Sunday, February 5, 2012

टेलिकमको वाषिर्कोत्सवको अवसरमा छुट

कान्तिपुर संवाददाता काठमाडौं , माघ २३ - आठौं वाषिर्कोत्सवको अवसरमा नेपाल टेलिकमले आफ्ना सेवामा छुट दिने घोषणा गरेको छ । थ्रिजी प्रिपेड सिमकार्ड लिँदा लाग्ने शुल्क घटाइएको छ । कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंहले अब थ्रिजी सिमकार्ड ३ सय रुपैयाँमा दिइने बताए । यसमा एक सय रुपैयाँको डाटा/टक टाइम हुने छ । हाल थ्रिजी प्रिपेड १ हजार रुपैयाँको टक टाइम सहित १ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको थियो । नयाँ छुट योजनाहरू फागुन १ गतेदेखि लागू हुने छ । यस्तै सिडिएमए प्रविधि अन्तर्गतको इभिडियो सेवाको सिम लिँदा १ सय रुपैयाँको डाटा प्रयोग गर्न पाउने गरी ३ सय रुपैयाँ तिर्नुपर्नेछ । हाल यो शुल्क २ हजार रुपैयाँ टक टाइम सहित २ हजार ५ सय रुपैयाँ छ । जिएसएम मोबाइलमा डाउनलोड गर्न सकिने कलर रिङब्याक टोन (सिआरबिटी) को शुल्क ३ रुपैयाँबाट घटाएर १ रुपैयाँ कायम गरिएको छ । आधारभूत फोन र सिडिएमए पोस्टपेड फिक्स सेवा लिँदा हाल लाग्ने १ हजार ५ सयलाई घटाएर ७ सय ५० रुपैयाँ कायम गरिएको छ । फागुन १ गतेदेखि ३ महिनाका लागि पिएसटिएन र सिडिएमए पोस्टपेड सेवाको दर्ता तथा जडान खर्च नलाग्ने सिंहले बताए । पिएसटिएन अन्तर्गत एक अञ्चलमा रहेको आधारभूत टेलिफोन सेवाबाट अर्को अञ्चलमा रहेको आधारभूत सेवाहरु (सिडिएमए फिक्स लाइन, आधारभूत फोन र भिस्याट) मा फोन गर्दा लाग्ने शुल्क समेत तीन महिनाका लागि कटौती हुने भएको छ । वैशाखसम्मका लागि यो शुल्क २ रुपैयाँबाट घटाएर १ रुपैयाँ ५० पैसा राख्ने भएको हो ।

1 comment:

  1. Would have been more than happy if some attention was paid in facilitating the ADSL Internet costing and quality speed, as I feel is very expensive to afford ...

    ReplyDelete