Sunday, January 8, 2012

सीआरबीटी चोरी लुकाउने प्रयास

काठमाडौ, पुस २५ कान्तिपुर  - फितलो पासवर्ड सुरक्षा र आफ्नै कर्मचारीको संलग्नतामा भइरहेको सीआरबीटी चोरीलाई नेपाल टेलिकमले सामसुम पार्ने प्रयास गरेको छ । अर्काका मोबाइल नम्बरबाट पैसा काटिने गरी सीआरबीटी चोर्ने काम धन्दाकै रूपमा चलाइएका आईपी एड्रेस टेलिकमकै कर्मचारी विमलेश झाको स्वामित्वका पाइएका थिए । 'तर, यसमा झाको कुनै भूमिका छैन,' टेलिकम प्रवक्ता सुरेन्द्र थिकेले भने, 'आईपी एड्रेस झाकै हुन् । त्यस्ता आईपी एड्रेस त उहाँसँग हजारौं  छन् । कसले प्रयोग गर्छन्, थाहा हुने कुरै भएन ।' प्रवक्ता थिकेले त्यस्ता आईपी एड्रेस झाका नाममा देखिए पनि टेलिकमकै हुने दाबी गरे । आईपी अर्थात् इन्टरनेट प्रोटोकल एड्रेस हरेक इन्टरनेट क्रेतालाई दिइने पहिचान हो । जसको नाममा इन्टरनेट सेवा लिइएको हुन्छ, आईपी एड्रेसको स्वामित्व उहीसँग हुन्छ । 'हजारौं आईपी एड्रेस एउटा कर्मचारीको नाममा, त्यो पनि ठेगाना, फोन नम्बरसमेत इन्ट्री गरेर कसरी रहन्छन् ?' टेलिकमकै एक उच्च प्राविधिक भन्छन्, 'यो बचाउने प्रयास मात्र हो ।' उनका अनुसार झा मात्र होइन, टेलिकमका धेरै उच्च अधिकारी ग्राहकका पैसाबाट यस्ता धन्दामा लागेका पोल खुल्ने भएकाले संस्थागत संरक्षणको प्रयास गरिएको हो । चोरीमै संलग्न अर्का आईपी एड्रेसवाला दीपक श्रेष्ठबारे भने टेलिकमले केही खुलाएको छैन । लगातारका मोबाइल नम्बरहरू प्रयोग गरी सेकेन्डका फरकमा उही बोलका गीतहरू डाउनलोड हुनुले आफूहरूलाई पनि चोरीको शंका लागेको बताए । छिटो कारबाही होस्: संगीत संघ सीआरबीटी चोर्ने गिरोहबारे समाचार आएपछि गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नेपाल संगीत उद्योग संघले गिरोहलाई तत्काल कारबाही गर्न माग गरेको छ । 'प्रकाशित समाचारमा यस संस्थाका केही सदस्य कम्पनीहरूको समेत नाम जोडिएकामा ध्यानाकर्षण भएको छ,' आइतबारको बैठकपछि जारी गरिएको संघको विज्ञप्तिमा भनिएको छ । अध्यक्ष पदम बुढाद्वारा हस्ताक्षरित वक्तव्यमा निष्पक्ष, पूर्वाग्रहरहित छानबिन गरी तथ्य एवं प्रमाणका आधारमा कानुनबमोजिम कडाभन्दा कडा कारबाहीको माग गरिएको छ ।

No comments:

Post a Comment