Thursday, February 16, 2012

वाईम्याक्सका लागि एरिस्पान इंकसँग टेलिकमको सम्झौता

कारोबार संवाददाता काठमाडौं, ४ फागुन
देशका सवै गाउँ विकास समितिमा उच्च गतिको इन्टरनेट वाईम्याक्स सेवा दिन नेपाल टेलिकम र अमेरिकाको एरिस्पान इंक कम्पनीबीच सम्झौता भएको छ । टेलिकमका तर्फबाट प्रवन्ध निर्देशक अमरनाथ सिंह र अमेरिकी कम्पनी एरिस्पान नेटवर्क इंकका क्षेत्रिय बिक्री उपाध्यक्ष जओरा राइसले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आगामी फागुनको पहिलो सातासम्म सबै गाविसमा सेवा पु¥याउने प्रतिबद्धता एरिस्पानको छ । देशका ३ हजार ९ सय १५ गाविसलाई क्षेत्रगत रूपमा पूर्व र पश्चिम गरी दुई भागमा विभाजन गरी समान रूपमा काम अगाडि बढाउने सर्त छ । टेलिफोनको पहुँचसँगै इन्टरनेटमा पनि जोड दिएको कम्पनीका एक उच्च अधिकारीले बताए  । कम्पनीले एक वर्षमै काम पूरा गर्ने प्रतिबद्धता भएकाले एक वर्षसम्म सबै गाविस कार्यालय इन्टनेटको सञ्जालमा रहने अनुमान टेलिकमको छ ।वाई–म्याक्स उच्च गतिको इन्टरनेट सेवा हो । २ सय ५६ किलोविट्स प्रतिसेकेन्ड (केबीपीए) क्षमता भएकाले सजिलै डाउनलोड र अपलिङ्क गर्न सकिनेछ ।
 सरकारले नेपालमा पहिलो पटक वाई–म्याक्स सेवाका लागि टेलिकमलाई फ्रिक्वेन्सी उपलब्ध गराएको छ । वाई–म्याक्स सेवाका लागि ३० मेगाहर्ज फ्रिक्वेन्सी छुट्याएको नेपाल दूरसंचार प्राधिकरणले जनाएको छ ।  अब अन्य ५ भ्वाइस सेवाप्रदायकबाट लिलाम बढाबढबाट एक र इन्टरनेट सेवा प्रदायकमध्येबाट एक गरी ९० मेघाहर्ज फ्रिक्वेन्सी वाई–म्याक्सका लागि प्रयोग गर्न सकिने व्यवस्था छ । टेलिकमले गत जेठ ३० गते पूर्व र पश्चिमका लागि छुट्टाछुट्टै विश्वव्यापी टेन्डर गरेको थियो । टेन्डरमा चिनको सरकारी स्वामित्वको जेटटीई, निजी क्षेत्रको हुवावई मोबाइल कम्पनी, भारतको प्वाइन्ट रेड र अमेरिकाको एरिस्पान इंक गरी ४ कम्पनीले भाग लिएका थिए । मूल्याङ्कनपछि अमेरिकाको एरिस्पान इंकसँग सम्झौता हुने भएको हो । एरिस्पानले टेलिकमसँग पहिलो पटक सम्झौता गर्दैछ । यो परियोजनाको लागि टेलिकमले ७८ करोड रुपैयाँ खर्च गर्ने योजना छ । टेलिकमले विस्तार गरेको एडिएसएल सेवा १ सय ९२ केबीपीएस क्षमताको हो । ब्रोडब्यान्ड हुनका लागि २ सय ५६ केबीपीएस क्षमता हुनुपर्छ । सम्झौतापछि पूर्व र पश्चिम दुवैतर्फ कम्पनीले उही दिनमा बराबरी रूपमा काम अगाडि बढाउनेछ ।  देशका सबै गाउँ विकास समितिमा साधारण टेलिफोन, सबै जिल्लामा एडीएसएल सेवा पुगिसेकाले वाई–म्याक्स सेवा विस्तार गर्न थप सहज हुने टेलिकमले जनाएको छ ।

No comments:

Post a Comment