Sunday, January 22, 2012

३ महिना फाइल रोकेपछी १ करोड मोबाईल अख्तियारद्वारा खुल्ला !!

काठमाडौं, माघ ८ (नागरिक)- करिब तीन महिनादेखि रोकिएको १ करोड लाइन मोबाइल खरिद प्रक्रियामा कुनै त्रुटि नभेटिएपछि अख्तियारले नेपाल टेलिकमको बाटो खुला गरिदिएको छ। टेलिकमले किन्न लागेको १ करोड लाइन मोबाइलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि प्रक्रिया रोकिएको थियो। 'टेन्डरमा भएका सर्त र प्रावधानअनुसार नै अघि बढ्न बाटो खुला खरिदिएका छौं,' अख्तियार प्रवक्ता ईश्वरीप्रसाद पौड्यालले भने। आयोगले २० लाख आइपी सिडिएमएको उजुरीमा समेत प्रष्ट्याउँदै खरिद सम्झौता अघि बढाउन निर्देशन दिएको छ। आयोगको निर्देशनमा समय र निर्धारित लागतभित्रै गुणस्तरयुक्त काम गर्नुपर्ने उल्लेख छ। 'गुणस्तरयुक्त कामका साथै तोकिएकै समयमा प्रोजेक्टहरू निर्धारित खर्चमै पूरा हुनुपर्ने हाम्रो निर्देशनमा छ,' पौड्यालले भने। अख्तियारबाट अनुसन्धानका लागि सबै फाइल लगी लामो समय रोकेर राखिदिँदा टेलिकमले सिमकार्ड वितरण गर्न पनि सकेको छैन। नियमअनुसारै खरिद प्रक्रिया अघि बढेको देखिएपछि टेन्डर मूल्यांकन र सम्झौता अघि बढाउनसमेत अख्तियारले निर्देशन दिएको छ। 'निर्णय हुन नपाउँदै भ्रष्टाचार भयो भनेर अख्तियारले फाइल लगेर महिनौं निर्देशन नदिँदा टेलिकमको अवस्था धराशयी भइसकेको छ,' सञ्चालक समितिका एक सदस्यले भने। अख्तियारले अहिलेसम्म टेलिकमका धेरै टेन्डरका फाइल मगाएर अनुसन्धान गरे पनि आर्थिक अनियमितता गरेको अभियोगमा कोही पदाधिकारी कारबाहीमा परेका छैनन्। 
'यसपालि पनि तीन महिना फाइल लगेर केही नभेटिएपछि फिर्ता भएको छ,' स्रोतले भन्यो। अख्तियारले अनुसन्धान गर्दै टेन्डर प्रक्रिया अघि बढाउन रोक नलगाएको भए यतिखेर टेलिकमसँग बाँड्न पर्याप्त सिमकार्ड हुने थिए। समयमा निर्णय नहुँदा मोबाइल टेलिफोन बेच्ने टेलिकम ग्राहकले सेवा माग्न आए पनि दिन नसक्ने अवस्थामा छ। टेलिकमले एक वर्षअघि मूल्यांकन गरेर टेन्डर खोलिसकेको २० लाख आइपी सिडिएमए अख्तियारले फाइल लगेपछि सबैभन्दा प्रभावित भएको छ। ३ करोड २० लाख अमेरिकी डलरको आइपी सिडिएमए प्रोजेक्ट रोकिएपछि यसबाट गाउँ-गाउँमा लोकप्रिय सिडिएमए फोन विस्तार रोकिएको छ। अख्तियारले अघि बढ्न निर्देशन दिएपछि टेलिकमले यसै साताभित्र सप्लायर्ससँग सम्झौताको निर्णय गर्ने तयारी गरेको छ। आइपी सिडिएमएको तत्काल सम्झौता र १ करोड लाइनको बाँकी मूल्यांकन अघि बढाएर सर्वसाधारणले मागेका बेला जहाँसुकैबाट पनि मोबाइल सिमकार्ड दिने व्यवस्था गर्दैछ।

No comments:

Post a Comment