Monday, January 9, 2012

वेभसाइटबाट मोबाइलमा सीआरबीटी राख्ने व्यवस्था हट्यो

२६ पुस, काठमाडौँ । नेपाल टेलिकमको वेभसाइट खोलेर छानीछानी आफ्नो मोबाइलमा सीआरबिटी अर्थात, फोन गर्दा बज्ने गीत राख्ने तपाईंको प्रयास अब बेकार हुनेछ । किनकी सोमबार रातिदेखि टेलिकमले यो व्यवस्था हटाएको छ । विभिन्न म्युजिक कम्पनीले प्रविधिको दुरुपयोग गरी अरुको मोबाइलमा सीआरबिटी डाउनलोड गरेर करोडौँ रुपैयाँ ठगी गरेको समाचार सार्वजनिक भएपछि टेलिकमले सिआरबिटी राख्न मिल्ने व्यवस्था हटाएको हो । ‘वेभसाइटको दुरुपयोग गरेर धेरैको मोवाइलबाट पैसा चोरी गरी सिआरबिटी राखेको पाइएकाले सेवा बन्द गरिएको हो’ टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेले भन्नुभयो‘सिआरबिटी चोरी गर्ने म्युजिक कम्पनीमाथि छानविन भैसकेको छ, अब प्रक्रिया पुर्‍याएर सार्वजनिक गरिनेछ ।’सीआरबीटी अवैध डाउनलोड कार्यमा नेपाल टेलिकमकै प्राबिधिक कर्मचारीको मिलेमतो रहेको समेत पाइएको छ । टेलिकमको पत्र पाउनासाथ दोषीलाई कार्वाही गर्ने प्रहरीले जनाएको छ । अपराध अनुसन्धान महाशाखाले आइतबारदेखि नै यसबारे अनुसन्धान भैरहेको जनाएको छ । सिआरबिटी चोरी प्रकरणमा दोषी ठहरिएकालाई विद्युतीय कारोबार ऐन-२०६३ को दफा ९ अनुसार दुई लाख रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजाय हुनसक्छ ।आशिष म्यूजिक, समर्पण म्यूजिक, पुष्पाञ्जली म्यूजिक, सरिता डिजिटल, स्रोता संगीत, रक्षा म्यूजिक लगायतका धेरै कम्पनीले प्रविधिको दुरुपयोग गर्दै सिआरबिटी चोरेको पाइएको छ । सिआरबिटी चोरीबाट सम्बन्धित म्युजिक कम्पनी र गायकगायिका समेत मालामाल भैरहेको र मिलोमतोमा यो काम भैरहेको पनि स्रोतको भनाइ छ । फोन गर्दा बज्ने टोनको सट्टा फोन गर्नेलाई सुनाउनका लागि राखिने धुन नै सिआरबिटी हो । टेलिफोन प्रदायक संस्थाहरु नेपाल टेलिकम, एनसेल र यूटिएलले यस्तो सेवा दिँदै आएका छन् । टेलिकमबाट सिआरबिटी राख्दा एउटा गीतको १२ रुपैँया ४३ पैसा लाग्छ । जुन १५ दिनको लागि हुन्छ । यसरी सिआरबिटी राख्दा फोन गरेर या सम्बन्धित कम्पनीको वेभसाइट प्रयोग गर्न सकिन्छ । म्यासेज र फोन गर्नका लागि सम्बन्धित मोबाइल नै चाहिने हुँदा यसबाट असम्बन्धित व्यक्तिले राख्न पाउँदैन । तर, कम्पनीको वेभसाइटबाट भने अर्काको मोबाइलमा पनि सिआरबिटी राख्न मिल्छ । यसकै फाइदा उठाएर विभिन्न म्युजिक कम्पनीले अरुको मोबाइलामा आफ्ना गीत राखिदिएर अपराध गर्दै आएका हुन् । कम्पनीले उपलब्ध गराउने पासवर्ड सजिलो हुने र धेरैमा दोहोरिने भएका कारण पनि सिआरबिटी चोर्नेलाई निकै सजिलो भएको हो ।

No comments:

Post a Comment