Tuesday, October 18, 2011

मोबाइल सेवाको गुणस्तर जाँच्न उपकरण ल्याइने

काठमाडौ, कार्तिक २ - मोबाइल सेवाको गुणस्तर जाँच्न सरकारले परीक्षण उपकरण किन्ने भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस आर्थिक वर्षको बजेटमा दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्ने औजार किन्न लागेको हो । 'प्राधिकरणले आफ्नो वाषिर्क कार्यक्रममा यसलाई राखेको छ,' प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले भने, 'यसका लागि २५ लाख रुपैयाँ बजेट छुट्याएका छौं ।' यो रकम अपुग हुने भएकाले अन्य सञ्चालन नहुने कार्यक्रमबाट रकमान्तर गर्ने योजना प्राधिकरणले बनाएको छ । सामान्यखाले उपकरणलाई ४० देखि ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 'हामीले कोटेसन आह्वान गरेपछि कति पैसा लाग्छ थाहा हुन्छ,' उनले भने,
 'अहिले ४० देखि ५० लाख रुपैयाँको उपकरण किन्ने योजना छ । यो काम यसै वर्षभित्र पूरा गर्छौं ।'
यसले मोबाइलका साथै टेलिफोन सेवाको गुणस्तर पनि पत्ता लगाउन सकिन्छ । गुणस्तरहीन सेवा भए पनि नियामक निकाय अहिलेसम्म सेवा प्रदायकलाई कारबाही र उपभोक्ता हित सुरक्षामा कमजोर देखिएको छ । यसअघि गुणस्तर जाँच गरे पनि प्राधिकरणले त्यसपछिको प्रतिवेदन कार्यान्वयन गर्न सकेको छैन । 'मोबाइल सेट चलाएर गुणस्तरीयता जाँच गर्न गाह्रो भएकाले उपकरण खरिद गर्न लागिएको हो,' उनले भने, 'यसले गुणस्तर सुधारका लागि सेवा प्रदायक कम्पनीलाई निर्देशन दिन समेत सहयोग हुन्छ ।' यस्तै प्राधिकरणले गरेको एक अध्ययनले नेपाल टेलिकम, एनसेल र युनाइटेड टेलिकम लिमिटेड -युटिएल) को मुख्य राजमार्गमा सेवा राम्रो नभएको देखिएको छ । अध्ययनपछि प्राधिरकणले तीनवटै कम्पनीलाई नेटवर्क विस्तार र गुणस्तर सुधार गर्न निर्देशन दिएको छ । 'राजमार्गका सबै स्थानमा राम्रो सिग्नल र गुणस्तरीय सेवा पाइएन,' अध्यक्ष कँडेलले भने । उनले रिपोर्टको थप अध्ययन भइरहेको बताए । प्राधिकरणले टेलिकमको सिडिएमए, एनसेल र युटिएलको सेवा तुलनात्मक रूपमा गुणस्तरीय पाइएको बताएको छ । तर ती सेवामा पनि आवश्यकता भए जतिको गुणस्तरीयता नरहेको अध्ययनले देखाएको छ ।  प्राधिकरणले यसअघिका अध्ययनमा कल सफल हुने दर, फोन गरेको कति समयमा फोन लाग्ने, पूरा कुराकानी हुने दर, फोन नलाग्ने दर, कुराकानी हुँदा कति गुणस्तरीय हुने त्यसको दर लगायतलाई आधार मानेको थियो । राजमार्गमा गरिएको अध्ययनभने सेवा पुगे/नपुगेको वा सिग्नल कतिको मजबुद छ त्यस आधारमा गरिएको थियो ।

No comments:

Post a Comment