Tuesday, January 31, 2012

आधा जनसंख्यासँग मोबाइल

काठमाडौ, माघ १७ - मोबाइलको सेवा शुल्कमा आएको गिरावट र पूर्वाधार विस्तारले मुलुकको आधा जनसंख्याको पहुँचमा मोबाइल सेवा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको पछिल्लो प्रतिवेदन अनुसार मुलुकको कुल जनसंख्याको ५० प्रतिशतले मोबाइल चलाउँछन् ।  प्राधिकरणका अनुसार मंसिरसम्ममा मोबाइल प्रयोगकर्ताको संख्या १ करोड ३३ लाख ५० हजार पुगेको छ । केन्द्रीय तथ्यांक विभागले केही महिना अगाडि सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ६६ लाख २० हजार छ । मोबाइल सेवा प्रयोगकर्तामध्ये सबैभन्दा बढी १ करोड २४ लाख ९८ हजार ग्राहक जिएसएम प्रविधिको मोबाइलका छन् । सिडिएमए मोबाइल ग्राहकको संख्या ८ लाख ५६ हजार रहेको छ । यी ग्राहकले सरकारी स्वमित्वको नेपाल टेलिकम र निजी कम्पनी एनसेलको सेवा प्रयोग गरिरहेका छन् । मोबाइलका ग्राहकमध्ये टेलिकमका ६५ लाख छन् । यसमा ५६ लाख जिएसएम मोबाइल र झन्डै ९ लाख सिडिएमए मोबाइल प्रयोगकर्ता छन् ।
जिएमएस सेवाको मात्र लाइसेन्स पाएको एनसेलका ग्राहक मंसिरसम्ममा ६८ लाख पुगेका छन् ।प्राधिकरणका अधिकारीका अनुसार पछिल्ला दुई वर्षमा मोबाइल ग्राहकको संख्यामा उच्च वृद्धि भएको हो । मुख्य दुई दूरसञ्चार कम्पनीबीच भएको तीव्र प्रतिस्पर्धाले सेवा विस्तार हुँदा ग्राहकको संख्या वृद्धिमा सहयोग पुगेको हो । यस अवधिमा मोबाइल सेवाको शुल्क समेत घटेको छ । अर्कोतर्फ मोबाइल सेटको मूल्यमा आएको उल्लेख्य गिरावटले पनि यसमा सहयोग पुगेको छ, झन्डै १२ वर्ष अघि नेपालमा नेपाल टेलिकमले मोबाइल सेवा सुरु गरेको थियो । कम्पनीले सन् २००३ पि्रपेड मोबाइल सेवा सुरु गरेको
थियो । बजारमा एकाधिकार भएका कारण यो सेवाको विस्तार लामो अवधिसम्म सुस्त रह्यो । साथै शुल्कमा समेत उल्लेख्य गिरावट आउन सकेन । सन् २००४ मा निजी क्षेत्रको पहिलो दूरसञ्चार कम्पनीका रूपमा एनसेल आएको थियो । 'सिम कार्ड सहज रूपमा पाउन थाल्नु र शुल्क सर्वसाधारणको पहुँचमा समेत आउनुजस्ता कारणले मोबाइल ग्राहकको संख्यामा उच्च वृद्धि भएको हो,' प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, '१ सय रुपैयाँमा विभिन्न उपहार योजनाका साथ सेवा प्रदायक कम्पनीहरूले सिम बाँडिरहेका छन् । यसले ग्राहकलाई सेवामा आकषिर्त बनाएको छ ।' प्राधिकरणको तथ्यांक अनुसार पाँच महिनाको अवधिमा मासिक औसत ३ लाख ५० हजार मोबाइल ग्राहक थपिइरहेका छन् । प्रतिस्पर्धा र ग्राहकको मागलाई ध्यान दिएर टेलिकमले १ करोड लाइन क्षमताको आयोजना अगाडि बढाएको छ । एनसेलले प्रत्येक वर्ष १० करोड अमेरिकी डलर सेवा विस्तारका लागि लगानी गरिरहेको जनाएको छ । तथ्यांक अनुसार मंसिर महिनासम्म सबै प्रकारका दूरसञ्चार सेवा प्रदायकको संख्या १ करोड ५० लाख पुगेको छ । यसमा मोबाइलका साथै लिमिटेड मोबिलिटी सेवा, आधारभूत सेवा लगायत छन् । यो संख्या कुल जनसंख्याको झन्डै ५६ प्रतिशत हो । खनालका अनुसार कम्पनीहरूले सुरु गरेको आयोजना अनुसार आगामी तीन वर्षको अवधिमा मोबाइल घनत्व एक सय प्रतिशतभन्दा बढी हुने देखिन्छ । 'मुलुकका सबै समान सेवा विस्तार गर्न नसकेका कारण एक भन्दा बढी कम्पनीको सिम लिने ग्राहको संख्या पनि बढेको छ,' उनले भने ।
 
वर्ष                                     ग्राहक संख्या                      मोबाइल घनत्व (प्रतिशतमा)
मंसिर २०६८                      १ करोड ३३ लाख                             ५०.१६
आव ०६७/६८ सम्म          १ करोड १६ लाख                              ४०.५०   
आव ०६६/६७                    ७६ लाख                                           २७.२७
आव ०६५/६६                   ५४ लाख                                           १९.७३

No comments:

Post a Comment