Wednesday, February 8, 2012

टेलिकमको २५ लाख थ्रीजी वितरण गर्ने तयारी


आर्थिक अभियान राष्ट्रियदैनिक' Posted on: Feb 06, 2012
माघ २२, काठमाडौं । नेपाल टेलिकमले २५ लाख थ्री जी मोबाइल वितरण गर्ने भएको छ । १ करोड जीएसएम मोबाइल लाइन थप गर्ने महत्वाकाङक्षीं योजना अन्तर्गत सो थ्रीजी वितरण गर्न लागिएको टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेले बताए । उनले भने, ‘योजनाअन्तर्गत कम्तीमा २५ प्रतिशत थ्रीजी लाइन विस्तार गरिनेछ ।’ मुलुकभर थ्री जी नेटवर्क विस्तार गर्ने कार्य आगामी २ वर्ष भित्र पूरा गर्ने लक्ष्य राखिएको पनि थिकेले जानकारी दिए । नेपाल टेलिकमले दक्षिण एशियामा नै पहिलोपटक ५ वर्षअघि नेपालमा थ्रीजी सेवा शुरू गरेको हो । तर, प्रयोगकर्ता भने यसको गुणस्तरबाट सन्तुष्ट छैनन् । प्रयोगकर्ताहरू यसको सेवामा धेरै सुधार आवश्यक रहेको बताउँदै आएका छन् । पुल्चोकस्थित मोबाइल सेवा निर्देशनालयमा दिनहुँ थ्रीजीमा जीपीआरएस चलाउँदा सम्पर्क नहुने, सम्पर्क भइहाले अत्यन्तै ढिलो चल्ने, कहिलेकाहीँ सम्पर्क नभए पनि पैसा काटिने, भ्वाइस मेलमा आवाज स्पष्ट नसुनिने, मोबाइल अन भए पनि स्वीच अफ बताउनेजस्ता समस्या लिएर आउने सेवाग्राहीको भीड लाग्ने गरेको छ । टेलिकमको जीएसएम मोबाइल प्रयोगकर्ताको सङ्ख्या ५६ लाख नाघे पनि थ्रीजी सेवा उपभोग गर्नेको सङ्ख्या ५० हजार नाघेको छैन । तर, निर्देशनालय प्रमुख विष्णु कसजू भने केही साधारण कमजोरी रहे पनि थ्रीजी सेवा गुणस्तरहीन नभएको बताउँछन् । काठमाडांैको चक्रपथ क्षेत्र भित्र मात्र थ्री जी नेटवर्क रहेकाले त्यसबाहिर चलाउँदा नेटवर्कको समस्या हुन सक्ने उनको भनाइ छ । उनले भने, ‘टेलिकमको १ करोड जीएसएम लाइन विस्तारसँगै मुलुकभर थ्रीजी लाइन पनि विस्तार गर्ने योजना भएकाले त्यसले नै गुणस्तर सुधारसम्बन्धी काम गर्नेछ ।’
 मोबाइल सेवा प्रदायकहरूको नियमन र अनुगमन गर्ने संस्था नेपाल दूरसञ्चार प्राधिकरणले गत महीना सार्वजनिक गरेको गुणस्तरसम्बन्धी प्रतिवेदनले कुनै पनि सेवा प्रदायकको मोबाइल सेवाको गुणस्तर सन्तोषजनक नरहेको देखाएको थियो । सो प्रतिवेदनले ६ महीनाभित्र गुणस्तर सुधारका सम्बन्धमा ठोस कार्य गर्न मोबाइल कम्पनीहरूलाई निर्देशन समेत दिएको छ । एक वर्षअघि टेलिकमले अगाडि सारेको १ करोड लाइन थप गर्ने योजनाको ठेक्का प्रक्रियामा अनियमितता भएको हुन सक्ने बताउँदै पुसको पहिलो साता संसद्को सार्वजनिक लेखा समितिले सम्पूर्ण प्रक्रिया रोक्न निर्देशन दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक अनुसन्धान गरेर यो योजनालाई ‘क्लीन चिट’ दिएपछि हाल यसको काम अघि बढेको जानकारी टेलिकमले दिएको छ, टेलिकमका सहप्रवक्ता गुनकेशरी प्रधानले योजनाको ठेक्का प्रक्रिया अघि बढेको र सञ्चालक समितिको निर्णय पनि प्रक्रियामा रहेको बताइन्

No comments:

Post a Comment