Tuesday, October 18, 2011

विदेशी कम्पनीसँग सम्बन्ध बढाउँदै टेलिकम

काठमाडौं,,३० असोज
नेपाल टेलिकमले अन्तर्राष्ट्रिय दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूसँगको सम्बन्ध बढाउन थालेको छ । टेलिकमले डेढ दर्जन देशका २५ वटा अन्तर्राष्ट्रिय टेलिकम कम्पनीका ४४ जना प्रतिनिधि बोलाएर ‘इन्टरनेसनल करिअर पार्ट्नर्स मिट ‘आईसीपीएम’ नेपाल २०११’ को आयोजना गरेर सम्बन्ध विस्तार थालेको हो । अन्तर्राष्ट्रिय आगमन तथा बाह्य कल बढाउने मुख्य उद्देश्यका साथ गरिएको यो भेलाले कम्पनीको व्यापार बढाउने अपेक्षा लिइएको छ । कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंहले सबै सेवाप्रदायकलाई एउटै स्थानमा बोलाएर गरिएको भेलाले टेलिकमको अन्तर्राष्ट्रिय व्यापार बढाउन सहयोग पुग्ने बताए । भेलामा सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले  टेलिकम कम्पनीको विकास र ब्रोडब्यान्ड सेवालाई सरकारले प्राथमिकतामा राखेको  बताए । विश्वव्यापी आर्थिक विकास सञ्चार पद्धतिको विकासमा निर्भर भएको भन्दै मन्त्री गुप्ताले टेलिकमलाई अन्तर्राष्ट्रिय स्तरमा सञ्जाल पैmलाउन सुझाव दिए । टेलिकमको नेटवर्कमा भारत र खाडी मुलुकबाट सबैभन्दा धेरै कल भित्रिन्छ । कम्पनीका अनुसार विदेश जाने कलमध्ये ५० प्रतिशत हाराहारी भारतमा मात्रै हुने जनाएको छ । १२२४ एक्सेस कोडमार्फत गरिने कलको दर घटाएपछि कम्पनीको ‘आउटगोइङ ट्राफिक’ बढेको छ । अहिले २ रुपैयाँ ९० पैसा (करबाहेक) निर्धारण भएपछि भारत हुने कल बढेको कम्पनीले जनाएको छ । यो भेलाले विदेशबाट आउने तथा जाने कल वृद्धि हुने अनुमान कम्पनीको छ । व्यवसाय विकास गर्ने पहिलो माध्यम भनेको ‘रिलेसनसिप’ भएकाले कम्पनीले यो भेला गरेको कम्पनीका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले बताए । मलेसिया, हङकङ, अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, जापान, संयुक्त अरब इमिरेट्स (यूएई)बाट नेपालमा धेरै कल भित्रिन्छ । टेलिकमको नेटवर्कमा अगस्ट महिनामा १ सय २० मिलियन अन्तर्राष्ट्रिय कल भित्रिएको छ । सेटेम्बरमा भने ९६ मिलियनमात्रै छ । अक्टोबर महिनामा भने बढ्ने अनुमान कम्पनीको छ । आउटगोइङ मासिक २० मिलियनको हाराहारीमा भएको कम्पनीले जनाएको छ । सूचना तथा सञ्चार–सचिव श्रीधर गौतमले ठूलो संख्यामा रोजगारी तथा शिक्षाका लागि विदेश गएका नेपालीका कारण भित्रिने कलको मात्रा बढ्दै गएको बताए । विश्वमै पछिल्लो दशकमा टेलिकम र सूचना तथा प्रविधिको विकास तीव्र गतिमा भएको भन्दै नेपालमा पनि यसको विकास र विस्तार बढाउन आवश्यक भएको उनले बताए । टेलिकमको ग्राहकको संख्या ६८ लाख नाघेको कम्पनीले जनाएको छ । 

No comments:

Post a Comment