Tuesday, October 18, 2011

'महँगो टर्मिनेसन शुल्कले' भीओआइपी तीब्र

काठमाडौं, कात्तिक २ (नागरिक)- नेपालमा अन्तर्राष्ट्रिय कल पठाउने कम्पनीहरूले 'टर्मिनेसन' दर महँगो भएकाले भिओआइपी कल बाइपास बढेको विदेशी दूरसञ्चार कम्पनीका अधिकारीले बताएका छन्। विदेशबाट नेपालमा टेलिफोन पठाउने र नेपालभित्रै पनि एउटा कम्पनीबाट अर्कोमा कल पठाउनु टर्मिनेसन हो। नेपाल टेलिकमले आयोजना गरेको क्यारिअर सम्मेलनमा सहभागी हुन यहाँ आएका ती अधिकारीले भिओआइपीबाट कल बाइपास रोक्न टर्मिनेसन दर कम गर्नुपर्ने सुझाए। 'हाम्रो देशमा पनि पहिले कल बाइपास चर्को समस्या थियो,' कोरियाली टेलिकमका निर्देशक इन्चुएल पार्कले नागरिकसँग भने।कल बाइपासलाई नियन्त्रण गर्न कोरियाले प्रति मिनेट एक सेन्ट भन्दा कममा एउटा कम्पनीबाट अर्कोमा कल पठाउने नीति लिएको छ। नेपालमा विदेशबाट आएको कल एउटाबाट अर्काेमा जाँदा टर्मिनेसन दर प्रतिमिनेट साढे ४ देखि साढे ५ रुपैयाँ पर्छ। भिओआइपी प्रविधि सस्तो पर्ने भएकाले अहिले कल बाइपास र अवैध कल नेपालमा बढेको हो। यसलाई सस्तो बनाउन नेपालका टेलिफोन कम्पनीले सस्तो दरमा कल भिœयाउन सम्झौता गर्नुपर्ने सुझावसमेत विज्ञले दिएका छन्।'भारतमा पनि केही वर्षअघि अवैध कल अत्यधिक थियो, अहिले छँदैछैन भने पनि हुन्छ,' एटिएन्डटीका दक्षिण एसिया प्रमुख अनुज कोहलीले भने। देशभित्रकै टर्मिनेसन शुल्क महँगो भएपछि कल बाइपास गर्नेले यही फाइदाका लागि अवैध कल बढेको हो।
कल बाइपास गर्नेले विदेशी कम्पनीसँग सम्झौता गरेर इन्टरनेटमार्फत नेपालमा टेलिफोन कल ल्याउँछन्। त्यो कललाई सिमकार्डबाट देशभित्रको टेलिफोनमा पठाउँछन्। यसो गर्दा टेलिफोन रिसिभ गर्नेको सेटमा नेपालभित्रकै नम्बर देखिन्छ। नेपालमा अन्तर्राष्ट्रिय कल भिœयाउन अहिले चारवटा कम्पनीले मात्र लाइसेन्स लिएका छन्। नेपाल टेलिकम, एनसेल, युटिएल र एसटिएम टेलिकमले मात्र विदेशबाट कल भिœयाउन पाउँछन्। यी कम्पनीले अन्तर्राष्ट्रिय गेटवे राखेर विदेशको कल ल्याउने र नेपालबाट कल पठाइरहेका छन्।गेटवे भएका कम्पनीमध्ये पनि एउटाको बाट आएको कल अर्कोमा जाँदा पठाउनेले रिसिभ गर्नेलाई साढे पाँच रुपैयाँसम्म तिर्छन्। देशभित्रकै एउटा कम्पनीको टेलिफोनबाट अर्कोमा जाँदा थप शुल्क एक रुपैयाँमात्र पर्छ। तर विदेशबाट आएको कललाई भने टर्मिनेसन चार्ज महँगो परेपछि कल बाइपास प्रवृत्ति संसारभरिकै भएको विज्ञहरूको जनाएका थिए।
नेपाल टेलिकमलाई मासिक ४५ लाख मिनेट कल पठाइरहेको कतार टेलिकमका अन्तर्राष्ट्रिय सेवा हेर्ने कार्यकारी निर्देशक अहमद युसुफ इब्राहिमले समेत टर्मिनेसन शुल्क घटाए कल बाइपास नियन्त्रण हुने बताए। उनले प्रहरी परिचालन गरेर यो समस्या संसारमा कहीँ पनि समाधान नभएको समेत अनुभव सुनाए।नेपालमा गेटवे भएका कम्पनीले चर्को टर्मिनेसन शुल्क लिएर आगमन कल ट्रान्सफर
गरेको र ठूलो नाफा भएकाले अवैध कल फस्टाएको विदेशी कम्पनीको अनुभव छ। विदेशबाट नेपालमा कल पठाउँदै आएका करिअर कम्पनीका सञ्चालकहरुले नेपाल टेलिकमलाई टर्मिनेसन शुल्क घटाउन सुझाव दिएका छन्।टर्मिनेसन शुल्क महँगो भएपछि नेपालमा अहिले मासिक ५० करोड रुपैयाँको कल बाइपास भइरहेको छ। अगस्टको तुलनामा सेप्टेम्बरमा वैध गेटवेबाट अन्तर्राष्ट्रिय आगमन कल २५ प्रतिशतले घटेको छ। अगस्टमा १२ करोड मिनेट कल नेपाल भिœयाएको नेपाल टेलिकमको कल सेप्टेम्बरमा २ करोड ४० लाख मिनेट घटेको छ। यसबाट नेपाल टेलिकमलाई झन्डै ३८ लाख ४० हजार डलर (२८ करोड ८० लाख रुपैयाँ) घाटा लागेको छ। टेलिकमबाहेक युटिएल, एनसेल, एसटिएमको आगमन कल समेत घटेको छ। अवैध कलले टेलिफोन कम्पनीहरुको आम्दानी र राजश्वमा समेत असर गरेको छ। यही कारणले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न स्थानमा छापा मारेर कारबाहीसमेत गरिरहेको छ। 'प्रहरीको कारबाहीले मात्र बाइपासको समस्या रोकथाम हुन सक्दैन,' अस्ट्रेलियामा डाँफेटेल सञ्चालन गरिरहेका दीपक खड्काले भने। उनले नेपाल टेलिकमसँग सम्झौता गरेर कल पठाइरहेका छन्। नियामक निकाय दूरसञ्चार प्राधिकरणका अनुसार जुनजुन देशमा टर्मिनेसन दर महँगो छ, ती देशमा भिओआइपीमार्फत अवैध कल अत्यधिक हुन्छ। अवैध कल सुरक्षाको दृष्टिले चुनौतीपूर्ण भएपछि प्राधिकरणले टर्मिनेसन दर ७२ पैसा प्रतिमिनेट गर्न प्रस्ताव गरेको छ। तर यसबाट आफ्नो आम्दानीको ठूलो स्रोतमा असर पर्ने भन्दै नेपाल टेलिकम र एनसेलजस्ता ठूला कम्पनीले मानिरहेका छैनन्।

No comments:

Post a Comment