई मोबाइल उपरकण बेच्न दुई चिनियाँ कम्पनीको चर्को प्रतिस्पर्धा छ। जेडटीई र हुवाईबीच चलिरहेको चरम प्रतिस्पर्धा सामान बेच्नलाई मात्र अब सिमित देखिँदैन। यी दुई कम्पनीबीचको गैरव्यावसायिक र अमर्यादित प्रतिस्पर्धाले सम्भवतः नेपाल टेलिकमलाई डुबाउँदैछ। एउटाले टेण्डर पाउँदा अर्कोले अख्तियार, सार्वजनिक खरिद अनुगमन कार्यालय र सतर्कता केन्द्रमा उजुरी हाल्ने प्रवृत्ति मौलाउँदो छ। अनि अनुसन्धानका नाममा अख्तियारले महिनौँ बिनानिर्णय फाइल अड्काएर राख्ने र अन्तिममा अर्को टेन्डर गर्न निर्देशन दिने परिपाटीले सरकारलाई 'सुनको अन्डा' दिने टेलिकम आगामी पाँच वर्षमा घाटामा जाने खतरा छ।
गत साता संसद्को सार्वजनिक लेखा समितिले जनकपुर चुरोट कारखानाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन गर्‍यो। डुबिसकेको चुरोट कारखाना उतार्दा सरकार, जनता कसैलाई फाइदा छैन। आर्थिक रुपले सरकारलाई फाइदा छैन र स्वास्थको दृष्टिले जनतालाई यो उद्योग चाहिएको छैन। सुर्ती खेती गर्ने किसानलाई त फाइदा होला नि भन्ने आधारसमेत छैन। किनभने सुर्तीसमेत भारतबाट ल्याएर चलाउनुपरेपछि यो उद्योग जोगाएर राख्नुको के औचित्य?
डुबिसकेको जनकपुर चुरोट कारखाना डुब्नै दिऊँ। यसलाई जोगाउनेतिर ध्यान दिनु समय र आर्थिक रुपले दुवै बालुवामा पानी हालेजस्तोमात्र हुन्छ। बरु राष्ट्रलाई प्रतिफल दिइरहेका नेपाल टेलिकमजस्तो संस्था डुबाउने कि उतार्ने अहिलेदेखि नै ध्यान दिनु बुद्धिमानी होला।
यसको अहिलेको अवस्थाले देखाएको के हो भने व्यवस्थापन र कर्मचारीको यही मानसिकताबीच टेलिकमका सुदिन गएको संकेत मिल्दैछ। अघिल्लो वर्ष २२ प्रतिशतले बढेको टेलिकमको आम्दानी २०६७/६८ मा चानचुन तीन प्रतिशतले मात्र बढेको छ। आम्दानी घटेको छ, गुणस्तर घटेको छ, टेलिकमप्रति उपभोक्ताको माथिनै उल्लेख भएजस्तै 'ब्राण्ड लोयल्टी' घटेको छ। ग्राहक बढेका छन्, तर सन्तुष्ट कोही छैनन्।

कम्पनीलाई अघि बढाउन अन्तर्राष्ट्रिय अनुभव भएको साझेदार आवश्यक भइसकेको छ जसले निर्णय क्षमता चुस्त, योजना दुरुस्त बनाएर टेलिकमजस्तो संस्थालाई अघि बढाउने क्षमता राख्छ। अहिले नाफा कमाइरहेकै बेलामा सेयरसहित दिनेगरी साझेदार ल्याउन सकिए सरकारलाई समेत फाइदा पुग्नेछ। जनकपुर चुरोट कारखानाजस्तो गरी घाटा लागेर बन्द भइसकेपछि उपचार खोजेर सम्भव हुँदैन।
आइफोनले ३० वर्षपछिको योजनासहित आफ्नो उत्पादनको अवधारणा ल्याउन सक्छ भने टेलिकमले पनि यो बजारमा टिक्ने हो भने ग्राहकको चाहना अहिले के छ? एक वर्षपछि कता जान्छ र १० वर्षपछि के हुन्छ भन्ने तथ्य अनुसन्धान गर्न सक्नुपर्छ।

No comments:

Post a Comment