Saturday, October 22, 2011

एडिएसएल विवाद पुनरावेदनमा पठाइने

काठमाडौं, कात्तिक ६ (नागरिक) - निजी इन्टरनेट सेवा प्रदायक (आइएसपी) र नेपाल टेलिकमबीच एडिएसएल इन्टरनेटको विषयमा तीन वर्षदेखि सुरु विवाद फेरि पुनरावेदन समितिमा जाने भएको छ । यो विवादमा निजी आइएसपीहरुको पक्षमा फैसला भएमा उनीहरुले समेत एडिएसएलबाट इन्टरनेट सेवा दिन सक्नेछन्। प्राधिकरणले आइएसपी र नेपाल टेलिकमबीच एडिएसएलमा भएको विवाद सहमतिको लागि पुनरावेदन समितिमा लैजाने निर्णय शुक्रबार गरेको छ। 'दुई पक्षबीच सहमतिको लागि यो विषयलाई पुनरावेदन समितिमा लैजाने निर्णय भएको हो,' प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले भने।
पुनरावेदन समिति न्यायिक निकाय हो। यसमा न्यायपरिषदका सचिव अध्यक्ष छन्। सदस्यहरुमा सञ्चार मन्त्रालयका सहसचिव र कानुन हेर्ने उपसचिव छन्। कँडेलले यो विषयमा पहिले नै प्राधिकरणको निर्देशन टेलिकमले नमानेकोमा जरिवाना गराउने निर्णय गरिसकेको उल्लेख गर्दै पुनरावेदन समितिलाई मध्यस्थता गरेर सुल्झाइदिन अनुरोध गर्ने निर्णय भएको समेत बताए। प्राधिकरणले २०६५ सालमै निजी आइएसपीहरुलाई समेत टेलिफोन तार प्रयोग गरेर एडिएसएल प्रयोग गर्न दिन टेलिकमलाई निर्देशन दिएको थियो। यो विषयमा टेलिकम र आइएसपीबीच सहमति नहुँदै प्राधिकरणले हस्तक्षेप गरेपछि विवाद सुरु भएको हो। प्राधिकरणले यो विषयमा टेलिकमलाई २५ हजार रुपैयाँ जरिवाना गरेको थियो। जरिवाना गर्ने प्राधिकरणको निर्णय विरुद्ध टेलिकमले पुनरावेदन समितिमा गएको थियो। पुनरावेदन समितिले गत जेठ १९ गते प्राधिकरणद्वारा टेलिकम विरुद्ध गरिएको निर्णय बदर गरेपछि फेरि सहमतिको प्रयास सुरु गरिएको हो। प्राधिकरणले टेलिकम र आइएसपीबीच सहमति गराउनको लागि अब पुनरावेदन समितिसँग सहयोग माग्ने भएको छ। पुनरावेदन समितिका सदस्य एवं सञ्चार मन्त्रालयका उपसचिव धनराज ज्ञवालीले भने मध्यस्थता गर्ने काम समितिको कार्यक्षेत्र भित्र नपर्ने बताए। टेलिकमको तारबाट एडिएसएल सेवा दिन पाएमा अहिलेपनि आइएसपीहरु तयार देखिएका छन्। 'हामी अहिलेपनि एडिएसएल सेवा सुरु गर्ने पक्षमा छौं,' आइएसपीहरुको संस्था आइस्पानका अध्यक्ष विनय बोहोराले भने। आइएसपीहरु टेलिकमले भन्दा सस्तो दरमा एडिएसएल दिन आइएसपीहरु तयार रहेको बोहोराले बताए। टेलिकमले १९२ केबिपिएसको इन्टरनेटलाई मासिक एकहजार १७ रुपैयाँ शुल्क लिन्छ। प्राधिकरणका अधिकारीहरु दूरसञ्चार सेवाका पूर्वाधारहरुको साझा प्रयोग नीति अनुसार टेलिकमले आइएसपीहरुलाई भाडामा आफ्नो तार दिनुपर्ने बताउँछन्। 'अरुसँग पूर्वाधार सेयरिङको कुरा गर्ने टेलिकम आफैंले यो कामको थालनी अब गर्नु उपयुक्त हुन्छ,' प्राधिकरणका ती अधिकारीले भने। टेलिकमले कनेक्सन दिएको एक महिनाभित्र एडिएसएल सेवा सुरु गर्न आइएसपीहरु सक्षम रहेको समेत बोहोराले बताए। केही समययता प्राधिकरणले वाइम्याक्स फ्रिक्वेन्सी वितरण गर्ने तयारी गरेपछि आइएसपीहरु एडिएसएलको मुद्दालाई छाडेका छन्। वाइम्याक्सबाट भ्वाइस र डाटा दिन सकिने भएकोले आइएसपीहरु यो फ्रिक्वेन्सी लिन अहिले प्रतिस्पर्धा गरिरहेका छन्। घरायसी र साधारण कार्यालयमा अनलिमिटेड इन्टरनेट सेवामा एडिएसएल निकै लोकप्रिय भएको छ। यसबाट अहिले घरायसी ग्राहकले ५१२ केबिपिएससम्म इन्टरनेट टेलिकमले दिइरहेको छ।

No comments:

Post a Comment