Thursday, January 12, 2012

सेवामा सुधार गर : दूरसञ्चार प्राधिकरण

काठमाडौँ, पुस २८ - विभिन्न तीनवटा दूरसञ्चार सेवा प्रदायक कम्पनीले प्रदान गरिराखेका दूरसञ्चार सेवाप्रति नेपाल दूरसञ्चार प्राधिकरणले आपत्ति जनाएको छ। नेपाल दूरसञ्चार कम्पनी, एनसेल प्रालि र युनाइटेड टेलिकम लिमिटेडले प्रदान गरिराखेका मोबाइल फोनको सेवा गुणस्तरीय नभएकाले प्राधिकरणले आपत्ति जनाएको हो। प्राधिकरणले ती तीनै कम्पनीलाई अगामी ६ महिनाभित्र आफ्नो सेवाको गुणस्तरमा सुधार गर्न पत्राचारसमेत गरेको प्राधिकरणद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो। प्राधिकरणले यस वर्ष पनि ती कम्पनीमा सेवा तुलनात्मक रुपमा सुधार नभएको, अधिकांश स्थानमा सेवा राम्रो नदेखिएको र तोकिएको विभिन्न मापदण्डसमेत पूरा नगरेको पाइएकाले ६ महिनाभित्र सेवामा गुणस्तर ल्याउन निर्देशन दिएको हो। देशका मुख्य सहरमा ती कम्पनीमा सेवाका अवस्थालाई लिएर प्राधिकरणले स्वतन्त्र निकायबाट मोबाइल सेवाको गुणस्तर मापन गरेको थियो। काठमाडौँ, पोखरा, नेपालगन्ज, विराटनगरमा गरिएको सो सर्वेक्षणबाट सेवाको गुणस्तर सुधार नआएको देखिएको पत्रकारसम्मेलनमा जानकारी दिइयो। अन्य सहरको तुलनामा काठमाडौँको सेवामा केही सुधार भएता पनि सन्तोष गर्ने ठाउँ नदेखिएको प्राधिकरणद्वारा वितरित विज्ञप्तिमा भनिएको छ। -रासस

No comments:

Post a Comment