Friday, October 21, 2011

भारतबाट मिसकल, नेपालबाट कलब्याक

काठमाडौं, ३ कात्तिक,  
नेपालबाट अन्तर्राष्ट्रिय कल गर्न सस्तो भएपछि भारतमा रहेका आफन्तले मिसकल गर्ने तथा नेपालबाट कलब्याक गर्ने क्रम बढेको छ । नेपालबाट भारत कल गर्न झन्डै पाँच गुणा सस्तो छ । नेपालबाट भारत कल गर्न न्यूनतम १.५० रुपैयाँदेखि अधिकतम ३ रुपैयाँसम्म लाग्छ भने भारतबाट यहाँ कल गर्न १० देखि १५ (भारु) सम्म पर्छ । अहिले कुनै पनि नेटवर्कबाट भारत कल ३ रुपैयाँभन्दा धेरै लाग्दैन । सार्वजनिक बुथ सेन्टर (पीसीओ) बाट १ रुपैयाँ ५० पैसामै भारत कल गर्न सकिन्छ । टेलिकमको  1424 एक्सेस कोड डायल गरी २.९०, एनसेलबाट २.९९, स्मार्ट टेलिकमबाट ३ र यूटीएलबाट २.५९ रुपैयाँ (करबाहेक) लाग्छ । कम्पनीले प्रतिमिनट ४ रुपैयाँबाट शुल्क घटाएपछि कल सोचेभन्दा बढेको टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले बताए । “आउटगोइङ कलमध्ये झन्डै ५० प्रतिशत कल भारतमा मात्रै हुन्छ,” उनले भने ।
 गत अगस्टमा टेलिकमको नेटवर्कबाट भारतमा २ करोड मिनट कल भएको छ । “आउटगोइङ कलमा भारत धेरै नै सकारात्मक छ, शुल्क घटाएपछि कम्पनीको नेटवर्कबाट भारतमा कल गर्ने क्रम बढेको हो,” एनसेलकी कम्युनिकेसन म्यानेजर सञ्जु कोइरालाले भनिन् । रोजगारीका लागि एक दशकदेखि भारतको पुना रहँदै आएका गुल्मीका लक्ष्मण शर्माले बुटवलमा बस्ने श्रीमतीलाई मिसकल गर्ने गरेको बताए । “यहाँबाट १ मिनट कुरा गर्न पुग्ने पैसाले नेपालबाट ५ मिनट कुरा गर्नपुग्छ,” शर्माले अनलाइन संवादमा कारोबारसँग भने, “महसुल घटेपछि श्रीमती र परिवारसँग कुराकानी बढेको छ ।”  प्रतिस्पर्धा बढ्दै गएपछि दूरसञ्चार सेवाप्रदायक कम्पनीले भारतमा कल गर्दा लाग्ने महसुल घटाएका हुन् । टेलिकमबाट सिंगापुर, हङकङ, चीनमा प्रतिमिनट ३ रुपैयाँमै कल गर्न सकिन्छ । तर, भारत, हङकङ, सिंगापुरलगायतका मुलुकबाट नेपालमा कल गर्न न्यूनतम १० रुपैयाँ प्रतिमिनट लाग्ने नेपाल दूरसञ्चार प्राधिकरणको एक प्रतिवदेनले देखाएको छ । अन्तर्राष्ट्रिय कल बाइपास तथा अन्तरआबद्धता सम्बन्धमा तयार गरिएको परामर्शपत्रमा विदेशबाट नेपालमा कल गर्नभन्दा नेपालबाट विदेश कल गर्न लाग्ने शुल्क तेब्बर सस्तो भएको उल्लेख छ । दूरसञ्चार सेवाप्रदायक कम्पनीलाई चुनौती दिँदै इन्टरनेट सेवाप्रदायक कम्पनी ब्रोडलिंकले इन्टरनेट टेलिफोनीबाट भारत, चीन, अमेरिकालगायत सात मुलुकमा ९९ पैसा (करसहित) मा कल गर्न सकिने सुविधा दिएको छ । ब्रोडलिंकबाट विदेश कल गर्न अन्यभन्दा तेब्बर सस्तो हुन्छ । विदेशी सेवाप्रदायकलाई तिनुपर्ने बाहन शुल्क र टर्मिनेसन दुवै शुल्कसमेत स्वतः समावेश भएको हुँदा प्रतिमिनट केवल ८८ पैसादेखि ३ रुपैयाँसम्ममात्र लाग्ने प्राधिकरणको परामर्शपत्रले देखाएको छ । विकसित देशमा कल गर्न २ रुपैयाँ प्रतिमिनटभन्दा कम लाग्छ । नेपालबाट अमेरिकामा १ रुपैयाँमै कल गर्न सकिन्छ । तर, अमेरिकाबाट नेपाल कल गर्दा यसको तुलनामा धेरै गुणा महँगो पर्छ । विदेशबाट नेपाललगायत अधिकांश विकासोन्मुख देशमा कल गर्दा औसतमा प्रतिमिनट १३ रुपैयाँभन्दा बढी लाग्ने अध्ययनले देखाएको छ । विकासोन्मुख देशमा अन्तर्राष्ट्रिय अन्तरआबद्धता शुल्क अधिक हुने हुनाले बाहिरबाट आउने कल महँगो हुन्छ । नेपालमा कल गर्दा यहाँ अव्यस्थित सेवाप्रदायकलाई धेरै शुल्क बुझाउनुपर्छ । हाल नेपालमा सबै सेवाप्रदायकले औसतमा प्रतिमिनट ५ रुपैयाँभन्दा बढी अन्तरआबद्धता शुल्क लिने गर्छन् । यो शुल्क नेटवर्कअनुसार ४.५० देखि ५.५० रुपैयाँसम्म छ । विकसित मुलकुकमा प्रतिस्पर्धाका कारण मुलुकबाहिर गरिने कलका लागि महसुल कम राख्छन् । विकसित देशमा अन्तरआबद्धता शुल्क कम हुने हुनाले कम महसुल राख्न सम्भव हुन्छ । त्यसमा पनि आफ्नो मुनाफा कम राखेर मूल्य निर्धारण गर्ने प्रतिवेदनमा उल्लेख  छ ।

1 comment:

  1. टेलिकमको १२२४ एक्सेस कोड डायल गरी २.९०, plz correct this to 1424 access code not 1224

    ReplyDelete