Thursday, February 23, 2012

अपरेसन भ्वाइस फक्स, टेलिकमको आम्दानी अर्बले बढ्यो


गोरखापत्र राजु आचार्य , काठमाडौँ, फागुन ११ गते। अवैध भीओआईपी -भ्वाइस ओभर इन्टरनेट प्रोटोकल)विरुद्ध प्रहरीले गरेको अपरेसनपछि नेपाल टेलिकमको आम्दानीमा एक अर्ब रुपियाँभन्दा बढी वृद्धि भएको छ। केही समयअघि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) ले भीओआईपी प्रविधिबाट अवैध कल बाइपास गर्ने गिरोहविरुद्ध थालेको 'अपरेसन भ्वाइस फक्स' अपरेसनपछि अवैध भीओआईपी सञ्चालन हुने अखडाहरू बन्द भएको प्रहरीको दाबी छ। यसपछि अन्तर्राष्ट्रिय कल सङ्ख्या वृद्धि भई टेलिकमको आम्दानीसमेत बढेको हो। "प्रतिमहिना सालाखाला आठ करोड अन्तर्राष्ट्रिय कल हुँदै आएकोमा यो अपरेसनपछि २१ करोड ८० लाख हुन आएको छ", बिहीबार नेपाल टेलिकमलगायतका मोबाइल सेवा प्रदायक कम्पनीका प्रतिनिधिसमेत सम्मिलित एक कार्यक्रममा सीआईबी प्रमुख प्रहरी नायब महानिरीक्षक -डीआईजी) उपेन्द्रकान्त अर्यालले भन्नुभयो। बढेको १३ करोड ८० लाख कल बराबर टेलिकमलाई एक अर्ब १० करोड ४० लाख रुपिँया थप आम्दानी भएको तथ्याङ्क छ। सीआईबी प्रहरीले हालसम्म काठमाडौँलगायतका नौ जिल्लामा सञ्चालित ३४ वटा अवैध भीओआईपी केन्द्रमा छापा मारी ठूलो परिमाणमा उपकरण र १५ हजारभन्दा बढी सिमकार्ड बरामद गरिसकेको छ। त्यस्तै १६ जना विदेशीसहित ५४ जना नेपालीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइसकेको छ। देशभर करिब एक सय ५० स्थानमा भीओआईपी सञ्चालन हुँदै आएको अनुमान गर्दै अपरेसन सुरु गरेको प्रहरीले काठमाडौँका १६, ललितपुरका नौ, झापा र सुनसरीमा दुई/दुई, मकवानपुर, पर्सा, सिरहा, धनुषा र रूपन्देहीका एक/एक स्थानमा छापा मारेको थियो। आर्थिक वर्ष २०६५/०६६ मा एक, २०६६/०६७ मा ६, २०६७/०६८ मा २० र चालू आर्थिक वर्षको यस अवधिसम्म जम्मा सातवटा भीओआईपी केन्द्रमा प्रहरीले छापा मारेको थियो।

सीआईबीको तथ्याङ्कअनुसार पक्राउ परेकामा तीन चिनियाँ, १३ बङ्गलादेशी र ५४ जना नेपाली छन्। यस्तो अपराधमा मुख्य योजनाकार चिनियाँ नागरिक रहेको हालसम्मको अनुसन्धानबाट देखिएको छ।सीआईबी प्रमुख डीआईजी अर्याल भन्नुहुन्छ, "सुरुमा चिनियाँ नागरिकले बङ्गलादेशमा गई यस्तो अपराध सिकाएपछि बङ्गलादेशीको समेत यसमा संलग्नता बढेको देखिन्छ।" अझै यस अपराधमा संलग्न ३५ अभियुक्त फरार रहेको सीआईबीले जनाएको छ। "अवैध भीओआईपी नियन्त्रणपछि टेलिकमको आम्दानी र सरकारलाई राजस्वमा मात्र वृद्धि भएको छैन", डीआईजी अर्यालले भन्नुभयो, "अपराधमा कमी र अपराध अनुसन्धानमा समेत सहयोग पुगेको छ।" मोबाइल सेवा प्रदायक कम्पनीका कर्मचारीको मिलेमतोमा बढी रकम लिई सिम वितरण गरिनु, इन्टरनेट सेवा प्रदायकको समेत अवैध भीओआईपी सञ्चालनमा मिलेमतोप्रति ध्यान नपुर्‍याउनुु र यसमा प्रयोग हुने उपकरण आयातमा भन्सारमा कडाइ नगरिनु जस्ता कारणले यसमा वृद्धि भएको अनुसन्धानका क्रममा खुल्न आएको समेत उहाँले जानकारी गराउनुभयो। भीओआईपी आर्थिक अपराध भएको र यसमा संलग्न अभियुक्तलाई कारबाहीको दायरा फराकिलो बनाउन सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको उहाँले जानकारी दिनुभयो। डीआईजी अर्यालका अनुसार प्रहरीले यसै अपराधमा संलग्न एकजना मुख्य अभियुक्त भोला डङ्गोलविरुद्ध दुई अर्ब ७० करोड राजस्व छलीविरुद्ध मुद्दा दायर गरेको छ। नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्रकुमार थिकेले कल बाइपासमा प्रहरीको सक्रियता र सहयोगमा अवैध भीओआईपी सञ्चालनमा कमी आई टेलिकमको आम्दानी वृद्धि भएको बताउँदै सिम वितरणलाई अझ व्यवस्थित बनाइने बताउनुभयो। उहाँका अनुसार नियमविपरीत सिम वितरणलगायतमा गलत काम गर्ने टेलिकमका सातजना कर्मचारीमाथि विभागीय कारबाही भइरहेको छ। अवैध भीओआईपीमा एनसेल सिमको प्रयोग बढी हालसम्मका अपरेसनमा अवैध भीओआईपीमा एनसेल मोबाइलका सिम अत्यधिक प्रयोग भएको तथ्याङ्कले देखाएको छ। तथ्याङ्कअनुसार बरामद भएका जम्मा १५ हजार ६५१ सिममध्ये ११ हजार १०५ वटा -७५ प्रतिशत) सिम एनसेल मोबाइलको छ। बरामद भएकामध्ये नेपाल टेलिकमका तीन हजार ४३६, यूटीएलको ९२९, स्काई र स्मार्टका ११५ र ६६ वटा विदेशी सिम छन्। एनसेलका प्रशासकीय निर्देशक महेन्द्रकुमार भट्टचनले सिम प्रमाणीकरण सुरु भएपछि अवैध भीओआईपीमा एनसेल सिमको प्रयोग शून्यमा झरेको दाबी गर्नुभयो।

No comments:

Post a Comment