Friday, January 6, 2012

दुई वर्षभित्र टेलिकमको एउटै बिल

काठमाडौं, पुस २१ (नागरिक) - आउँदो दुई वर्षभित्र नेपाल टेलिकमका ग्राहकले आफुले प्रयोग गर्ने सबै सेवाको एउटै बिल पाउने भएका छन्। यसबाट अहिले बिभिन्न सेवाको लागि महसुल तिर्न भिन्दाभिन्दै काउण्टरमा पुग्नुपर्ने वाध्यता अन्त्य हुनेछ। टेलिकमले सिंगापुरको एसिया इन्फो लिङ्केजसँग सबै सेवाको एउटै बिलिङ गर्ने 'कन्भरजेन्स बिलिङ सफ्टवयर' किन्ने सम्झौता गरेको छ। बिहीबार औपचारिक कार्यक्रमबीच एसिया इन्फोले तोकेको समय भन्दा पहिले नै यो सिस्टम तयार पारेर सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। नेपाल टेलिकम र एसिया इन्फोकमबीच भएको सम्झौताअनुसार दुई वर्षभित्र टेलिकमका सबै सेवामा कन्भरजेन्स बिलिङ लागु भैसक्नुपर्छ। एसिया इन्फोका प्रमुख कार्यकारी अधिकृत ज्यासन ओङले पूर्ण रुपमा सेवा सञ्चालनमा आइसकेपछि उपभोक्ताले ल्यान्डलाइन, सिडिएमए, जिएसएम, एडिएसएल लगायत सबै सेवाको एकै ठाउँबाट महसुल भुक्तानी गर्न सक्ने जानकारी दिए। त्यस्तै परिवारका एकजना मुलीको टेलिफोन नम्बरबाट अरु सबैको टेलिफोनलाई नियन्त्रण, थप सुविधा दिन सकिन्छ। 'यो टेलिकमको महत्वाकांक्षी प्रोजेक्ट हो, अहिले सञ्चालनमा आएका मात्र होइन भविष्यमा थपिने सेवालाई समेत यसले सजिलो पार्नेछ,' टेलिकम सञ्चालक समितिका अध्यक्ष श्रीधर गौतमले भने। उनले यसबाट नयाँ सुविधा थप्न, ग्राहकलाई एकै ठाउँबाट महसुल तिर्न सजिलो पर्ने बताए। नेपाल टेलिकमले आगामी दिनमा ल्याउन लागेको 'लङ टर्म इभोलुसन' (एलटिई) लगायतका सेवामा समेत यो प्रविधिबाट चाँडो बिलिङ हुने व्यवस्था हुनेछ। सात महिनाअघि खुलेको टेन्डरमा एसिया इन्फोले सबैभन्दा सस्तो २ करोड ९९ लाख डलरमा दिन प्रस्ताव गरेको थियो। टेलिकम सूचना प्रविधि निर्देशनालयका निर्देशक शिवभुषण लालका अनुसार यसबाट तारवाला टेलिफोन (पिएसटिएन) र मोबाइलको बिलिङ एउटै सिस्टममा सुरु गर्ने टेलिकमको योजना छ। पछि एडिएसएल, सिडिएमए फोनको पनि एउटैमा तिर्न मिल्छ। नयाँ प्रविधिले नेपाल टेलिकमका ग्राहक विस्तारमा सहयोग पुग्ने प्रवन्ध निर्देशक अमरनाथ सिंहले बताए। एसिया इन्फोले चीन, थाइल्याण्ड, भियतनाम, कम्बोडिया र मलेसियाका दूरसञ्चार सेवा प्रदायकलाई कन्भरजेन्स बिलिङ सफ्टवयर दिएर सञ्चालनमा ल्याएको छ। नेपालमा यो प्रविधि अन्तर्गत सुरुमा आइपी सिडिएमए टेलिफोन र प्रिपेड मोबाइलमा एउटै बिलिङ हुने प्रविधि सुरु गर्ने तयारी टेलिकम र एसिया इन्फोकमले गरेका छन्।

1 comment: