Saturday, October 15, 2011

टेलिकममा अमरनाथ सिंह तेस्रोपटक नियुक्त

काठमाडौ, आश्विन २६ -
सरकारले सूचना तथा सञ्चार मन्त्रालय मातहतका दुई निकाय नेपाल टेलिकम र गोरखापत्र संस्थानका कार्यकारी प्रमुखलाई हटाई नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सञ्चारमन्त्री जयप्रकाश गुप्ताको प्रस्तावमा टेलिकमको कार्यकारी निर्देशकमा अमरनाथ सिंहलाई नियुक्त गरेको जानकारी सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दिए । सिंह टेलिकमका नायब कार्यकारी निर्देशक थिए । तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारको पालामा टेलिकममा कार्यकारी निर्देशक नियुक्त विश्वनाथ गोयललाई हटाई सिंहलाई ल्याइएको हो । गोयलअघि सिंह नै कार्यकारी निर्देशक थिए । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा रामकिशोर सिंहलाई नियुक्त गरेको छ । सर्लाही जिल्लावासी सिंह मधेसी जनअधिकार फोरम -गणतान्त्रिक) को बौद्धिक मञ्चमा कार्यरत थिए । मन्त्रिपरिषद्ले गोरखापत्रका कार्यकारी अध्यक्ष हरिगोविन्द लुइँटेलले दिएको राजीनामा स्वीकृत गरी सिंहलाई नियुक्त गरेको हो । लुइँटेल पनि अघिल्लो सरकारका पालामा कार्यकारी अध्यक्ष नियुक्त भएका थिए ।

काठमाडौं, असोज २७ (नागरिक) - नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सरकारले पुनः अमरनाथ सिंहलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले सिंहलाई दुई वर्षका लागि प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। सिंह यसपालि समेत गरी तेस्रोपटक प्रबन्ध निर्देशक भएका हुन्। प्रबन्ध निर्देशक विश्वनाथ गोयललाई हटाएर फोरम गणतान्त्रिकका जयप्रकाश गुप्ताले सिंहलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेका हुन्। गोयल माओवादीका तर्फबाट सञ्चारमन्त्री भएका कृष्णबहादुर महराको पालामा नियुक्त भएका थिए। सिंहले यसअघि २०६५ पुसदेखि २०६६ बैशाखसम्म पहिलोपटक २०६६ असारदेखि २०६७ फागुनसम्म दोस्रो पटक प्रबन्ध निर्देशक भएर काम गरिसकेका छन्। दुवैपटक सिंहलाई हटाएर गोयल २०६६ वैशाखमा पहिलोपटक र २०६७ फागुनदेखि बिहीबारसम्म दोस्रोपटक नायब प्रबन्ध निर्देशक भएर काम गरेका छन्। सिंहलाई पहिलोपटक महरा, दोस्रोपटक शंकर पोखरेल र तेस्रोपटक गुप्ताले प्रबन्ध निर्देशक बनाएका हुन्। गोयल भने दुवैपटक महरा सञ्चार मन्त्री भएको समयमा नियुक्त भएका हुन्। सरकारले प्रबन्ध निर्देशकबाट हटाउने निर्णय गरे पनि गोयल पुरानै पदमा रहेर काम गर्ने बताए। गोयल र सिंह दुवै नायब प्रबन्ध निर्देशक हुन्। 'प्रबन्ध निर्देशकको लागि हाम्रो अफिसभित्र दुई जनाको लिगलिगे दौडले अति भयो,' टेलिकमकै एक अधिकारीले भने। कहिले सिंह कहिले गोयलको दौडले संस्था अहिले योजनाविहीन 'प्लान होलिडे' अवस्थामा पुगेको ती अधिकारीले बताए।

No comments:

Post a Comment