Thursday, February 2, 2012

कलबाइपास गर्ने विरुद्ध २ अर्ब ६९ करोडको मुद्दा

काठमाडौं-, माघ २० - राजस्व अनुसन्धान विभागले भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भिओआइपी) मार्फत अवैध कल बाइपास गरी राजस्व छलेको अभियोगमा ग्लोबल इन्टरनेट सर्भिसेजका दुई जना सञ्चालक विरुद्ध २ अर्ब ६९ करोड रुपैयाँ माग दाबी गर्दै बिहीबार जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । कम्पनीका अध्यक्ष तारकमान सिंह र प्रबन्ध निर्देशक भोलाकिशोर डंगोलविरुद्ध उक्त माग दाबी सहित मुद्दा दर्ता गरिएको हो । अध्यक्ष सिंह विभागको नियन्त्रणमा छन् भने डंगोल फरार छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी) ले गत जेठमा छापा मारेर सुरु गरेको अनुसन्धान पूरा गर्न करिब आठ महिना लागेको थियो । उनका करिब १५ हजार इमेलको अनुसन्धान गर्नुपरेको थियो । विभागका महानिर्देशक शान्तबहादुर श्रेष्ठका अनुसार २०६६ असोजदेखि २०६७ फागुनसम्म ग्लोबल इन्टरनेटले गरेको कलबाइपासको अनुसन्धान गर्दा ८६ करोड ५० लाख रुपैयाँ राजस्व छली फेला परेको थियो ।
 राजस्व चुहावट नियन्त्रण ऐन अनुसार दुई सय प्रतिशत जरिवाना सहित उक्त माग दाबी गरिएको हो । सिआइबी र विभागका साथै दूरसञ्चार प्राधिकरणको संयुक्त टोलीले अनुसन्धान गरेको थियो । दूरसञ्चार कम्पनीहरूले ग्लोबल इन्टरनेट सर्भिसेजको अवैध कल बाइपासका कारण तिनको २ अर्ब ६१ करोड रुपैयाँ बराबरको राजस्व गुमेको दाबी गरेका थिए । अनुसन्धानमा संलग्न स्रोतका अनुसार सिआइबीले जेठ २ गते ग्लोबल इन्टरनेटमा छापा मारेर खोजी गरेपछि फरार डंगोलले अहिले पनि हङकङबाट कल बाइपासको धन्दालाई निरन्तरता दिएका छन् । त्यहाँ उनले 'ग्लोबल डेस्टिनेसन टु नेपाल' नामक कम्पनी दर्ता गरी चुनौती दिइरहेका छन् । डंगोल नेपाल विद्युत् प्राधिकरणमा केही वर्ष काम गरिसकेका इन्जिनियर हुन् । प्रहरीका अनुसार करिब एक दशकअघि जागिर छाडेका उनी भाग्य अजमाउन व्यवसायमा प्रवेश गरेका थिए । इन्टरनेट सेवा प्रदायक कम्पनी चलाउन थालेपछि उनले छिट्टै पैसा कमाउन सीप र प्रविधिको दुरुपयोग सुरु गरेका थिए । सर्भिसेजले करिब १ हजार ५ सय इन्टरनेट ग्राहक बनाएको थियो । तर दुई वर्षमा उसले करिब ३ अर्ब रुपैयाँ अवैध आर्जन गरेको सिआइबीले जनाएको छ । डंगोलले अहिले हङकङमा 'टच टेलिफोन' नामको कम्पनीमा पनि लगानी गरेका छन् ।   भिओआइपी कल बाइपासका कारण टेलिकम कम्पनीहरूले अर्बौं रुपैयाँको राजस्व गुमाएका थिए । सिआइबीले हात हालेपछि अन्तर्राष्ट्रिय कलमार्फत टेलिकम कम्पनीलाई हुने आम्दानी उल्लेख्य वृद्धि भएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्तीनेनका अनुसार तीन वर्ष अगाडि अवैध कल बाइपासको अवस्था विकराल थियो । त्यसबेला ९० प्रतिशतसम्म अन्तर्राष्ट्रिय कल भोओआइपी मार्फत अवैध रूपमा बाइपास हुने गरेको थियो । 'अहिले यो घटेर १० प्रतिशतभन्दा कम छ,' उनले भने । प्रहरीको सक्रियता र दूरसञ्चार कम्पनीहरूले पनि नियन्त्रणमा जोड दिएकाले कल बाइपास एक हदसम्म नियन्त्रण भएको उनले जनाए  ।

1 comment:

  1. चूहावाट रोक्नू पनि नयाँ आम्दानीको स्रोत फेला पर्नु सरह हो।

    ReplyDelete