Thursday, February 9, 2012

एक करोड ५० लाखभन्दा बढीसँग फोन सुविधा

सरस्वती ढकाल, काठमाडौं, २५ माघ
नेपालमा टेलिफोन र मोबाइल सेवा प्रयोग गर्नेको संख्या डेढ करोड नाघेको छ ।  दूरसञ्चार प्राधिकरणले बुधबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार कुल जनसङ्ख्यामध्ये ५६ प्रतिशतले टेलिफोन र मोबाइल प्रयोग गरेका छन् । यी प्रयोगकर्तामध्ये हरेक दुईमा एक जनासँग मोबाइल फोन छ । दूरसंचार कम्पनी लिमिटेड (टेलिकम), एनसेल, युनाइटेड टेलिकम  (युटिएल), स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट टेलिकम, एसटीएम टेलिकमले नेपालमा दूरसंचार सेवा दिंदै आएका छन् ।
दूरसंचार सेवा दिंदै आएका यी ६ कम्पनीका ग्राहक १ करोड ५० लाख ३४ हजार १ सय १२ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक प्रतिवेदन अनुसार नेपालको जनसङख्या २ करोड ६६ लाख २० हजार छ । यो जनसङ्ख्यामध्ये आधाभन्दा धेरैले मोबाइल फोन प्रयोग गर्छन् ।  ५६ प्रतिशत टेलिघनत्वमध्ये ५० प्रतिशतले मोबाइल प्रयोग गरेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । हालसम्म मोबाइल प्रयोग गर्ने ग्राहक १ करोड ३३ लाखभन्दा धेरै छन् ।
साधारण टेलिफोन जडानदेखि प्रयोगसम्म मोबाइलभन्दा झन्झटिलो हुने भएकाले यसमा आर्कषण घटेको सम्वद्ध निकायहरू बताउँछन् । ‘खल्तीमा विश्व राख्न सकिने भएपछि मोबाइलमा स्वतह आर्कषण बढ्ने भयो’ प्राधिकरण अधिकारीले भने । सरकारको बहुमत सेयर भएको टेलिकम र निजी क्षेत्रको एनसेलबीच पछिल्लो एक  वर्ष यता प्रतिस्पर्धा बढेको छ । गत वर्षदेखि जीएसएम मोबाइल सेवामा एनसेल सवै भन्दा अगाडि छ । प्राधिकरणको प्रतिवेदनमा टेलिकमका ग्राहक ७२ लाख ६९ हजार, एनसेल  ६८ लाख ५१ हजार, युटिएल ५ लाख ९१ हजार, स्मार्ट २ लाख, नेपाल स्याटेलाइट १ लाख ११ हजार र एसटीएम टेलिकम ५ हजार ग्राहक छन् । मुलुकभर १४ प्रतिशत जनतामा इन्टरनेटको पुहँच पुगेको प्रतिवेदनमा छ । जिपीआरएसमार्फत मोबाइलमा इन्टरनेट चलाउने धेरै छन् । ३५ लाखभन्दा धेरैले जिपीआरसमार्फत इन्रटनेट चलाउँछन् । नेपाल टेलिकमले डायल अप, एडिएसएल, सिडिएमए र जिपीआरएसबाट इन्रटनेट सेवा दिएको छ । टेलिकमका कुल ग्राहक मध्ये १५ लाख १३ हजारले इन्टरनेट प्रयोग गर्छन् । त्यसैगरी एनसेलका २२ लाख ३४ हजार इन्टरनेट प्रयोग कर्ता छन् । एनसेलले जिपीआरएस मार्फत पोस्पेड र प्रिपेडका ग्राहकलाई इन्टरनेट सेवा दिएको छ । युटिएलका ६४ हजार र इन्टरनेट सेवा प्रदायकका ६१ हजार गरी कुल ३८ लाख ७३ ले इन्टरनेट प्रयोग गर्छन ।
टेलिकम र एनसेलबीच तीव्र प्रतिस्पर्धा
दुई ठुला दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलका ग्राहक झन्डै बराबरीमा पुगेका छन् । टेलिकमका कुल ग्राहक ७४ लाख छन भने एनसेलले दुई साताअघि नै ७० लाख पुगेको बताएको छ ।  विगत एक वर्षदेखि जिएसएम मोबाइलमा अग्रणी एनसेलले छिट्टै टेलिकमलाई उछिन्ने देखिएको छ । अहिले टेलिकमका कुल ग्राहक ७४ लाख छन् । टेलिकमले साधारण टेलिफोन, जिएसएम मोबाइल तथा सिडिएम सेवा दिएको छ । सेवा विस्तार र नयाँ सेवामा लगानी बढाउन नसक्दा टेलिकमले ग्राहक बढाउन सकेको छैन । सार्वजनिक खरिद ऐनले गर्दा विस्तार गर्न नसकेको टेलिकमले जनाएको छ । निजी कम्पनी एनसेलले सेवा विस्तार र नयाँ प्रविधि भित्र्याउन र बजारीकरणलाई प्रमुखता दिएकाले ग्राहक संङख्या बढेको हो । “कुल लगानीमध्ये ९० प्रतिशतभन्दा धेरै भौतिक पूर्वाधारमा खर्च हुने गरेको छ” एनसेलका कम्युनिकेसन म्यानेजर सन्जु कोइरालाले भनिन् । गत वर्ष टेलिकमले करिब ४ अर्ब रुपैयाँ मात्र पूर्वाधार विकार र बजार विस्तारमा खर्च गरेको थियो भने एनसेलले झन्डै ७ अर्ब रुपैयाँ लगानी गरेको छ । कम्पनीको प्रगति उसले गर्ने लगानीका आधारमा अनुमान गर्न सकिने प्राधिकरणका एक अधिकारीले बताए ।

No comments:

Post a Comment