Friday, February 3, 2012

एक वर्षभित्र सबै गाविसमा इन्टरनेट

सरस्वती ढकालकाठमाडौं, १९ माघ

नेपाल टेलिकमले एक वर्षभित्र देशका सबै गाविस कार्यालयमा उच्च गतिको इन्टरनेट वाई–म्याक्स सेवा पु¥याउने भएको छ । वाई–म्याक्स सेवा पुगेपछि सबै गाविस इन्टरनेट सञ्जालमा जोडिनेछन् । यसका लागि अमेरिकाको एरिस्पान इंक नामक कम्पनीसँग नेपाल टेलिकमले सम्झौताको तयारी गरिरहेको छ । यो परियोजनाका लागि टेलिकमले ७८ करोड रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । देशका ३ हजार ९ सय १५ गाविसलाई पूर्व र पश्चिम गरी दुई भागमा विभाजन गरी समान रूपमा काम अघि बढाउने सर्तमा आगामी साता टेलिकम र एरिस्पानबीच सम्झौता हुन लागेको हो । एरिस्पान अमेरिकामा ब्रोडब्यान्ड इन्टरनेटसम्बन्धी काम गर्ने कम्पनी हो ।

यसबाट सरकारी काम इन्टरनेटमार्फत सबै सेवाग्राहीको पहुँचमा पु¥याउन सकिनेछ । “यसले आर्थिक परिवर्तन गर्नुका साथै स्थानीय स्तरको जीवनस्तर उकास्न र सूचना तथा शैक्षिक स्तर बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ,” टेलिकमका विकास विभाग प्रमुख राजन्द्र नकर्मीले भने, “सरकारको ई–गभर्नेन्स योजनामा पनि यो महत्वपूर्ण सहयोगी बन्नेछ ।”
वाई–म्याक्सपछि टेलिकमले वाई–फाई सेवा पनि दिनेछ ।” वाई–म्याक्स उच्च गतिको इन्टरनेट सेवा हो । २ सय ५६ किलोबिट्स प्रतिसेकेन्ड (केबीपीए) क्षमता भएकोले सजिलै डाउनलोड र अपलोड गर्न सकिनेछ । सरकारले नेपालमा पहिलोपटक वाई–म्याक्स सेवाका लागि टेलिकमलाई फ्रिक्वेन्सी उपलब्ध गराएको छ । दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालका अनुसार टेलिकमलाई वाई–म्याक्सका लागि ३० मेगाहर्ज फ्रिक्वेन्सी छुट्ट्याइएको छ । अब अन्य पाँच भ्वाइस सेवाप्रदायकको लिलाम बढाबढबाट एक र इन्टरनेट सेवाप्रदायक मध्येबाट एक छनोट गरी ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराइने उनले बताए । टेलिकले गत जेठ ३० गते पूर्व र पश्चिमका लागि छुट्टाछुट्टै विश्वव्यापी टेन्डर आह्वान गरेको थियो । टेन्डरमा चिनियाँ सरकारी स्वामित्वको जेडटीई, निजी क्षेत्रको हुवावेई मोबाइल, भारतको प्वाइन्ट रेड र अमेरिकाको एरिस्पान इंक गरी चार कम्पनीले भाग लिएका थिए । मूल्यांकनपछि एरिस्पान छनोट भएको हो । एरिस्पानले टेलिकमसँग पहिलोपटक सम्झौता गर्दैछ । वाई–म्याक्सका लागि चाहिने भौतिक पूर्वाधार टेलिकमसँग पहिले नै भएकाले काम गर्न सहज हुने प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले बताए । “देशका सबै गाविसमा साधारण टेलिफोन, सबै जिल्लामा एडीएसएल सेवा पुगिसकेकाले वाई–म्याक्स सेवा विस्तार गर्न थप सहज हुनेछ,” उनले भने । देशका कैयौं गाविसमा इन्टरनेट सेवा छैन । टेलिकमले विस्तार गरेको एडीएसएल सेवा १ सय ९२ केबीपीएस क्षमताको हो । ब्रोडब्यान्ड हुनका लागि २ सय ५६ केबीपीएस हुनुपर्छ । सम्झौतापछि पूर्व र पश्चिम दुवैतर्फ कम्पनीले सँगै काम अगाडि बढाउनेछ । स्थानीय विकास मन्त्रालयका अनुसार हालसम्म कुनै पनि गाविसका वेबसाइट छैनन् ।

No comments:

Post a Comment