Sunday, February 5, 2012

टेलिकमले घटायो मोबाइलको शुल्क

काठमाडौं, माघ २२ (नागरिक)- नेपाल टेलिकमले भिडियो कुराकानी गर्न सकिने थ्रिजी प्रिपेड सिमकार्ड तीन सय रुपैयाँमा दिने भएको छ। टेलिकमको ८ औं बार्षिक उत्सवको अवसरमा पहिले एकहजार पाँचसय रुपैयाँको थ्रिजी सिमकार्डलाई तीनसय रुपैयाँमा दिने घोषणा गरेको हो।टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले तीनसयको सिमकार्डमा एकसय रुपैयाँ बराबरको कुराकानी र डाटा प्रयोग गर्न सकिने बताए। बार्षिक उत्सवको अवसरमा टेलिकमले सिडिएम, ल्याण्डलाइन फोनको नयाँ जडान गर्दा छुट दिने घोषणा गरेको छ। प्रवन्ध निर्देशक सिंहले सिडिएमएबाट उच्च गतिमा इन्टरनेट चल्ने इभिडियोको दुईहजार पाँचसयबाट घटाएर तीनसय रुपैयाँमा दिने भएको छ। अहिलेसम्म दुईहजार पाँचसय रुपैयाँमा दिदै आएको इभिडियो फागुन १ गतेबाट तीनसयमा दिने टेलिकमले तयारी गरेको छ। त्यस्तै फागुन १ देखि तारवाला टेलिफोन लिँदा अहिले राख्नुपर्ने धरौटीलाई आधाले घटाएर सातसय ५० रुपैयाँमात्र लाग्नेछ। तीन महिनाको लागि तारवाला टेलिफोनको जडानमा लाग्ने शुल्क समेत पुरै मिनाहा दिइने सिंहले घोषणा गरे। टेलिकमले तारवाला र फिक्स टेलिफोनबाट अर्को अञ्चलको त्यस्तै फोनमा गर्दा लाग्ने शुल्क समते घटाएको छ। अहिले तारवाला र सिडिएमएको फिक्स फोनबाट अर्को अञ्चलमा कल गर्दा गर्दा लाग्ने प्रति मिनेट दुई रुपैयाँलाई घटाएर फागुन १ देखि एक रुपैयाँ ५० पैसामात्र लाग्नेछ।
टेलिकमले टेलिफोनको ठाउँसारी शुल्क र आइभिआर प्रविधिबाट कलर रिङव्याक टोन (सिआरबिटी) डाउनलोड गर्दा तीन रुपैयाँलाई घटाएर एक रुपैयाँमात्र लिने भएको छ। बार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथीको रुपमा निमन्त्रणा गरेका सञ्चारमन्त्री जयप्रकास गुप्ता आएनन्। उनको सट्टामा सञ्चार राज्यमन्त्री सुरिताकुमारी साह आएर बार्षिक उत्सवको उद्घाटन गरिन्।
मन्त्री गुप्ताले बार्षिक स्मारिकाको लागि समेत शुभकामना सन्देश नदिएको टेलिकमका कर्मचारीहरुले बताए। 'मन्त्रीले टेलिकमबाट अनुचित सुविधा लिएको विषयमा हामीले विरोध गर्दै आएपछि उनी हाम्रो कार्यक्रममा समेत आएनन्,' नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष मनिल ओझाले भने। टेलिकमको बार्षिक उत्सवमा सञ्चारमन्त्रीलाई प्रमुख अतिथी बनाउने बर्षौदेखिको चलन छ।कार्यक्रममा राज्यमन्त्री साहले दूरसञ्चारको नवीकरण शुल्क, फ्रिक्वेन्सीका विषयमा धेरै विवाद रहेको उल्लेख गर्दै यसमा रहेको असमानता, राणनीतिक साझेदार, पूर्वाधारको साझा प्रयोग, सार्वजनिक खरिद ऐनको विषयमा सुझाव दिन आग्रह गरिन्। टेलिकम सञ्चालक समितिका अध्यक्ष अबनिन्द्रकुमार श्रेष्ठले टेलिकमका कैंयौ निर्णयहरु अड्किएर बसेको उल्लेख गर्दै सेवामा गुणस्तर ल्याउन राम्रा सामान किन्न कुनै पनि कानुनले नरोकेको उल्लेख गरे। सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रवन्ध निर्देशकलाई मात्र खरिद गर्ने सबै अधिकार दिएको विषयमा सञ्चालक समितिका सदस्य प्रमोद गुरुङले आपत्ति जनाएपछि श्रेष्ठले व्यक्तिलाई उत्तरदायी बनाउन यस्तो निर्देशन दिइएको बताए। श्रेष्ठ गत सातामात्र खरिद अनुगमन कार्यालयबाट सरुवा भएर सञ्चारमा आएका हुन्।

No comments:

Post a Comment